×

बन्धुदत्त नाम गरेका  सवै जना मछिन्द्रनाथसंग सम्वन्धित होइन

images

बन्धुदत्त नाम रहेका व्यक्ति जति छन् ती सवै तान्त्रिक विद्वान होइनन् । कसैको नाम  बन्धुदत्त रहेको हुनसक्छ । कालान्तरमा ती नाम गरेका व्यक्ति विद्वान तान्त्रिकव्यक्ति भनेर प्रशिद्ध  कहलिनु जरुरी  छैन । संयोगवश ऐतिहासिक पृष्ठभूमि भित्र बन्धुदत्त नाम धारि कोही बौद्धाचार्य विद्वान देखा परेका छन् । तर जति पनि बन्धुदत्त नाम भएका बौद्धाचार्य विद्वान तान्त्रिक तथा एकै समयका एकै व्यक्ति थिए भन्ने पनि ठहरिएका छैनन्  ।

यस्ता यथार्थहरुलाई बिल्कूलै अनदेखा गर्दै  बन्धुदत्त आचार्य र वज्राचार्य एकै व्यक्ति हुन भनी भ्रम फैलाइ आएको देखिएको छ । एक त मछिन्द्रनाथ नेपाल ल्याएको कथा नै इतिहास र यथार्थ संग कहीं कतै तालमेल नभएको अपुष्ट कथा मात्र हो । यस बारेमा रातो मछिन्द्रनाथको रथजात्रा शीर्षकको लेखमा चर्चा भइसकेको छ । ती ऐतिहासिक स्रोतहरुले बन्धुदत्त आचार्यको संलग्नता केवल रातो मछिन्द्रनाथको जात्रा संग मात्र सरोकार देखाइएको छ ।

कथामा  बन्धुदत्त नाम भएका तान्त्रिकलाई कामारुकामाक्षबाट मछिन्द्रनाथ नेपाल ल्याएको काल्पनिक कुराहरु बुनेर घटनाको एक पात्र बनाइ  आकर्षित गराइएको पाइन्छ । फेरि त्यस घटनामा बन्धुदत्त एक जना मात्र संलग्न छैन । भक्तपुरको राजा नरेन्द्रदेव कान्तिपुरको तान्त्रिक बन्धुदत्त ,  ललितपुरका ललित ज्यापू र कर्कोटक नाग गएर ल्याएको भन्ने घटना छ ।

नेपालको इतिहास पल्टाएर हेरियो भने लिच्छविकाल देखि मध्यकालसम्म नरेन्द्रदेव नाम भएका राजा नै चारजना देखिन्छन् । यसरी नरेन्द्रदेव नाम गरेका राजा नै फरकफरक समयका फरकफरक व्यक्ति देखिए जस्तै बन्धुदत्त आचार्य नै पनि फरकफरक समयका देखापरेका छन् ।  यहाँ खडा भएको जटिल समस्या यही कि कुनचाही नरेन्द्रदेव राजाको पालामा कुनचाही बन्धुदत्त आचार्य सरिक भएर मछिन्द्रनाथ पाटनमा ल्याएर जात्रा चलाएको थियो । त्यो एकीन चाहिएको हो  तर खोइ एकीन खुलासा अहिलेसम्म कोही कसैबाट आएको देखिएको छैन । यही विषयलाई केन्द्र विन्दु बनाइ यो लेख अघिसार्ने प्रयास गरिन्छ ।
 

बन्धुदत्त आचार्य

भारतको इतिहासमा पनि बन्धुदत्त आचार्यको नाम उल्लेख भइरहेको देखिन्छ । चीनमा बौद्ध धर्म  प्रचार गर्ने भिक्षुहरु मध्ये  भिक्षु कुमारजीव एक प्रशिद्ध थिए । यीनै कुमारजीव काश्मीर पुगेपछि त्यहाँका प्रशिद्ध बौद्ध आचार्य बन्धुदत्तको शिष्य बनेर सवै विद्या सिकेर कुमारजीव भिक्षु बनी चीन पुगेका थिए । कुमारजीवको बारेमा सत्यकेतु विद्यालंकार डी.लिट्(पेरिस)द्वारा लिखित भारत का इतिहास नामक पुस्तकमा छोटकरी चर्चा गरिएको पाइन्छ । त्यस चर्चामा भारतका राजकुलमा जन्मेको कुमारायन नामक राजकुमार बौद्ध भिक्षु बनेका थिए ।

