×

कृतिमाथिको टिप्पणी- बर्षादी दिनहरुमा भिज्दाको मज्जा

images

 साहित्यकार , चलचित्र निर्देशक, बरिष्ठ रेडियोकर्मी जस्ता तीन भिन्न आयाम प्रकाश सायमीका व्यक्तित्व र पहिचानका सशक्त पाटाहरू हुन् । उनी नयाँ पुस्ताका पहिलो रोजाईमा पर्न सर्वाधिक सफल र सक्रिय लेखक पनि हुन् । मूलत: आधुनिक गीत सङ्गीतकाे स्वर्णिम युग र अमर स्रस्टाहरूप्रतिको श्रद्धाभाव जन मानसको मन मस्तिष्कसम्म प्रवाह गर्न,स्थापित गर्न विगत लामो समयदेखि कटिबद्ध उनले निर्वाह गर्दै आउनु भएको  सञ्चारकर्मीको भूमिका उनको अर्को विशिष्ट पहिचान हो । लेखन, विद्वता , अद्वितीय स्मरणशक्ति र जादुमय आवाजका कारण सायमी बहु आयामिक व्यक्तित्वको रूपमा देश विदेशमा चर्चित र लोकप्रिय छन् ।
' बर्षादी दिनहरू ' निबन्ध सङ्ग्रह ( पहिलो संस्करण ) उनको एक सशक्त निबन्ध कृति हो ।

यी बाहेक ' अनन्त यात्रा ' ( मुक्तकसङ्ग्रह २०३९ ),  रे : दी म्यान अफ् सिनेमा ' ( जीवनीपरक अङ्ग्रेजी २०४९ ), चलचित्र कला र प्रविधि ( समीक्षा २०५० ) ई सलाईका काँटीहरू ' ( कवितासङ्ग्रह २०५६ )  फिल्म निर्माण र निर्देशन (  विवृत्ति ,प्रथम २०५७  संस्करण   ( निबन्धसङ्ग्रह २०६०) बर्षादी दिनहरू ( निबन्ध सङग्रह प्रथम २०६६ ,दोश्रो संस्करण २०६९ ) नेपाली सङ्गीतको एक शतक ( समालोचना २०६६ ) गालिबको चिहान ( कविता सङ्ग्रह २०६८ ) काठमाडौं सेल्फी ' ( २०७२ ) तथा काठमाडौं मोन्ताज् ( २०७५ ) प्रकाश सायमीका हालसम्म प्रकाशित कृतिहरू हुन् । यी बाहेक, उनका दर्जनौ लेख, रचनाहरू अन्नपूर्ण, कान्तिपुर, मधुपर्कलगायत थुप्रै पत्र पत्रिकाहरूमा प्रकाशित भइसकेका छन्।

अल्लारे उमेरदेखि नै हिन्दी सिनेमाका सौखीन सायमीमा पछिल्लो समय सिनेमाप्रति देखिएको अत्यधिक भोक र पागलपनले उनलाई  १३ जुलाई १९८५ को दिन भारतको बम्बई ( हालको मुम्बई ) शहर पुर्याई छाड्यो । उनी सिनेमा शास्त्रका बिद्यार्थीभएर बम्बई पुगेका थिए। प्रवासमा छँदा जीवनमा घटेका थुप्रै रोमाञ्चक र चुनौतीपूर्ण घटनाहरू मध्ये छद्मभेषी गुरू हरबिन्दरसिंह निरूलाजस्ता चतुर र धुर्त स्वभावका व्यक्तिसित उदर पूर्ति गर्ने उद्देश्यले एउटा सुटिङ भइरहेको स्टुडियोमा पुग्दा उनी कथित गुरूको इसारामा नक्कली ' सुरेन्द्र पाल ' बन्नु पर्दाको त्रासद अवस्थाको बयान रोचक र दयालाग्दो छ । यस्तै बम्बईको बसेरा, दिनचर्या, अभाव, साथीभाइहरूसितको उठबस र कतै  स्वागत कतै तिरस्कार भोग्नु परेका दिनहरूको तितो अनुभूतिहरूले 'बम्बई,गुरु र  शीर्षक निबन्धलाई मार्मिक तुल्याएको छ।

