×

प्रधानमन्त्री बालेनको नयाँ शैली: न सेनाको सलामी, न विमानस्थलमा अधिकारीहरूको ताँती

images

काठमाडौँ। प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ अमेरिका प्रस्थान गर्दैछन्। उनको यस विदेश भ्रमणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही नयाँ र फरक दृश्य देख्न पाइने भएको छ।  

विगतका भ्रमणहरू जस्तो यसपटक प्रधानमन्त्रीले न त नेपाली सेनाको सलामी लिनेछन्, न त मन्त्री, उच्चपदस्थ अधिकारी र कर्मचारीहरूको लामो लाइन लागेर बिदाइ गर्ने दृश्य नै देखिनेछ।  

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, ‘प्रधानमन्त्री विदेश जाँदा र फर्किँदा विगतमा जस्तै सरकारी अधिकारीहरू विमानस्थलमा ताँती लागेर स्वागत तथा बिदाइ गर्ने परम्परा अब पूर्ण रूपमा तोडिने छ। स्वागत र बिदाइमा तामझाम गर्ने स्वभाव प्रधानमन्त्रीको छैन र अहिलेको विपद्को परिस्थितिमा त्यस्तो तडकभडक गर्नु उचित पनि मानिँदैन।’  

अमेरिका प्रस्थान गर्ने दिन आज पनि प्रधानमन्त्री बालेन बिहानैदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियमित कार्यमा व्यस्त रहेका छन्। उनी साँझ बालुवाटारस्थित निवासबाट सीधै विमानस्थलतर्फ जानेछन्।

प्रधानमन्त्री विमानस्थल पुग्नुअघि नै भ्रमण टोलीका सदस्यहरू विमानस्थल प्रवेश गरिसक्ने व्यवस्था मिलाइएको छ। प्रधानमन्त्रीले वीआईपी कक्षको बाटो प्रयोग गरे पनि त्यहाँ धेरै समय नबिताई सरासर जहाजमा चढ्नेछन्। उनी जहाज चढेलगत्तै विमानले न्युयोर्कका लागि उडान भर्नेछ।

प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार उनी आज साँझ करिब ७ बजे अमेरिकाका लागि प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्या र जलवायु न्यायको विषयलाई प्रमुखताका साथ विश्वमञ्चमा उठाउनेछन्।  

यसअघि प्रधानमन्त्रीहरू विदेश जाँदा वा फर्कँदा नियमित काम छाडेर मन्त्री तथा उच्चपदस्थ कर्मचारीहरू स्वागत र बिदाइका लागि विमानस्थल पुग्ने परिपाटी थियो। यसपटक भने उक्त पुरानो शैलीलाई तोड्दै सादगीपूर्ण रूपमा भ्रमण सुरुवात गर्न लागिएको हो।  

मङ्गलबार ६ असोज २०८३ १२:२५ PM मा प्रकाशित

प्रतिक्रिया