यिनी चीनको कुची पुग्दा त्यहाकोँ राजाले यिनको निकै स्वागत गरे साथै उनलाई राजगुरु बनाएर राखे  । केही महीना बसेपछि राजाको बहिनी जीवा संग उनको प्रेम हुन पुगे तव लामो समय भिक्षु भएर रहन सकेन । जीवा र कुमारायनको विवाह पनि भयो । उनीहरुबाट कुमारजीवको जन्म भए । कुमारजीव सातवर्षको हुंदा जीवाले काश्मीर लिएर आए ताकी जीवाको ठूलो इच्छा पनि कुमारजीवलाई बौद्ध भिक्षु नै बनाउने थियो । पछि दुवै आमाछोरा बौद्धभिक्षु भइ पुनः कुचीमा आई बौद्ध धर्म प्रचार गरे । इस्वी ४१२ मा कुमारजीवको मृत्यु भयो भनेर दिइए पछि कुमारजीवका गुरु बन्धुदत्त आचार्य चौथो शताव्दी इस्वी तिरका थिए भन्ने बुझियो । तव उनी बन्धुदत्त आचार्य सित मत्सेन्द्रनाथ  र राजा नरेन्द्रदेवसंग त्यहाँ कुनै सम्वन्ध  रहेको देखाइएको छैन । 

बद्रीरत्न वज्राचार्यको प्रसिद्ध वज्राचार्य पिनिगु संक्षिप्त विवरण नामक नेपाल भाषा र प्रचलित नेपाल लिपिमा लेखिएको पुस्तिकामा बन्धुदत्तलाई आचार्य पनि वज्राचार्य पनि दुवै थर जनाएर संक्षिप्त वर्णन गरिएको पाइन्छ । यिनलाई शान्तिकराचार्यको शिष्य भनेर चिनाइएको छ भने यिनी कान्तिपुर टेवहालका हुन् । यिनले राजा नरेन्द्रदेवको आज्ञा लिएर राजकीर्ति महाविहार बनाए । टेवहाल बाहिर रहेको ठूलो चैत्य चाही राजा नरेन्द्रदेव स्वयंले बनाए ।

त्यसवेला १२ वर्ष सम्म अनावृष्टि भएकोले कामारुकामाक्ष गइ राजा नरेन्द्रदेव ललितज्यापू कर्कोटक नाग संगै बन्धुदत्त वज्राचार्य ले लोकनाथ लाइ ल्याए । अन्तमा शान्तिकरआचार्यको वचन अनुसार नरेन्द्रदेवको मनमा उव्जेको कुरा पूरा गर्न लोकनाथ कै पाउमा बन्धुदत्त लीन भएको काल्पनिक कुरा बुनेर बनाइएको कथा त्यस विवरणमा पाइन्छ । तर यसमा सालमिति समय कुनै पनि जनाइएको छैन । अतः यो केवल कथा मात्र हुन् इतिहास होइन भन्न सकिन्छ । इतिहासका पानाहरु पल्टाएर हेरियो भने नरेन्द्रदेव नाम गरेका राजाहरुको इतिहास यसरी उल्लेख भएर आएका पाइन्छन् ।
 

 राजा नरेन्द्रदेव (प्रथम)— लिसं ५६७(६७) — लिसं ६०३(१०३)     

राजा नरेन्द्रदेव(प्रथम)लाई आफनो पैतृक सिंहासन फिर्ता लिन सफल भएको राजा भनेर चिनिन्छ । यसको मतलव  जिष्णुगुप्त र ध्रुवदेवले गरेको षडयन्त्रका कारण नरेन्द्रदेवका पिता उदयदेव तिव्वत निर्वासन हुनु परेको थियो । नरेन्द्रदेवको बाल्यकाल तिव्वतमा नै बितेको थियो । पिताले गुमाएको सिंहासन छोराले प्राप्त गर्दा विष्णुगुप्त र भीमार्जुनदेव अपदस्त हुन बाध्य भयो । विष्णुगुप्त भीमार्जुनदेव भन्दा पछि र शिवदेव( द्वितीय) भन्दा अघि को ३६ वर्ष पूरा निस्कण्टकरुपले शासन चलाउने यीनै राजा नरेन्द्रदेव थिए । यस समयलाई इश्वी सनमा भन्नु पर्दा ६४३ देखि ६७९ सम्म भन्नु पर्ने र विसंमा भन्नु पर्दा विसं ७०० देखि ७३६ सम्म भन्न सकिन्छ ।
 

