काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएकी छन् । आगामी फागुन २१ गते निर्धारित निर्वाचनका सम्बन्धमा छलफल गर्न कार्कीले सात राजनीतिक दललाई छलफलका लागि बोलाएकी हुन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार, दिउँसो ४ बजे बालुवाटारमा दलहरूसँग छलफल हुनेछ । राष्ट्रिय मान्यता प्राप्त दलबाट दुई–दुईजना प्रतिनिधि पठाउन औपचारिक पत्र लेखेकी छन् ।
प्रधानमन्त्रीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा (उपेन्द्र यादव) र जनमत पार्टीलाई संवादका लागि बालुवाटार बोलाएकी छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा गठन भएको कार्की नेतृत्वको सरकारले ६ महिनाभित्र चुनाव गर्नेगरी म्यान्डेट पाएको छ ।
प्रतिक्रिया