×

मुद्दा जितेर आएका झगडियाहरुलाई जनतामा जाने कुनै अधिकार छैन- अध्यक्ष केपी शर्मा ओली

images

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई आगामी चुनावमा १३ सिटपनि नआउने  बताएका छन् ।

एमाले सम्पर्क समन्वय कमिटीले शनिबार आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले पाँच वर्षअघि २३ मा झारिसकेकोले अब १३ सिटमा झारिदिनु पर्ने बताएका हुन् । साथै अध्यक्ष ओलीले मुद्दा जितेर आएका झगडियाहरुलाई जनतामा जाने अधिकार नै नरहेको बताए ।

ओलीले भने,’यो अदालतले बनाइदिएको गठबन्धन हो । जनताले हो र गठबन्धन बनाइदिएको ? भोटले हो र ? यस्तालाई जनताको आँगनमा लगेर पछार्नुपर्छ । अदालतले बनाएको सरकारलाई मुद्दा लड्न जाउ भन्ने हो,हामी जनताको बीचमा जाने हो ।’ ‘यो गठबन्धन केही होइन । पाँच वर्षअघि बुढो कांग्रेस २३ सिटमा झरेको होइन ?’ कार्यकर्तालाई निर्देशन दिंदै उनले भने, ‘अब १३ सिटमा झार्नुपर्छ । लाग्नुस् न !’

कांग्रेसलाई ६० वर्षमाथिका ज्येष्ठ नागरिकले मत नदिने उल्लेख गर्दै उनले युवाहरूले झन भोट हाल्नुपर्ने कारण नभएको जिकिर गरे । कांग्रेससँग जनतासँग जाने कुनै एजेण्डा नरहेकाले एमालेको भण्डाफोर गर्ने नीति लिएको भन्दै ओलीले एमाले आउने स्थानीय चुनावमा बहुमत सिट जित्नै पर्ने बताए ।

साथै गठबन्धनमा रहेको एकीकृत समाजवादीलाई पार्टी नै नबनेको भन्दै अध्यक्ष ओलीले यही चुनावमै समाप्त हुने टिप्पणी गरे । साथै माओवादी केन्द्रलाई यसअघि एमालेले बचाइदिएको दाबी गरे ।

यस्तै स्थानीय तहको निर्वाचनको सन्दर्भमा अध्यक्ष ओलीले गडबढ हुने भन्दै मतपेटिका आफूहरूको आँखै अगाडि राख्नुपर्ने माग गरे। लाह छाप लगाए पनि कोठाभित्र राखेका बाकसको भर नहुने भन्दै उनले त्यसको पहरेदारी गर्न कार्यकर्तालाई निर्देशन दिए ।

शनिबार ५ चैत २०७८ ०१:०५ PM मा प्रकाशित

प्रतिक्रिया