×

राम्राे काम गर्नेलाई प्राेत्साहित र नराम्राे काम गर्नेलाई दण्डित गर्नुपर्छ : प्रचण्ड

images

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा राम्रो काम गर्नेलाई प्रोत्साहित र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्ने बताउनुभएको छ । 

साेमवार गएकाे पालिका चुनावमा पार्टीमाथि अन्तर्घात गर्ने नेताहरूकाे छानबिन गर्न गठित टंक राई नेतृत्वकाे समितिको प्रतिवेदन बुझ्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले पार्टीलाई अनुशासनमा चलाउनका लागि समिति गठन गरेर अन्तर्घातको छानबिन गरिएको बताउनुभयो । 

राम्रो काम गर्नेलाई प्रोत्साहित गर्ने र नराम्रो काम गर्नेलाई दण्डित नगर्ने हो भने पार्टी कम्युनिस्ट पार्टीजस्तो नरहने अध्यक्ष दाहालकाे भनाइ थियाे । उहाँले पार्टीलाई विधिसम्मत रूपमा चलाउने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो कुरा कुनै खास ठाउँमा भएका अनियमितता वा गडबडीलाई सच्याउने कुरासँग मात्रै सम्बन्धित छैन । यो पार्टीलाई विधिसम्मत तरिकाले र अनुशासनमा राखेर चलाउने विषयसँग बढी सम्बन्धित छ । त्यस कारण राम्रो गर्नेलाई प्रोत्साहित गर्ने र नराम्रो गर्ने, अनुशासन तोड्ने र अराजकतातिर जानेहरूलाई दण्डित गर्ने प्रक्रिया अगाडि नबढाउने हो भने कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टीजस्तो रहँदैन ।’

अध्यक्ष दाहालले छानबिन समितिले विभिन्न नेता कार्यकर्तालाई निलम्बन, निष्कासन र चेतावनी दिनुपर्ने निष्कर्ष निकालेको भन्दै प्रतिवेदनको सम्बन्धमा पार्टीको पदाधिकारी र स्थायी कमिटी बैठकमा छलफल गरेर आवश्यक कारबाही गरिने बताउनुभयो । 

सोमबार ६ भदौ २०७९ ०४:२४ PM मा प्रकाशित

प्रतिक्रिया