राजा नरेन्द्रदेव(द्वितीय) — (नेसं ११९— नेसं १२०)

दोस्रो नरेन्ददेवको नाम नेसं ११९ तिर राजा भइरहेको जानकारी  भेटिएको आधारमा थाहा हुन आएको हो । यिनको पालामा घटेका विशेष घटनाहरु खासै उल्लेखनीय रुपमा प्रकाशमा आएको देखिंदैन । केवल यिनको शासनकाल राजा गुणकामदेव भन्दा पछि र राजा निर्भयदेव भन्दा अघिका राजा भनेर सम्म ऐतिहासिक पुष्टी भेटिन्छ । 
इतिहासकार ज्ञानमणि नेपालका अनुसार गुणकामदेवका दुई छोराहरु राजा भएका उल्लेख  छ ।

त्यस उल्लेखमा गुणकामदेव पछि नरेन्द्रदेव र उदयदेवको संयुक्त शासनको कुरा छ । नरेन्द्रदेवको थोरै समय मात्र शासन देखिएको त्यसपछि उनका भाइ उदयदेवको शासन चलेको कुरा छ । यसमा श्रीराणकले लेखेको प्रज्ञापारमिता र विष्णुप्रतिमाको अभिलेखमा नरेन्द्रदेव र उदयदेवको संयुक्त शासनकालको उल्लेख  छ । उनको  समयलाई इश्वी सनमा भन्नु पर्दा  ९९८ देखि ९९९  सम्म भन्नु पर्ने र विसंमा भन्नु पर्दा विसं १०५५ देखि १०५६ सम्म भन्न सकिन्छ ।

राजा नरेन्द्रदेव(तृतीय) —(नेसं २६१ — नेसं २६५)

तेस्रो नरेन्द्रदेवको नाम चतुर्थ मानदेव पछि इतिहासमा देखापरेको पाइन्छ । वंशावलीहरुमा यिनी कसका छोरा थिए स्पष्ट खुलाइएको छैन । संभवतः मानदेव र नरेन्द्रदेव बावुछोरा थिए । अर्को संभावना यीदुई बावुछोरा पालैपालो शासन गरेको थियो किनकि  नरेन्द्रदेव पछि फेरि मानदेव राजा भएको पनि देखिएको चर्चा छ । पेटेकको भनाइ अनुसार नरेन्द्रदेव भक्तपुरको राजप्रतिनिधि मात्र थिए ।

तेस्रो नरेन्द्रदेवको समयका हाल सम्म आठ वटा अभिलेख प्राप्त भएको कुरा ज्ञानमणि नेपालको पुस्तकमा उल्लेख छ । त्यसपछि नेसं २६७ माघकृष्ण प्रतिपदामा आनन्ददेवको राज्यारोहण भएकोले तृतीय नरेन्द्रदेव भन्दा अघि मानदेव चतुर्थ र नरेन्द्देव भन्दा पछि आनन्ददेव राजा सिंहासनारुढ देखिन्छ । इतिहासमा यी नरेन्द्रदेवलाई नरसिंहदेव र सिंहदेव पनि भन्ने गरेको चर्चा अरु पुस्तकहरुमा पाइन्छ । उनको समयलाई इश्वी सनमा भन्नु पर्दा ११४० देखि ११४४ सम्म भन्नु पर्ने र विसंमा भन्नु पर्दा विसं ११९७ देखि १२०१ सम्म भन्न सकिन्छ ।

राजा नरेन्द्रदेव मल्ल(चतुर्थ)— (नेस. ६४९ — ६८२)

