×

बाढी ग्रस्त कागबेनीमा अस्थायी पुल

images


ढोरपाटन (बागलुङ), ४ असोज : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागखोलामा अस्थायी पुल बनेपछि आवागमन सहज भएको छ । कागखोलामा आएको बाढीले पुल बगाउँदा समस्या भोग्दै आएका स्थानीयले अस्थायी पुल निर्माण गरेर वारपार गर्न थालेका हुन् । 

    वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गतका पाक्लिङ, कागबेनी, तिरी गाउँका स्थानीयले श्रमदान गरेर कालिगण्डकी नदीमा अस्थायी पुल निर्माण गरेका गाउँपालिकाका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङले जानकारी दिनुभयो । यसले कागबेनी–तिरी गाउँ जोड्ने छ ।

    कालीगण्डकी नदीमा पानीको बहव घटेपछि स्थानीयले अस्थायी पुल निर्माण गरी वारपार गर्न थालेका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले क्षति पुर्‍याएको झण्डै एक महिनापछि कागबेनी–तिरी जोड्ने अस्थायी पुल निर्माण गरिएको हो । 

    पुल तीन गाउँका स्थानीयले श्रमदान गरेर निर्माण गरेको भन्दै आवश्यक बजेट पालिकाले व्यवस्थापन गरेको अध्यक्ष गुरुङले बताउनुभयो । कागबेनी–तिरी जोड्ने सडकका लागि कालिगण्डकीमा पक्की पुल निर्माण गर्न आवश्यक रहेको भन्दै उहाँले यसका लागि प्रदेश र केन्द्र सरकारसँग माग गर्ने बताउनुभयो । 

    गत साउन २८ गते कागखोलामा आएको बाढीले सिंगो बस्तीसँगै, खानेपानीको मुहान, मोटरेवल पुल, झेलुङ्गे पुल बगाएको थियो ।
 

बिहीबार ४ असोज २०८० ०२:३० PM मा प्रकाशित

प्रतिक्रिया