×

किसानलाई बङ्गुर बेच्नै गाह्रो

images

काठमाडौं । बङ्गुरपालन गर्ने किसानले राष्ट्रिय किसान आयोगको अन्तक्र्रिया कार्यक्रममा आक्रोश पोखेका छन् । राष्ट्रिय किसान आयोगले बिहीबार मोरङको उर्लाबारीमा बङ्गुरपालक किसानका समस्या र तिनको समाधान उपाय खोजी गर्न अन्तक्र्रिया आयोजना गरेको थियो । पछिल्लो समय बङ्गुरमा देखिएको अफ्रिकन फिवर नेपालमा नभित्रिँदै हल्लाका कारण बङ्गुर व्यवसाय चौपट भएको किसानको गुनासो थियो । उर्लाबारी–९, भोटेपुलका किसान रमण बस्नेतले बङ्गुरपालकलाई बजारको समस्या रहेको बताउनुभयो । 

एक करोड ५० लाख रुपियाँ लगानी गरी दुई वर्षअघि बङ्गुर फार्म सुरु गर्नुभएका बस्नेतले भन्नुभयो, “भारतीय आउँछन् तर लैजान रोक लगाएको रहेछ । चोरी निकासी गर्नुपर्ने भएकाले मूल्य हाल्दैनन् ।” उहाँको फार्ममा अहिले ५० वटा माउ र २५० वटा पाठापाठी छन् । बस्नेत मात्र होइन, बङ्गुरपालन गर्ने अधिकांश किसानको समस्या उही छ । झापाको दमक–९ का किसान दिलबहादुर धिमालले अनावश्यक हल्लाले मासु पनि बिक्न छोडेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “न पाठापाठीको बजार छ न मासुको । दशैँ लागिसक्दा पनि बङ्गुर खोज्ने मान्छे आएका छैनन् ।” 

िउर्लाबारी–४ की किसान सरिता धिमालले बङ्गुरमा ज्वरो आउने र रगत छादेर मर्ने समस्या देखिन थालेको तर डाक्टर नपाउने गरेको गुनासो गर्नुभयो । राष्ट्रिय किसान आयोगका सदस्य मञ्जु धिमालको सभापतित्वमा भएको कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मोरङका डा। सुशीलकुमार अधिकारीले जिल्ला तहमा पशु विकास कार्यक्रमसम्बन्धी भएका गतिविधिमा प्रकाश पार्नुभएको थियो । 

कार्यक्रममा झापाको दमक, गौरादह नगरपालिका र कमल गाउँपालिकाका र मोरङको उर्लाबारी र पथरीशनिश्चरे नगरपालिकाका बङ्गुर र माछापालक किसानको सहभागिता थियो । कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा र उर्लाबारी नगरपालिकाका उपप्रमुख मीना पौडेलले पशुपालनसम्बन्धी कार्यक्रम र अनुदान दोहोरिरहेकाले त्यस्ता कार्यक्रम एकद्वारबाट आउनुपर्ने बताउनुभयो । गोरखापत्र दैनिक 

   

शुक्रबार​ ७ असोज २०७९ ०८:०४ AM मा प्रकाशित

प्रतिक्रिया