राजा नरेन्द्रमल्ल देव कान्तिपुरका विभिन्न नाच तथा जात्राहरु चलाउने धर्म परायण राजा को रुपमा प्रशिद्ध थिए । यिनलाई कतिपय अभिलेखहरुमा अमरमल्ल देव भनेर पनि उल्लेख गर्ने गरिएको पाइन्छ । यिनको पालामा धेरै मन्दिरहरुको जीर्णोद्धार हुनु र धेरै देवदेवीहरु स्थापना हुनु विशेष महत्वको दृष्टिले स्मरण योग्य छ । वंशावलीहरुमा देउपाटनको त्रिशूल जात्रा पनि यिनैले चलाएको भनी उल्लेख पाइन्छ । टेवहालको मुगःद्यछे. भित्र रहेको एउटा पुरानो ताम्रपत्र अभिलेखमा नेसं ६८२ उल्लेख हुनुको साथै त्यसमा उल्लेखित नरेन्द्रदेवको नाम यिनै चतुर्थ नरेन्द्रदेव रहेको पुष्टी हुन आउँछ । उनको समयलाई इश्वी सनमा भन्नु पर्दा  १५२८ देखि १५६१  सम्म भन्नु पर्ने र विसंमा भन्नु पर्दा विसं१५८५   देखि १६१८  सम्म भन्न सकिन्छ ।

माथि उल्लेख भएको बद्रीरत्न वज्राचार्यको पुिस्तकामा वर्णित कुरालाई आधार बनाएर हेर्दा चार जना नरेन्ददेव नाम गरेका राजा मध्ये कुन चाही हुनसक्छ एकीन गर्न कठिन छ । नरेन्द्रदेव भक्तपुरमा बस्थे र उनको पालामा १२ वर्ष अनावृष्टि भएको घटनालाई पुष्टि गर्न कठिन छ ।  बन्धुदत्त शान्तिकर आचार्यको शिष्य भनी खुलस्तै गरिएको छ भने शान्तिकर आचार्य राजा गुणकामदेवको समकालीन हुनुले मछिन्द्रनाथको जात्राको प्राचीनता संंग  कथामा वर्णत कुरामा कहीं कुनै तालमेल देखिन आएको छैन  । 
किनभने नेपालमा लोकेश्वर लोकनाथको पूजा आराधना गर्ने चलन इशापूर्वकाल देखि थियो भन्ने तथ्यमाथि विद्वानहरुमा फरक मत छैन  ।

 रातो मछिन्द्रनाथको जात्रा मात्र राजा नरेन्द्रदेवको पालामा शुरु भएको हो । यही रातो मछिन्द्रनाथको जात्रामा भोटो देखाउने जात्रा पछि थप हुन आएको जात्रा हो । यसरी पछि थप हुन आएको भोटो देखाउने जात्राको प्राचीनता नै गुणकामदेवको पालामा भएको हो भन्नेमा पनि विद्वानहरुको बीच फरक मत छैन  । तव बन्धुदत्त वज्राचार्यका गुरु शान्तिकरआचार्य नै गुणकामदेवको समकालीन मात्र सिद्ध हुन आउंने देखिएबाट गुणकामदेव भन्दा अघिको राजा नरेन्द्रदेव द्वितीय,तृतीय र चतुर्थ मध्ये कोही पनि होइनन् भन्ने ठहर हुने भयो  । त्यसैले  टेवहालको बन्धुदत्त वज्राचार्य मछिन्द्रनाथ र राजा नरेन्द्रदेव संग जोडिएको  तान्त्रिक बन्धुदत्त आचार्य होइनन् भन्ने स्वतः सिद्ध प्रमाणित हुन आउंछ ।,

अर्को रोचक प्रसंग पनि यहाँ आकर्षित हुन आउंछ । त्यो हो देउपाटन ग्वल भत्कुननिका आचाजूहरुले पनि आफुलाई बन्धुदत्त आचार्यका सन्तान भन्दै आएका रहेछन् । किनकि अहिले सम्म पनि देउपाटनको भुवनेश्वरी, वत्सलेश्वरी र वनकालीमा बन्धुदत्त आचाजुको सखबाट आएका कर्माचार्य आचाजु नै मूल पुजारी हुनुपर्ने परम्परा रहेछ । यो कुराको दृष्टान्त प्रमाण राणाकालमा पुजारी प्रथामा  शुद्धता कायेम हुनुपर्ने विषयमा परेको मुद्दामामिलामा त्यतिबेला तत्कालीन गुठी अड्डा र श्री ३ ले निर्णय गरेको व्यहोराको ती दस्तावेजहरुमा स्पष्ट पाइन्छ । पुजारीको काण्डमा एक जना पुजारी एक ब्राह्मणी महिला बीच नाजायज सम्वन्ध भएको करणी सम्वन्धी मुद्दा पर्दा थुनुवा समेत भएकोले त्यो आचाजु कर्मकाण्डको लागि अयोग्य   नालायक ठहराएको र बन्धुदत्त आचाजु केै सखबाट आएको अर्को कर्माचार्यलाई नयाँनियुक्त गरिएको विस्तृत व्यहोरा ती दस्तावेजमा उल्लेख पाइन्छ ।

