तयार भयो नवदुर्गाको ख्वापा

    images


    भादगाउँ (भक्तपुर), ३ कात्तिक : भक्तपुरको ऐतिहासिक र धार्मिक महत्व बोकेको तान्त्रिक नाच नवदुर्गा देवगणको ख्वापा (मुकुण्डो) तयार भएको छ । भक्तपुर याछेंका ७७ वर्षीय पूर्ण चित्रकारले तीन महिनाको प्रयासपछि नवदुर्गा देवगणको १३ वटा ख्वापा तयार गर्नुभएको हो ।

    तयार भएको ख्वापालाई बडादसैँको महानवमीको साँझ याछेंस्थित पूर्ण चित्रकारको घरमा स्थानीयलाई दर्शनका लागि प्रदर्शनीमा राख्छ । यसरी राखिएको ख्वापालाई देवगण बन्ने गाथा (वनमाला) समूहले परम्परागत पूजासहित लिन आउने परम्परा छ ।

    प्रत्येक वर्ष नयाँ बनाउनुपर्ने ख्वापा तयार नभए नवदुर्गा नाचसमेत प्रभावित हुन्छ । विजयादशमीको दिन नवदुर्गा देवगणले सिद्धि प्राप्त नगरे भक्तपुरको बडादशैँ अपूर्ण हुने र यसले भक्तपुर नगरका साथै उपत्यकाको विभिन्न स्थानको सांस्कृतिक जीवनसमेत प्रभावित हुने संस्कृतिविद्हरूको भनाइ छ । ख्वापा बनाउने कार्यको शुभारम्भ घण्टाकर्ण चतुर्दशीका दिन गरिन्छ ।

    मुकुण्डो यसरी बनाइन्छ 

    नवदुर्गाको ख्वापा बनाउन ‘बोचा’ भनिने विशेष किसिमको माटो प्रयोग हुन्छ । सुकाएको माटोलाई धुलो पार्ने गरी कुटेपछि त्यसलाई मैदा र पानीको माडमा मुछिन्छ । मुछिएको माटोलाई डल्ला डल्ला बनाई राखिन्छ । डल्लो सुकेपछि कपास र नेपाली कागज राखी फुटाएर ख्वापा बनाउने कार्य सुरु हुने पूर्ण चित्रकारको भनाइ छ । “बनाइसकेको ख्वापा घाममा सुकाउनु हुँदैन हावाले मात्र सुकाउनु पर्छ । एउटा मुकुण्डो सुकाउन कम्तीमा दुई हप्ता लाग्छ”, चित्रकाले भन्नुभयो ।

    ख्वापा बनाउन बोचासहित विभिन्न किसिमका ढुङ्गाबाट बनेको रङ, सुन, मैदा, मट्टितेल, कपास, नेपाली कागज, जुटको बोरा, कोरा कपडालगायतका सामग्री आवश्यक पर्दछ । हेर्दा सजिलो लाग्ने तर अत्यन्त कठिन कार्य भएकाले कामदार पाउन निकै मुस्किल हुने चित्रकार बताउनुभयो । 

    तन्त्र प्रधान र गोप्य विधि

    नवदुर्गा देवगणको नाचमात्र होइन यसको ख्वापा निर्माणदेखि सिद्ध प्राप्तिसम्मको कार्यमा समेत तान्त्रिक विधि, विधानअनुरुप पूजा गर्ने परम्परा छ । शुभसाइत हेरेर ल्याएको ख्वापा बनाउने माटोलाई समेत थप साइतमा बाजागाजासहितको टोलीले पूजा गर्नुपर्ने परम्परा छ ।

    तन्त्र विद्या प्रधान नाच नाच्ने भएकाले ख्वापा निर्माण गरेको दृष्य जो–कोहीले हेर्न नहुने चित्रकार बताउँछन् । ख्वापालाई अन्तिम रूप दिने क्रमका केही सीप गोप्य राखी परिवारलाई समेत थाहा नदिई आफूसँग मात्र राख्नुपर्ने चित्रकारले बताउनुभयो । 

    काका विष्णुबहादुर चित्रकारबाट गोप्य तरिकाले सीप प्राप्त गरेका चित्रकारले गोपनीयताका लागि केही वर्षसम्म सञ्चारकर्मीलाई समेत तस्वीर खिच्न मनाही गरेको बताउनुभयो । “समयअनुसार अहिले केही खुकुलो बनाउँदै लगेको छु खास सीप आफूसँग राखेर अरु धेरै कुरा खुला गरेको छु”, उहाँले भन्नुभयो, “धेरै गोप्य बनाउँदा ख्वापा बनाउने कार्य र जात्रा नै सङ्कटमा पर्न सक्ने भएकाले केही खुकुलो बनाएको हुँ ।”