यस्तै, निबन्ध ' अज्ञात प्रदेशतिर ' मा मुम्बईमा छँदै उनले सिक्किममा छाँयाङ्कन ( नाम उल्लेख छैन )  हुने नेपाली चलचित्रमा सहायक निर्देशकको जिम्मेवारी पाएको र १५ जनाको सुटिङ युनिटसहित सिक्किमसम्मको पहिलो यात्रा गरेको घटना उल्लेख छ । उनको यो यात्रामा चर्चित अभिनेता मुरलीधर उनको निकटतम सहयात्री बन्न पुगेका छन् भने  अवलोकन गरेका नौलो स्थानहरू,नयाँ भूगोल, नयाँ परिवेश ,फरक संस्कृति र सिक्किमको प्राकृतिक सुन्दरता र त्यहाँका रैथानेहरूसित बितेका दिनहरूको वर्णन, सिक्किम वारेंको ब्याखा विश्लेषणले निबन्ध प्रसस्त  जानकारीमूलक  बनेको छ।

यसरी नै वि.स.२०४६ को पञ्चायती सरकार विरूद्धको आन्दोलनमा स्रष्टा,सर्जक, कलाकार स्वस्फूर्त रूपमा आन्दोलनमा होमिएको र त्रिचन्द्र कलेजको आँगनमा मुखमा पट्टी बाँधेर आफू लगायत गिरफ्तारी दिने तत्कालीन कवि लेखकहरू वासु शशी, पारिजात, युद्धप्रसाद मिश्र, दुर्गालाल श्रेष्ठ, कमल दीक्षित , आनन्ददेव भट्टआदिलाई उनले आफ्नो तेश्रो संस्मरण 'चैत्र तीनको सम्झना' मा स्मरण गरेका छन्।

' मेरा नजरमा रमण प्यारा छन् ' मा उनी रमण महर्षिको अनुयायी रहेको संकेत दिएका छन् भने यस क्रममा उनले समकालीन र  तत्कालीन सबैजसो प्रसिद्ध व्यक्तित्वहरूसितको आफ्नो सम्बन्ध र अनुभवको पनि खुलेर चर्चा गर्न भ्याएकाछन्।यस्तै, ' भैरवी थाटको सन्ध्यास्वर ' शीर्षकमा सायमी र गायक शैलेश सिंह काठमाडौं - भक्तपुर यात्रामा निक्लदाँको भ्रमण वृतान्त उल्लेख छ । लेखकले यो यात्राकालमा अम्बर गुरूङसित बिताएका रमाइला घटनाहरू संम्झेका छन् ।

भक्तपुरबाट फर्कने क्रममा गायक दीपक खरेलसित लोकन्थलीस्थित निवासमा भेट भएको र केहीक्षण महमिल समेत जमेको स्मरण गरेका छन् ।  कुनै समय वीरगन्ज साहित्य परिषदको अध्यक्ष र नेपाल कै पुरानो ठाकुराम बहुमुखी क्यामपसका सञ्चालक समितिका सदस्य समेत रहनु भएका क्याप्टेन जनक बहादुर राणाप्रति प्रभावित भइ सायमीद्वारा लिखित ' विविध भारती भर्सेज क्याप्टेन राणा ' शीर्षक निबन्धमा राणाले लेखकलाई कहिले सुरेन्द्र पालको नामले त कहिले विविध भारतीको नामले ठट्टापूर्वक सम्बोधन गरेको प्रसङ्ग उल्लेख छ ।