गुठी लगतमा पनि भुवनेश्वरी वत्सलेश्वरी र बनकालीमा तान्त्रिक विधिले पूजागर्ने हक केवल बन्धुदत्त आचाजुका सन्तानले मात्र दिक्षित भइकन पूजा गर्दै आउनु पर्ने प्रावधान आज भन्दा हजारौ वर्ष अघि देखि चल्दै आएको र हालसम्म यो प्रावधान टुटेको छैन भन्ने भनाई पुजारीहरुका रहेका छन् । भुवनेश्वरी स्थानका नेसं ८२७ र ८४५ का शिलालेखहरुमा भुवनेश्वरीको नित्यपूजा ग्वल भतकुननि ध्वाकाछें का बन्धुदत्त आचार्य कै सन्तानले नै गर्नु पर्छ अन्यथा गरे भुवनेश्वरीको कुदृष्टि परोस् भनिएको प्रमाणबाट पनि देउपाटनको आचाजु नै प्रशिद्ध तान्त्रिक रहेछन् भन्ने पुष्टि हुन आउंछ । 
 

बन्धुदत्त र मछिन्द्रनाथको सम्वन्ध

देउपाटन ग्वल जयवागेश्वरीको पारी पट्टि न्हवँगणेशको मन्दिर रहेको छ । त्यो गणेशको स्थापना ग्वल देउपाटन कै आचाजुले स्थापना गरेको किंवदन्ती रहेको छ । यो गणेशको मूर्ति लिच्छविकालीन हुनुको साथै रातो मछिन्द्रनाथ संग प्रत्यक्ष सम्वन्ध रही आएको पाइन्छ । किनकि अहिले सम्मपनि रातो मछिन्द्रनाथको न्हवँ गर्दा पहिले यही न्हवँ गणेशको पूजा गरीसकेपछि त्यही प्रसाद सहित कलश जलले अभिषेक गर्नु पर्ने संस्कार पनि जोडिआएको पाइन्छ । न्हवँ पूजा रातोमछिन्द्रनाथको जात्रा शुरुहुनुभन्दा केही दिन अघि सम्पन्न गरिनु पर्ने चलन अद्यापि कायेम रहेको छ । 

यी आधारहरुलाई मनन गर्दा रातो मछिन्द्रनाथको जात्रा लिच्छविकाल देखि चलेको जात्रा हो  भन्ने देखिन्छ । देउपाटन ग्वलका भुवनेश्वरी, वत्सलेश्वरी बनकाली यी पनि लिच्छविकाल देखि प्रसिद्ध रही आएको देवस्थल हुन् । न्हवँ गणेश समेत पनि लिच्छविकाल कै हुनु । राजा नरेन्द्रदेव प्रथम विसं ७०० देखि ७३६ सम्म अविछिन्न रुपले शासन गरेको हुनु भनेको पनि लिच्छविकालमा लामो समय राज्य चलाएको प्रख्यात राजा हुनुले  बन्धुदत्त आचार्य पनि लिच्छविकाल कै तान्त्रिक भएकोले अरु द्वितीय ,तृतीय, चतुर्थ नरेन्द्रदेवहरुसित बन्धुदत्तको सम्वन्ध जोडेको देखिंदैन । 

सर्वप्राचीन वंशावली कहलिएको गोपालराज वंशावलीमा नरेन्द्रदेव वर्ष ३५,र आचार्य बन्धुदत्त दुइजनाले बुंगमलोकेश्वरको जात्रा चलाए भनी स्पष्ट उल्लेख गरिएको छ । वास्तवमा जात्रा चलाएको भन्नु र कामारुकामाक्षाबाट ल्याएको भन्नु आनकातान फरक कुरा हो । अरु जतिपनि वंशावलीहरुमा गोरखनाथ उत्पत्तिको कथा भनेर दिइएको मा मछिन्द्रनाथ ल्याएको घटना भनेर कलिगत ३६७६ भनेर दिइएका छन् । यो समय राजा नरेन्द्रदेवको शासनकालको समय होइन । अतः यो कथा स्वतः सिद्ध काल्पनिक हुन् भन्ने स्पष्ट हुन्छ ।अतः अन्य वंशावलीमा दिइएका विवरण इतिहाससंग कहीं कतै मेल खाएको देखिंदैन भन्ने पनि स्पष्ट हुन आउंछ । 

