×

कालीकोट बाढीपहिराको जोखिममा

images

कालीकोटको नौ स्थानीय तहका ५१ बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाको नरहरिनाथ गाउँपालिका सबैभन्दा बढी जोखिममा रहेको छ । यस पालिकाका १३ बस्तीका पाँच सयभन्दा बढी घर बाढीपहिरोको जोखिममा छन् भने कम जोखिममा भएको पालिकामा तिलागुफा नगरपालिका रहेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ ।

तिलागुफाको पनि छाप्रेका टाकुल्ला, छाप्रे, ओखरभित्ता, खल्लालगायत बस्ती बाढीपहिरोको जोखिममै रहेको नगर प्रमुख शङ्करप्रसाद उपाध्यायले बताए । रास्कोट नगरपालिका-११, सान्नीत्रिवेणी गाउँपालिकाका-७, तिलागुफा नगरपालिकाका-७, खाडाँचक्र नगरपालिकाका-७, शुभकालिका गाउँपालिका-४, महाबै गाउँपालिका-५, पचालझरना गाउँपालिका पाँच र पलाँता गाउँपालिका सात वटा बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन् ।

असोज १९ गते सुरु भएको वर्षाले सबैभन्दा बढी क्षति कालीकोटमा नै भएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए । पहिरोले स्थानीयका घर, खेत, खानेपानी, सिँचाइ कुलो, बाटोसहितको क्षति छ ।

कालीकोटमा बाढीपहिरोका कारण नौ वटै स्थानीय तहमा गरी पाँच सय ९० घर पूर्णरुपले भत्किएको, सात सय ४२ घर आंशिकरुपले भत्किएको र सात सय १३ घर उच्च जोखिम रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जानकारी दिएको छ ।

बाढी, पहिरामा परेर कालीकोटको छ जनाको मृत्यु भएको एक प्रहरी जवानसहित १७ जना अझैँ बेपत्ता रहेको र १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । बाढीपहिराका कारण तिलागुफा नगरपालिकामा १९ जना पहिरोमा परेको त्यसमध्ये पाँच जना शव भेटिएको भए पनि अन्य अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

बिहीबार ३ कात्तिक २०७९ ०२:०८ PM मा प्रकाशित

प्रतिक्रिया