×

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा र कर्जा विस्तारको संकेत

images

काठमाडौं : केन्द्रीय बैंकले बढ्दो आयात न्यूनीकरण, घरजग्गा र सेयर कारोबारलाई सीमाभित्र राख्दै उत्पादनमूलक उद्योगतर्फ कर्जा बढाउन बैंकहरुलाई घुमाउरो पाराले संकेत गरेको छ । 

नेपालभित्रै उत्पादन हुन सक्ने वस्तुको समेत तीव्र गतिमा आयात बढ्न थालेको र त्यसले विदेशी मुद्राको सञ्चितिमा समेत नराम्ररी दबाब पर्दै गएपछि केन्द्रीय बैंकले उत्पादनमूलक उद्योगतिर कर्जा विस्तारको रफ्तार बढाउन खोजेको देखिएको कुमारी बैंकका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले बताए । 

केन्द्रीय बैंकले गत बिहीबार सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट उत्पादनमूलक उद्योगतिर कर्जा बढाउ र आयात, घरजग्गा तथा सेयरतर्फ कडाई गर भन्ने संकेत दिएको बताए । 

तत्कालका लागि असर देखिए पनि दीर्घकालमा यसको प्रतिफल राम्रो आउने उनको भनाइ छ ।  राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले उत्पादनमूलक उद्योगको विस्तार गर्ने उद्देश्यबाट मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आएको र त्यसले अर्थतन्त्रको जग दरिलो बनाउने बताए । 

‘अहिले जे जस्ता वस्तु आयात भइरहेका छन्, तीमध्ये कैयौं वस्तुहरु यही उत्पादन गर्न सकिन्छ,’ भट्टले भने, ‘केन्द्रीय बैंकले अब उप्रान्त कर्जा प्रवाह गर्दा उत्पादनमूलक उद्योग पहिलो प्राथमिकतामा पार्ने र त्यस्तो कर्जा अन्य कर्जाको ब्याजभन्दा सस्तो बनाउनुपर्ने गरी मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले देखाएको छ ।’ 

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी निर्माण हुने वस्तुभन्दा अन्य वस्तुको आयात बढ्दा एकातिर भुक्तानी सन्तुलनमा गम्भीर दबाब पर्यो भने अर्कोतिर नेपालमा नयाँ उद्योग आउनसमेत सकेको बताए । ‘पुँजी निर्माण हुने वस्तुका आयातका कुनै कडाइ गर्नुहुँदैन’ उनले भने, ‘त्यस्ता वस्तुको आयात बढ्दा आत्तिनुपर्ने अवस्था पनि हुँदैन । तर, जुन वस्तुबाट थप पुँजी निर्माण हुँदैन, त्यस्ता वस्तुको आयात बढ्दा देश गम्भीर आर्थिक संकटतर्फ धकेलिन्छ ।’ 

निम्बस होल्डिङका कार्यकारी निर्देशक डा. दिनेश गौतमका अनुसार केन्द्रीय बैंकको अर्धवार्षिक समीक्षामार्फ उत्पादनमूलक उद्योग लगाउन प्रोत्साहन गरेको छ । 

‘औद्योगिक कच्चा पदार्थको आयातमा कुनै रोकतोक छैन, शतप्रतिशत मार्जिन पनि चाहिँदैन’ उनले भने, ‘बैंकहरुलाई उत्पादनमूलक उद्योगमा प्रवाह गर्नें कर्जाको ब्याजदर सस्तो हुनुपर्छ समेत केन्द्रीय बैंकले भनेको छ । यसबाट के बुझिन्छ भने केन्द्रीय बैंक उत्पादनमूलक उद्योग खुलोस् भन्ने पक्षमा छ ।’ 

केन्द्रीय बैंकले आयातमा कडाइ गर्न खोजेकै हो । ट्रेडिङतिर जाने कर्जामा अंकुश लगाउन चाहेकै हो । अनुत्पादक क्षेत्रमा गइरहेको कर्जालाई सूक्ष्म निगरानी गरेको हो । 

बैंकरका अनुसार केन्द्रीय बैंकले मौखिम रुपमा पनि बैंकलाई उत्पादनमूलक उद्योगमा जाने कर्जाको ब्याजदर सबैभन्दा कम बनाउन भनेको छ । बरु घरजग्गा, सेयर र आयातमा दिइने कर्जाको प्रिमियम बढाएर लिँदा हुन्छ । तर, उद्योग लगाउन कुनै ऋणीले कर्जा माग्छ भने त्यसको ब्याजदर न्यून मात्रै लिन भनेको एक बैंकरले बताए । 

 

सोमबार ९ फागुन २०७८ १२:२१ PM मा प्रकाशित

प्रतिक्रिया