×

बाढी विस्थापितलाई बस्न र खानको समस्या

images

भजनी-  कैलालीको भजनी नगरपालिका– ८ की रुपा चौधरीको परिवार बाढीबाट विस्थापित भएर नजिकैको कृष्णधोज चन्द मावि विद्यालयमा बस्दै आएका छन् । 
    
वडाका एक सय परिवारको आश्रयस्थल त्यही विद्यालय बनेको छ । घर डुवानमा परेपछि ज्यान जोगाउन सुरक्षित स्थानमा स्थानान्तरण भएका स्थानीयलाई खाना र पानीको निकै समस्या भएको छ । “ज्यान जोगाएर सुरक्षित स्थानमा बसेका छौँ । ज्यान सुरक्षित छ । पानी र खानाको निकै समस्या भयो”, रुपाले भन्नुभयो, “खाना नभए पनि पानीविना निकै कष्ट भोग्नुपरेको छ । हाते पम्प डुबानमा छन् । जताततै डुबानमात्रै देखिन्छ । पानीको जोहो कतैबाट भए राहत हुने थियो ।” सो क्षेत्रमा डुबान विस्तारै कम हुँदै गए पनि स्थानीयलाई घर फर्कन अझै एक हप्ता लाग्ने उहाँले बताउनुभयो ।
   
भजनीकै पर्शुराम चौधरीले तीन दिनदेखि भोकै प्यासै बस्नुपरेको बताउँदै अहिलेसम्म कतैबाट पनि सहयोग नपाएको गुनासो गर्नुभयो । “जसोतसो ज्यान जोगियो । अहिले खुला आकाश मुनि बस्नुपरेको छ”, पर्शुरामले भन्नुभयो, “आफूसँग त्रिपाल पनि छैन । मागौँ भने सबैलाई आफ्नै समस्या छ । सरकारले त्रिपाल र पानी दिए पनि हामीलाई ठूलो राहत हुने थियो ।” उहाँले सडक आसपास बसेकालाई सहज भए पनि गाउँका बीचमा आश्रय लिएर बसेकाको जनजीवन निकै कष्टकर रहेको बताउनुभयो ।
  
गाउँको बीचमा आश्रय लिएर बसेका विस्थापितलाई राहत तथा पानी पु¥याउनसमेत निकै समस्या भएको छ । पैदल जानसक्ने अवस्था छैन । डुङ्गाको साहारामा विस्थापित परिवारलाई राहत पु¥याउन आवश्यक स्रोतको अभाव भएको स्थानीय जयप्रसाद ढुङ्गानाले बताउनुभयो । “हुलाकी सडकमा बसेका स्थानीयलाई नगरपालिकाले एकपटक पानी र चाउचाउ वितरण गरेको थियो । गाउँभित्र बसेकाले त्यो पनि पाएका छैनन्”, ढुङ्गानाले भन्नुभयो, “पैदल वा सवारीसाधन लिएर जान सकिने अवस्था छैन । जानका लागि डुङ्गा चाहियो । सहजै डुङ्गा उपलब्ध हुने अवस्था    छैन ।”
  
अझै भजनीमा एक वडाबाट अर्को वडामा सहजै जानसक्ने स्थिति छैन । एक गाउँबाट अर्को गाउँसम्म जानसक्ने अवस्था छैन । “आवागमननै प्रभावित भएको छ । प्रत्यक्ष सम्पर्क हुन सकेको छैन”, नगर प्रमुख केवल चौधरीले भन्नुभयो, “हामीले सम्बन्धित वडालाई जिम्मा दिएका छौँ ।” उहाँले तीन÷चार हजार जनसङ्ख्यालाई नगरपालिकाले मात्रै राहत वितरण गर्नसक्ने अवस्था नरहेको बताउँदै अन्य सङ्घसंस्थालाई समेत सहयोगका लागि आग्रह गरिएको बताउनुभयो । 
   
नगर प्रमुख चौधरीले डुङ्गा तथा बोट नहुँदा पनि प्रभावितलाई राहत पु¥याउन समस्या भएको बताउनुभयो । “नगरपालिकाका सबै वडा डुवानमा छन् । हामीसँग भएको चारवटा बोटमध्ये दुईवटा मात्रै सञ्चालनमा छन् । दुई बोटले सबै क्षेत्रमा पुग्न कठिन भएको छ”, नगर प्रमुख चौधरीले भन्नुभयो, “अन्य सङ्घसंस्थासँग सहयोग मागेका छौँ । दुईवटा बोट सहयोगगर्ने कुरा भएको छ । थप दुई वटा भए अलि सहज हुनसक्छ ।”
   
उता जोशीपुर गाउँपालिकामा भने जनजीवन सामान्य बन्न थालेको छ । गाउँपालिकामा बाढीका कारण एक हजारभन्दा बढी परिवार विस्थापित भएको बताउँदै गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीले विस्थापितको तथ्याङ्क लिने काम सुरु गरिएको बताउनुभएको छ । 

उहाँले पानी कम भएसँगै स्थानीय आफ्नो घर जानेक्रम चलेको बताउँदै विस्थापित परिवारलाई तथ्याङ्कका आधारमा गाउँपालिकाले राहत वितरणगर्ने बताउनुभयो । “पहिले तथ्याङ्क सङ्कलन गर्छौं । त्यसपछि राहत वितरणको काम गर्नेछौँ”, अध्यक्ष चौधरीले भन्नुभयो, “बाढी घटे पनि अवस्था सहज हुन अझै हप्तौँ लाग्छ । त्यहाँसम्म विस्थापितलाई गाउँपालिकाले आफ्नो स्रोतले भ्याएसम्मको सहयोग गर्छ ।”
  
 कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले अविरल वर्षाका कारण प्रभावित भएको कैलालीको जनजीवन सामान्य अवस्था फर्किन थालेको बताउनुभएको छ । उहाँका अनुसार वर्षा रोकिएपछि बाढीको मात्रा घट्दै जाँदा बाढी, डुवानबाट आंशिकरुपमा प्रभावित भएकाको जनजीवन सामान्य बन्दै गएको बताउँदै पूर्णरुपमा विस्थापितका लागि आवश्यक राहत तथा अन्य सहयोगका लागि समन्वय भइरहेको बताउनुभयो ।

“बाढीबाट बढी प्रभावित भजनी क्षेत्रका लागि नेपाल रेडक्रस र प्रदेश सरकारसँग समन्वय गरिरहेका छौँ”, प्रमुख जिल्ला अधिकारी थापाले भन्नुभयो, “हामीले स्थलगत अवलोकनपछि कताको अवस्था के छ भन्ने र त्यसैअनुसारको राहतको समन्वय गर्ने तयारी भएको छ ।” बाढीका कारण कैलालीमा दुई जनाले ज्यान गुमाएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो ।

आइतबार​ २ असोज २०७९ ०८:४६ PM मा प्रकाशित

प्रतिक्रिया