×

‘मेरो ममीको गायकीले मलाई यस क्षेत्रमा तान्यो’( अन्तर्वाता )

images

काठमाडौं । बिर्तामोडमा रहेको सरगम संगीतालय र सप्तक म्युजिक क्लास बिर्तामोडमा संगीतको औपचारिक शिक्षा लिनुभएको ‘सारेगमप लिटिल च्याम्स’ विजेता कृपा पौडेल घरमा पनि सानैदेखि गीत गुनगुनाइरहनुहुन्थ्यो । 

झापा बिर्तामोड – २ रामचोक निवासी १४ वर्षीय कृपाले सारेगमपमा सहभागी हुनुअघि नै शिव ताण्डव स्तोत्र पाठ गरी म्युजिक भिडियो समेत निकालेर चर्चा बटुली सक्नुभएको छ । 

हाल स्थानीय मोहनमाया माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत कृपा पढाइमा पनि उत्तिकै मेहिनती हुनुहुन्छ । उहाँको औपचारिक शिक्षाको सुरुवात चिल्ड्रेन इन्भार्मेन्ट सेकेन्डरी स्कुल बिर्तामोडबाट भएको हो भने केही वर्ष कृपाले मिडल पोइन्ट सेकेन्डरी स्कुलमा पनि अध्ययन गर्नुभयो । 

कति बर्षको उमेर देखि गायन क्षेत्रमा लाग्नुभयो ? 
म ९ वर्षको उमेरबाट गायन क्षेत्रमा लागेकी हुँ । 

‘सारेगमप लिटिल च्याम्स’ को उपाधी जित्नुभएपछि तपाईले स्कुलमा कस्तो प्रतिक्रिया पाउनुभयो ?
म यो शो ले गर्दा स्कुल खासै जान पाइन र मेरो पढाई पनि धेरै नै छुट्यो, अहिले म स्कुल जान थालेकी छु । साथीहरुले मलाई मेरो पढाईमा धेरै नै सहयोग गरिरहेका छन् । शिक्षकहरुले पनि धेरै गर्व महसुस गर्नुभएको छ । साथीहरुबाट पनि माया र हौसला पाइरहेकी छु । 
 
तपाईलाई सबैभन्दा मन पर्ने गायक–गायिका को को हुनुहुन्छ ?
मलाई त्यस्तो यो नै मन पर्छ भन्ने छैन । मलाई सबैजनाको आवाज राम्रो लाग्छ । मलाई सबै अग्रज गायक गायिकाको स्वर राम्रो लाग्छ ।

कसको प्रेरणाले गायन क्षेत्रमा लाग्नुभयो ?
मेरो प्रेरणाको स्रोत भनेको मेरो ममी नै हो । मेरो ममीले पनि भजन गाउने गर्नुहुन्थ्यो । उहाँको गायकी देखेर पनि मलाई गायन क्षेत्रमा उत्साह जागेको हो । 

 

 

‘सारेगमप लिटिल च्याम्स’ उपाधीको बिजेता बन्दा कस्तो महशुस गर्नुभयो ? 
उपाधी जित्दाको क्षणलाई जति सम्झे नी कम हुन्छ । म अत्याधिक खुशी थिए । मेरो बुवाले मलाई म सानो हुँदा देखिको दिनुभएको माया, उहाँको साथ सहयोगलाई सम्झे र सारेगमपमा डिजिटल राउण्डदेखि मैले गर्दै आएको दुख, परिश्रम र मेहिनत सम्झिए ।  

तपाईलाई आफुले उपाधी जित्छु जस्तो लागेको थियो ? 
त्यस्तो केही लागेको थिएन तर मनमा रिजल्ट कस्तो आउँला भन्ने डर चाँही थियो । 

फुर्सदमा के गर्न रुचाउनुहुन्छ ? 
मलाई फुर्सदमा पढ्न, नृत्य गर्न, बिभिन्न खेलहरु खेल्न र बिभिन्न थरीका परिकारहरु पकाउन मनपर्छ । 

घुम्न कहाँ कहाँ जानुभएको छ ? अब घुम्न जान मन लागेको ठाउँ कुन हो ?
म त्यति खासै कतै घुमेकी छैन । आफनै ठाउँ झापा पनि म त्यति घुमेकी छैन । मेरो अस्ट्रेलियामा दिदि हुनुहुन्छ उहाँलाई एकपटक भेट्न जाने मन छ । 
अब तपाईको योजना के छ ? 
मेरो योजना भनेको के गर्दा आफु अगाडी बढ्न सक्छु त्यहि गर्ने हो । यो भन्दा धेरै मेहिनत गर्ने, पढ्ने र नयाँ नयाँ गीत रेकर्ड गर्ने योजनामा छु । म मेरो प्रतिभा संसारमाँझ प्रस्तुत गर्न चाहन्छु । 

https://youtu.be/D3JsqmNOkfY

https://youtu.be/D3JsqmNOkfY

मङ्गलबार ७ भदौ २०७९ ०१:३४ PM मा प्रकाशित

प्रतिक्रिया