×

महेन्द्र पुस्तकालय फेरी पुनर्जिवित हुँदै  

images

नेपालगञ्ज । ७५ वर्ष पहिले स्थापना भएर जेनतेन सञ्चालनमा रहेको पश्चिम नेपालकै पहिलो ऐतिहासिक महेन्द्र पुस्तकालय हाल आए पुनर्जिवित हुन थालेको छ । 

सञ्चालक समिति निष्क्रिय भएर लामो समयदेखि थला पर्दै गएको सो ऐतिहासिक पुस्तकालयलाई पुनः सक्रिय पार्न बाँकेका साहित्यकारहरु र शिक्षाविदहरु अगाडी सरेपछि क्रियाशिल हुन थालेको हो । पुस्तकालयको व्यवस्थापनमा नयाँ तदर्थ समिति गठन भएसँगै विभिन्न कार्यक्रमको घोषणा गरिएको छ। बाँकेका शिक्षाविद् बलराम यादवको नेतृत्वमा गठन गरिएको तदर्थ समितिले पुस्तकालयलाई पुनः सक्रिय बनाउनका लागि वार्षिक योजना बनाएर काम गर्ने योजना अगाडि सारेको छ । 

पुस्तकालयको ७५औं वर्ष पूरा भई ७६ वर्ष लागेको अवसरमा तदर्थ समितिले अमृत वर्षको रुपमा भदौ ३ गते अमृत महोत्सव मनाउने निर्णय गरेर तयारी पुरा गरेको छ । 

२००३ सालमा स्थापना भई २०२१ सालमा नाम परिवर्तन गरेर रानीतलाउ नजिक महेन्द्र पुस्तकालयको नामबाट सञ्चालित उक्त पुस्तकालयको अमृत महोत्सव बृहत्त रुपमा मनाइने तदर्थ समितिका अध्यक्ष बलराम यादवले बताए । पुस्तकालयले यस क्षेत्रको शिक्षा, भाषा, कला, संस्कृति र ईतिहासलाई जोगाउन महत्वपूर्ण भूमिका खेलेको जनाउँदै उहाँले अब यसलाई सक्रिय पार्ने र अगाडी बढाउने अभियान शुरु गरिएको बताए । 

यादवका अनुसार अमृत महोत्सवमा पुस्तकालय स्थापनाकालदेखि २०५४ सालसम्मको कार्यसमितिमा रहेका सदस्य तथा पुस्तकालयका कर्मचारी गरेर ७५ जनालाई अमृत महोत्सव पदकसहित सम्मान गरिनेछ । 

त्यसैगरी सो अवसरमा महेन्द्र पुस्तकालयको इतिहास, पुस्तकालय सम्बन्धि आलेखहरु र अन्य सिर्जनात्मक रचनाहरु तथा अमृत महोत्सवका कार्यक्रमहरु समेत समावेश गरी वाङमय जगत अमृत महोत्सव स्मारिका पनि प्रकाशित गरिनेछ । 

पुस्तकालयलाई ई–लाईब्रेरीमा पनि परिवर्तित गरिने र भौतिक पुर्वाधार लगायत अन्य कुरामा समेत सुधार गर्दै लग्ने योजना रहेको पुस्तकालय व्यवस्थापन समितका सदस्य प्राज्ञ तथा वरिष्ठ कथाकार सनत रेग्मीले बताए । 

उनले पुस्तकालयको सदस्यता वितरण गरेर नयाँ व्यवस्थापन समिति गठन गरि नयाँ तारिकाले पुस्तकालयलाई निरन्तर सक्रिय रुपमा सञ्चालन गरिने योजना रहेको बताए । 
 

आइतबार​ ५ भदौ २०७९ १०:५८ AM मा प्रकाशित

प्रतिक्रिया