अव विषय प्रसंग अनुसार भन्नु पर्दा बन्धुदत्त आचार्य कै कुरा गर्दा मच्छिन्द्रनाथको उल्लेख भएका जति पनि श्रोतहरु देखा परे ती सवैमा कतै बन्धुदत्त आचाजु , कतै बन्धुदत्त आचार कतै बन्धुदत्त आचार्य नै उल्लेखमा आएका छन् । तर बन्धुदत्त लाई वज्राचार्य भनेर उल्लेख कतै छैन । बन्धुदत्त वज्राचार्यको विषय र प्रसंग उल्लेख भएको कता छ? भन्ने सन्दर्भमा टेवहालको संकटा देवता ल्याउने सन्दर्भमा भने अवश्य उल्लेख भएको देखिन्छ । यहाँ निर संयोगको कुरा यो छकि मच्छिन्द्रनाथ पनि कामारु कामाक्षबाट ल्याएको भन्ने कथन र टेवहालको संकटा पनि कामारुकामाक्षबाटै ल्याएको भन्ने कथनमा समानता जस्तो देखियो ।

त्यस्तै मच्छिन्द्रनाथको जात्रा चलाउने तान्त्रिक बन्धुदत्त आचार्य थिए भने संकटा ल्याउने तान्त्रिक बन्धुदत्त वज्राचार्य थिए । यहाँ पनि संयोगवश तान्त्रिकको नाम बन्धुदत्त नै देखिएबाट जनमानसमा दृष्टि भ्रम व्याप्त भै आएको देखिन्छ । यहाँ मच्छिन्द्रनाथ र संकटा ल्याएको कथाको प्रकृतिमात्र एउटै देखिए पनि देवता, समय ,घटना यावत् इतिहास पृथक छन् । त्यस्तै तान्त्रिकको नाम संयोगवश मिल्न गएको भएतापनि यहाँ पनि व्यक्ति समय ,घटनाको यावत् ऐतिहासिक धरातल नै पृथक छन् भनी बोध गर्ने र गराउने कार्य अहिले सम्म कसैले पनि गर्ने कोशिस गरेको देखिएन । त्यसकारण यहाँ देखा पर्दै आएको रातो मछिन्द्रनाथको जात्राको विषयमा  मूल समस्याको जड भनेकै यही हो जस्तो देखापरेको छ । 

आज भन्दा एक दुइ दशक अघिबाट काठमाडौं उपत्यका भित्र यत्रतत्र बन्धुदत्तको सालिक बनाएर स्थापना गर्ने होडबाजी चलेको देखिन्छ ।  संयोगवश नेपालको इतिहासमा बन्धुदत्त नाम गरेको दुई तान्त्रिक व्यक्तित्वको नाम अत्यन्त आदरका साथ उल्लेख्य हुंदै आएको छ ।एउटा बन्धुदत्त नाम गरेको तान्त्रिक देउपाटन भतकुननि ध्वाकाछें भन्ने ठाउमा रहेको आचार्य थिए । उनी लिच्छविकालका  राजा नरेन्द्रदेव समकालिक पनि हुन् ।  वंशावलीहरुका अनुसार उनै बन्धुदत्त आचार्यले राजा नरेन्द्रदेवलाई सल्लाह दिइ मच्छिन्द्रनाथको जात्रा शुरुवात गरे  । रातो मच्छिन्द्रनाथको न्हवं पूजा संग सम्वन्धित न्हवं गणेश जसलाई मच्छिन्द्र गणेश पनि भनिन्छ ।

