मनाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारले आ–आफ्नो उम्मेदवारी फिर्ता लिने भएका छन् । एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार कुविरसिङ गुरुङले मनोनयन फिर्ताका लागि निवेदन दिएका छन् ।
उम्मेदवारी फिर्ताको पत्र दर्ता भइसकेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए । अब कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारबीच निर्वाचनमा मुख्य प्रतिस्पर्धा भएको छ । कांग्रेसले टेकबहादुर गुरुङ र नेपाली कम्युनिष्ट पार्टीले यशोदा सुवेदी गुरुङलाई उम्मेदवार बनाएको छ ।
मनोनयन फिर्ताको निवेदनमाथि शुक्रबार दिउँसो निर्णय हुने मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । यसअघिको प्रतिनिधि सभा निर्वाचनमा यहाँ ३ जना मात्र उम्मेदवार थिए र मुख्य प्रतिस्पर्धी एमाले र कांग्रेस नै थिए । कांग्रेसका टेकबहादुर गुरुङले २५७५ र एमालेका पोल्देन छोपाङ गुरुङले २२४७ मत ल्याएका थिए । रास्वपाले ५ मत मात्र पाएको थियो ।
यसरी शक्तिशाली दलले चुनाव नै नलड्ने निर्णय लिनुको पछाडि कुनै राजनीतिक दाउपेच भन्दा पनि स्थानीय परम्परा र धार्मिक अगुवाहरूको हस्तक्षेप मुख्य कारण बनेको छ । विगतका चुनावहरूमा हुने गरेका झै–झगडा र अप्रिय घटना रोक्न गाउँका लामा गुरुहरूले सहमतिको प्रयास थालेका थिए ।
बिहीबार भ्राताङमा भएको विशेष भेलामा कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका पोल्देन छोपाङ गुरुङबीच कुरा नमिल्दा अन्ततः ‘चिट्ठा’ हालेर फैसला गर्ने निर्णय गरियो । त्यो भाग्यशाली चिट्ठा कांग्रेसको पक्षमा परेपछि एमाले चुनावी मैदानबाट पछाडि हट्न तयार भएको हो । यो सहमति अनुसार प्रतिनिधि सभामा एमालेले कांग्रेसलाई सघाउने छ भने बदलामा प्रदेश सभाका दुई निर्वाचन क्षेत्रमा कांग्रेसले एमालेका उम्मेदवारलाई समर्थन गर्ने समझदारी भएको छ । मनाङमा विवाद सुल्झाउन अपनाइने यो पुरानो र मौलिक परम्परा हो ।
प्रतिक्रिया