यसपछि ' बाँकी समय र सम्झना ' मा सायमीको कवि हरिभक्त कटुवालसित विभिन्न समयमा भएको भेट, हिमालय लोहनीद्वारा कटुवालमाथि नाटक मञ्चनको तयारी र कटुवालप्रति लोहनीको श्रद्धाभाव,आशक्ति र पागलपनको चर्चा, भोटाहिटीको हरिको भट्टी, असनको गोपाल दाइको भट्टी र कवि हरिभक्त कटुवाल  र नारायणगोपाल बीचको सम्बन्धका रोचक प्रसङ्गहरू जोडिएको यो निबन्ध पनि रोचक र पठनीय छ । आफ्नी पत्नी वसुन्धरा मानन्धरबाट मातृभाषा ( नेपालभाषा ) सिकेर नेपालभाषामा पहिलो उपन्यास ' मिसा ' प्रकाशित गर्न सफल र प्रेरक व्यक्तित्व धुँस्वा सायमीको व्यक्तिगत, साहित्यिक र सामाजिक जीवनवारें लेखकले खुलेरै चर्चा गरेका छन् ' धुँस्वा : कहिल्यै नझर्ने फूल ' शीर्षक निबन्धमा ।

वि.स. २०५६ मा कला केन्द्र पुस्तकालय गौर, रौतहटद्वारा धुँस्वा सायमी सम्मान कार्यक्रममा संयोगले मलाई पनि उपस्थित हुने सौभाग्य मिलेको थियो । त्यो नै मेरो धुँस्वा सायमीसितको पहिलो र अन्तिम भेट पनि थियो । यो निबन्धले उनको साहित्यिक व्यक्तित्ववारे धेरै कुरा पस्केको छ ।आख्यान पुरूष ध्रुवचन्द्र गौतमको व्यक्तित्व र कृतित्ववारें  सायमीले धेरैकुरा प्रष्ट्याएका छन् निबन्धमा, नाम सुनेका तर गौतमको व्यक्तिगत र कृतिबारे चासो राख्नेहरूलाई सायमीको यो निबन्धले धेरै हदसम्म मद्दत गर्ने देखिन्छ ।

यी बाहेक, हिन्दी साहित्यका लेखक कमलेश्वर भारतीय दूतावासको निम्तोमा काठमाडौं आउँदा भएको भेट र रोचक घटना प्रसङ्गले जुन सुकै पाठकलाई पनि कुतकुताएको हुनुपर्छ । यस्तै, बरिष्ठ गीतकार गुलजारसितको चर्चाआदि सन्दर्भ र उनको विशिष्ट लेखन शैलीका कारण उनको यो निबन्ध कृति उनकै शब्दमा भन्नुपर्दा एक कालजयी कृति बन्न सफल छ । यसो त निबन्धसङ्ग्रह ' वर्षादी दिनहरू ' को दोश्रो संस्करण परिमार्जित रूपमा बजारमा आइसकेको धेरै भइसक्यो ।

उनका कृतिबारे समीक्षा गर्न म जस्तो अल्पज्ञानी ,लण्ठु पाठकले दुस्साहस त गर्ने कुरै भएन , पाठकीय धर्म निर्वाह गर्दै मनमा लागेको कुरा व्यक्त गरेको मात्र हूँ । मबाट कतै त्रुटि गल्ती र अतिशयोक्ति भएको भए क्षमा याचना गर्दछु । र, मेरा आदर्श ,मेरा परम मित्र श्रद्धेय प्रकाश सायमीज्यूको प्रथमत: सुस्वास्थ्यको कामनाका साथै उनको कलमको तीव्रता झन् झन् बढदै जावोस् । उनीबाट अझ धेरै यस्ता उत्कृष्ट कृतिहरूको रचना हुन सकोस् । र, उनको नाम,यश, ख्याति र लोकप्रियताले शिखर चुमेको हेर्न सुन्न पाउँ भन्ने कामनाका साथ विश्राम लिएको छु ।
                                                            
 

शुक्रबार​ ३ चैत २०७९ ०१:३६ PM मा प्रकाशित

प्रतिक्रिया