×

सोनाम ल्होसार पर्व आज विविध कार्यक्रम गरी मनाउँदै, यस्तो छ पर्वको महत्व

images

काठमाडौं। तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन्। मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ। आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताए। तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ।

पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने जनाएको छ। यसैगरी नेपाल तामाङ घेदुङले यस पर्वका अवसरमा टुँडिखेलमा शनिबारदेखि तीन दिनसम्म विविध कार्यक्रम सुरु गरेको छ। यसैगरी राजधानीको स्वयम्भू क्षेत्रमा पनि विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाउन लागिएको जनाइएको छ।

करिब चार हजार ७०० वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ। नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्दछन्।

यस अवसरमा आइतबारदेखि नै राजधानीको टुँडिखेलमा ल्होसार महोत्सव आयोजना गरिएको छ। महोत्सवअन्तर्गत तामाङ समुदायका ताम्बा, बोन्बो र लामाहरूको विशेष सांस्कृतिक झाँकी, परम्परागत गीत तथा नृत्य प्रस्तुत गरिनेछ। साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा ख्याती प्राप्त कलाकारहरूको प्रस्तुति रहने मूल समारोह समितिले जनाएको छ। यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व । ‘ल्होसार’ दुई शब्द मिलेर बनेको छ । जसको अर्थ ‘ल्हो’ अर्थात् वर्ष वा साल भन्ने हुन्छ भने ‘सार’ को अर्थ नयाँ भन्ने हुन्छ । यसैले ल्होसारको अर्थ नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ । ल्होसार मनाउने समुदायले यस्ता ‘ल्हो’ अर्थात् वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । जस्तै मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुंसुर गरी १२ वटा वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपंक्षीका नामबाट गणना गरिएकाले यसलाई प्रकृतिपूजकका रूपमा समेत लिने गरिन्छ ।

नयाँ वर्षका रूपमा तामाङ, शेर्पा, गुरूङ, मगर, थकालीलगायतका जातिले ल्होसार पर्व मनाउने गर्छन् । जाति नै पिच्छे फरक–फरक समयमा ल्होसार मनाउने चलन छ । जाति नै पिच्छेका फरक–फरक संस्कृति र प्रचलनले ल्होसार पर्वको महत्व झन बढाएको छ । ल्होसार पर्वको सम्बन्ध मूलतः पुरानो साललाई बिदा गर्ने र नयाँ साललाई स्वागत गर्नेसँग गाँसिएको छ । सोनाम ल्होसार आउन करिब एक महिना अगाडिदेखि नै तयारीका कार्यहरू प्रारम्भ गर्ने गरिन्छ । बाटाघाटा, घर–आँगन, चौतारा, मन्दिर, गुम्बा, चैत्य, विहार आदिको सरसफाइ तथा बत्ती, ध्वजा–पताका, खानपान एवं साँस्कृतिक कार्यक्रम आदिको व्यवस्थापनमा ध्यान दिइन्छ ।

सोनाम ल्होसारमा तामाङ समुदायमा हर्षाेल्लास छाउने गर्दछ । आजको दिनमा उक्त समुदायले ठूलो उत्सवको रूपमा मनाउने प्रचलन छ । ल्होसारको अवसरमा भूमिपूजा, कूलपूजा, गोठपूजा एवं अन्य पूजापाठ तथा दानदक्षिणा, ढोगभेट, टिकाटालो र परस्पर सुस्वास्थ्य, दिर्घायुको कामना गर्दै तहअनुसार आर्शीवचन लिने–दिने अनि शुभकामना आदान–प्रदान समेत गर्ने गरिन्छ । त्यस अवसरमा विभिन्न खानाका परिकार बनाउने, नाचगान गरी रमाइलो गर्ने परम्परा पनि रहेको छ । पछिल्लो समय महोत्सवको आयोजना गरेर तामाङ जातिको खाना, भेषभुषा, काल, संस्कृतिलगायत प्रदर्शन गर्ने प्रचलन समेत छ ।

वास्तवमा नेपाल विविधताले भरिपूर्ण राष्ट्र हो । शताब्दियांैदेखि विश्वका विविध उद्देश्यका नागरिकलाई नेपालले सधैं आकर्षित गरिरहेको छ । विभिन्न जातजातिका कला संस्कृति, भेषभुषा, भाषा, खानपान बाह्य पर्यटकका लागि आकर्षणका केन्द्र बन्दै आएका छन् । सायद नेपालमा जति चाडपर्व अरू देशहरूमा छैनन् । फेरि नेपालीहरू जुन समुदायको पर्वमा पनि सामूहिक रूपमा मनाउने प्रचलन बढ्दै जान थालेको छ । सोही कारण पनि नेपाल सरकारले सोनाम ल्होसार पर्वमा सार्वजनिक बिदा दिएको छ ।

ल्होसार पर्वहरू प्रारम्भमा जातीय पर्वका रूपमा मात्र सीमित रहेका थिए । तर यी पर्वहरू विस्तारै आम नागरिकका पर्वमा रूपान्तरण भएका छन् । ल्होसार पर्वहरू एकातिर राष्ट्रिय उत्सवका रूपमा विकसित भएकमा छन् भने अर्काेतिर नेपालीले टेकेको विश्वको कुनै पनि भूभागमा विस्तार भइरहेको छ । यसबाट नेपालको संस्कृतिको परिचय र भाइचारा सम्बन्ध समेत बढिरहेको छ भन्दा हुन्छ । यति मात्र होइन यस्ता चाडपर्वले राष्ट्रिय एकता सुदृढ पार्न तथा जातजातिबीच सामाजिक सद्भाव कायम गर्न भूमिका समेत खेलेका छन् । वास्तवमा नेपाल राष्ट्रको पहिचान र अमूल्य निधिका रूपमा रहेका मौलिक संस्कृतिहरूको संरक्षण तथा सम्बद्र्धन गर्न राज्यले विशेष पहल भने लिनै पर्दछ । 

सोमबार ६ माघ २०८२ ०८:२० AM मा प्रकाशित

प्रतिक्रिया