यो मच्छिन्द्र गणेश पनि देउपाटन को हुनु बन्धुदत्त आचार्य पनि देउपाटन कै हुनुले धेरै अर्थ सामिप्य समीचिन  हुन आउंछ । देउपाटन भत्कुननिका कर्माचार्यहरुलाई अहिले सम्म पनि बन्धुदत्त आचार्यका सन्तान भनी पूजागुठीमा अधिकार सुम्पिंदै आएको मिसिल कागजातहरु गुठी संस्थानमा यथेष्टमात्रामा पाइन्छन् । यो अर्थले देउपाटन का कर्माचार्यहरु नै बन्धुदत्त आचार्यका सन्तान ठहरिए त्यतिमात्र पनि होइन । देउपाटन ग्वल भत्कुननिको आचाजुलाई  बन्धुदत्त आचार्यका सन्तान हुन् भनी  चल्दै आएको  गुठी जीवित छन्  र वास्तवमा बन्धुदत्त आचार्य भन्ने व्यक्ति कर्माचार्य नै हुन साथै उनी हिन्दु धर्मावलम्वीका आचार्य थिए । यसमा उपलव्ध प्रमाण जति छन् देउपाटनका कर्माचार्य हुनु मैं पृष्ठपोषित हुंदै आएको छ  ।

वि.सं २०५० साल पछि कतै कतै बन्धुदत्त लाई बज्राचार्यको रुपमा प्रतिविम्वित हुने सालिक मूर्ति बनाएर स्थापना गरिएको उदाहरणले मछिन्द्रनाथ र राजा नरेन्द्रदेव संग सम्वन्धित बन्धुदत्त आचार्य बज्राचार्य सिद्ध हुन सकेको मानिंदैन ।  यसले  इतिहासलाई थप मिथ्याकरण गर्ने तिर दोराएको मात्र हुन जान्छ ।   यसले  देशको इज्जत प्रतिष्ठामा नै नकारात्मक प्रभाव पार्दै आएको देखिन थालेको छ । यसप्रकारको कार्यलाई दुरुत्साहन नै गरिनु जरुरी छ । यस्तै इतिहासलाई थप मिथ्याकरण हुनबाट जोगाउनु पनि देश र समाजको कर्तव्य र दायित्व पनि हो । स्मरण रहोस् !


यो लेख लेख्दा सहयोग लिइएका पुस्तक तथा लेखको सूची
 

१.  गोपालराज वंशावली                        - धनवज्र वज्राचार्य 
२. लिच्छविकालका  अभिलेख                        - धनवज्र वज्राचार्य     
३ देवमाला वंशावली                            -योगी नरहरिनाथ        
४. भाषा वंशावली                            -नयनाथ पौडेल        
५. नेपालको साँस्कृतिक तथा ऐतिहासिक दिग्दर्शन  -लीलाभक्त मुनंकर्मी     
६. राष्ट्रिय अभिलेखालयको अभिलेख २०४०-अंक १   -रातो मत्स्येन्द्रनाथको उत्पत्ति
७.  श्री मत्स्येन्द्रनाथ                              -कूलचन्द्र कोइराला      
८.  मछिन्द्रनाथको कथा                                -चक्रपाणी चालिसे      
९.  रातो मत्स्येन्द्रनाथ                                  - बुद्धाचार्य शाक्य        
१०.  नेपालका जात्रापर्व                                 - सत्यमोहन जोशी         
११.   नेपालका चाडपर्व                                  -हरिराम जोशी            
१२. हाम्रा चाडपर्वहरुका विवेचना                       - मनवज्र वज्राचार्य         
१३. श्री संकटा १२ वर्षे मेला २०६० स्मारिका                  -पूर्णरत्न वज्राचार्य         
१४.   लिच्छवि इतिहास                                   -डा.जगदीशचन्द्र रेग्मी     
१५. नेपालको धार्मिक इतिहास                              -डा. जगदीशचन्द्र रेग्मी    

 

नेपाल भाषामा 
१.  बुंगद्योया बाखं                                          - ज्योतिरत्न शाक्य          
२. श्री करुणामय बुड्डमलोकेश्वरया साँस्कृतिक पृष्ठभूमि          -हेमराज शाक्य             
३.  प्रसिद्ध वज्राचार्य पिनिगु संक्षिप्त विवरण                    - बद्रीरत्न वज्राचार्य 
हिन्दी भाषा
१ भारत का इतिहास                                        ः सत्यकेतु विद्यालंकार 
                                                                डी.लिट्(पेरिस)         

                                                                                                                                                                       

 

शुक्रबार​ ८ बैशाख २०८० ०१:५७ PM मा प्रकाशित

प्रतिक्रिया