×

नबिल फोनलोनमार्फत अब बिना धितो दुई लाखसम्म कर्जा

images

काठमाडौं - नबिल बैंकले नबिल फोनलोनको न्यूनतम सीमा र आफ्नो डिजिटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ । यसअघि नबिल फोनलोनको सीमा रु.१ लाख रहेकामा त्यसलाई बढाएर अब रु.२ लाख पुर्याइएको हो । यसका अतिरिक्त यस्तो लोन लिनका लागि योग्य समूहको दायरा पनि केही बढाइएको छ ।

नबिल बैंक, फोनलोनको अवधारणा कार्यान्वयनमा ल्याउने देशकै पहिलो बैंक हो । अब बैंकमा नियमित बचत खाता सञ्चालन गर्ने ग्राहक तथा नबिल बैंकसँग आबद्ध क्यूआर मर्चेन्टहरू पनि फोनलोनका लागि योग्य हुनेछन् । यसअघि भने नबिल बैंकमा तलब खाता भएकाहरुले मात्र यस्तो लोनको सुविधा पाइरहेका थिए ।

यस्तै, नबिल बैंकले फोनलोनका अफरहरुलाई पनि अपग्रेड गरेको छ । अब यस्तो लोनका लागि योग्य ग्राहकहरुले नबिल स्मार्ट बैंक एपको स्क्रिनमा फोनलोनको आइकन देख्नेछन् । बैंकले ग्राहकहरुको सुविधाका लागि ‘बाइ नाउ पेई लेटर’ को सुविधा तथा लोनबापत लिएको रकम चुक्ता गर्न इएमआईको सुविधा समेत उपलब्ध हुने भएको छ ।

ग्राहकहरूले खरिद गर्दा कुनै पनि फोन पे मर्चेन्ट क्यूआर कोडहरू स्क्यान गर्न सक्छन् भने आफ्नो खरिदको मासिक किस्तामा भुक्तानी गर्न चेकआउटको बेला ‘बाइ नाउ पेई लेटर’ को विकल्प रोज्न सक्छन् । ‘नेपालमा बैंकिङ अझै पनि विकासको प्रक्रियामा छ, तर अहिले मुख्यतया कानूनी र नियामक व्यवस्थाका कारण र एनपीए व्यवस्थापनमा सहजताका कारण धितोमा आधारित ऋणमा केन्द्रित छ,’ नबिल बैंकका एसएमई एण्ड माइक्रोफाइनान्स प्रमुख निरज बस्नेत (डनिल) ले बताए ।

‘हालैका दिनहरूमा हाम्रो जोखिमबहन क्षमता बढ्दै गए पनि, हामीले धितोमा आधारित लोनबाट व्यवहार र नगद प्रवाहमा आधारित क्रेडिटमा सर्न आवश्यक छ । यही उद्देश्य प्राप्तिमा फोनलोनको स्वचालित क्रेडिट अन्डरराइटिङ र ऋण व्यवस्थापन पहिलो चरण हो,’ उनले थपे ।

बिहीबार ३ कात्तिक २०७९ ०९:१३ PM मा प्रकाशित

प्रतिक्रिया