    रु २५ लाखको अक्षयकोष 

    यो वर्ष नवदुर्गा देवगणको १३ वटा ख्वापा बनाउन यस वर्ष करिब साढे तीन लाख खर्च भएको पूर्ण चित्रकारले जानकारी दिनुभयो । ख्वापा तयार गर्न सबैभन्दा बढी कालिगढको ज्यालामै खर्च हुने गरेको र यसको रङरोगनमा पनि उत्तिकै खर्च हुने गरेको उहाँले बताउनुभयो ।

    खर्च व्यवस्थापनका लागि पूर्णले २०३६ सालदेखि अनेक समस्या झेल्दै आएको बताउँछन् । उहाँका अनुसार २०३६ सालमा मुकुण्डो बनाउन गुठी संस्थानबाट वार्षिक रु छ सय चार सहयोग गरेको थियो । त्यो रकम बढेर २०४५ सालमा पाँच हजार, २०६८ सालदेखि रु १५ हजार दिन थालेको छ । यो वर्ष रु ७० हजार दिएको छ । त्यसैगरी केही वर्षदेखि संस्कृति मन्त्रालयले वार्षिक रु ५० हजार दिन थालेको छ । नपुग अन्य रकम सहयोगी आफन्त साथीभाइसँग सहयोग लिने गरेको उहाँले बताउनुभयो । ख्वापा निर्माणको खर्च जोहो गर्न अक्षय कोषसमेत स्थापना गरिएको छ । कोषमा रु २५ लाख नगद जम्मा भइसकेको छ ।

    मानवीय जीवनमा गरिने सबै संस्कार र भावप्रधानयुक्त नवदुर्गा नाच

    नवदुर्गा नाच तान्त्रिक विधि विधानमात्र नभएर मानवीय जीवनमा गरिने सबै संस्कार र भावप्रधानयुक्त नाच हो । जसमा बोलेरभन्दा पनि निश्चित भाव सङ्केतद्वारा संवाद प्रस्तुत गरिन्छ । नेवार समुदायमा झल्किने शक्तिशाली पारिवारिक अनुशरणको सङ्केत यो नाचमा प्रस्तुत गरिएको हुन्छ ।

    नवदुर्गा नाचले मल्लकालीन समयको संयुक्त परिवारलाई इङ्गित गर्ने इतिहासविद् एवं संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो । प्रा डा श्रेष्ठका अनुसार समाजमा घरमुली (नंकी)को दायित्व र महत्वसँगै तीनको भूमिकालाई हरेक दृष्टिले उच्च स्थानमा राखेको हुन्छ । यसमा नकींले १८ जना देवगण सदस्यलाई नवदुर्गा देवगृहमा भित्र्याउनेदेखि निष्कासित गर्नेसम्मको कार्यभार सम्हाल्छ । नेवार समुदायमा र संस्कारमा नंकी प्रधान भन्ने सन्देश नवदुर्गा देवगण नाचले दिने गरेको प्रा डा श्रेष्ठको भनाइ छ ।

    मुख्यतया नगदुर्गा देवगणमा बाजागाजासहित १९ जनाको समूह हुन्छ । जसमध्ये १३ जना देवी–देवता हुन्छ । नगदुर्गा देवगणमा काठको सानो मन्दिर हुन्छ, जसलाई सिफोद्यः (महालक्ष्मीको प्रतीक) हो । यो नाचमा देवगणले भैरव (कालभैरव) एक, महाकाली एक, बाराही एक, ब्रम्हायणी एक, महेश्वरी एक, कुमारी एक, वैष्णवी एक, इन्द्रायणी एक, गणेश एक, महादेव एक, श्वेतभैरव एक, सिम्ह दुम्ह (नन्दी भृंगी) दुई गरी १३ वटा मुखुण्डो प्रयोग गरी नाच प्रदर्शन गरिन्छ । नवदुर्गा देवगणमा १३ मुखुण्डो, खिं बाजा, तः बाजा, कायँःबाजा, महापात्र र नकींगरी १९ जनाको समूह हुन्छ ।
    ---

    शुक्रबार​ ३ कात्तिक २०८० ०२:०८ PM मा प्रकाशित

    प्रतिक्रिया