×

नेपालमा दिवङ्गत ब्रिटिश महारानीका लागि प्रार्थना

images

काठमाडौं । महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कार गरिने दिन सोमवार काठमाण्डूको बौद्धस्थित सेतो गुम्बामा उनको आत्माको चिर शान्तिको कामना गर्दै भिक्षुहरूले प्रार्थना गरेका छन्। महारानीप्रति सम्मान प्रकट गर्ने क्रममा त्यहाँ बौद्धधर्मका मन्त्रोच्चारण गरिनुका साथै दीप प्रज्वलन गरिएको थियो।

त्यस क्रममा नेपालका लागि ब्रिटिश राजदूत निकोला पोलिट र गोर्खा समुदायको प्रतिनिधित्व गर्दै महारानीको अर्डर्लीका रूपमा काम गरेका यामबहादुर रानाले बत्ती बालेका थिए।

त्यसअघि सोमवार बिहानै काठमाण्डूको गोदावरीमा महारानी एलिजाबेथ द्वितीयाले सन् १९८६ मा नेपाल भ्रमण क्रममा रोपेको एउटा वनस्पतिमा समेत पुगेर महारानीप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको थियो। 

फूल चढाउँदै त्यहाँ एक हिन्दू पण्डितद्वारा मन्त्रोच्चारण गराइएको थियो। त्यहाँ पाइपरद्वारा पाइप बजाउँदै दुई मिनेट मौनधारण पनि गरिएको सहभागी भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूले बताए।

ती समारोहमा नेपालका लागि ब्रिटेनकी राजदूत, गोर्खा सैनिकका प्रतिनिधि तथा भूतपूर्व गोर्खा सैनिक, महारानी राष्ट्राध्यक्ष भएका देशका प्रतिनिधिहरू, नेपाल सरकारका प्रतिनिधिहरू तथा नेपाल(ब्रिटेन समुदायका सदस्यहरू उपस्थित थिए। 

सोमवार ब्रिटिश राजदूतावासले काठमाण्डूमा भूतपूर्व गोर्खा सैनिक तथा उनीहरूका परिवारजन सहितका लागि महारानीको अन्तिम संस्कार समारोहको प्रत्यक्ष प्रसारण देखाउने व्यवस्था मिलाएको छ।

गोर्खा सैनिकका रूपमा नेपालीहरूले दुई शताब्दीभन्दा बढी समयदेखि ब्रिटेनका लागि काम गरेका छन्। महारानी आफ्ना पति राजकुमार फिलिपका साथ सन् १९६१ र सन् १९८६ मा गरी दुई पटक नेपाल भ्रमणमा आएकी थिइन्।बीबीसी   

बुधबार ५ असोज २०७९ ०८:१० AM मा प्रकाशित

प्रतिक्रिया