काठमाडौं, ५ असार (२०८३) । नेपाली सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्यमा ऐतिहासिक गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एकैपटक १० हजार ५०० रुपैयाँले घटेको हो। मूल्यमा ठूलो गिरावट आएसँगै आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि ठूलो गिरावट आएको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा ३०५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ६४० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा खरिदबिक्री भएको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि यसको प्रत्यक्ष असर देखिएको व्यवसायीहरूले बताएका छन्। एकैदिन १० हजारभन्दा बढीले मूल्य घटेपछि बजारमा सुन किन्ने ग्राहकको चहलपहल बढ्न सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया