×

प्रधानमन्त्रीसंग संवैधानीक आयोगका अध्यक्षहरुको भेट -आयोगका समस्या र चुनौतिबारे छलफल 

images


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संवैधानिक आयोगका अध्यक्षहरुले सामुहीक भेटगरि समस्या र चुनौतिबारे जानकारी गराएका छन् ।

आज दिउँसो प्रधानमन्त्री कार्यालय सिंदरबारमा पुगेर प्रधानमन्त्रीसंग भेट गरेका आयोगका अध्यक्षहरुले आयोगहरुमा आइपरेका समस्या र चुनौतिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । भेटमा उनीहरुले आयोगहरुको गठन धेरै ठूलो संघर्ष र बहस पश्चात भएको उल्लेख गर्दै आवश्यक साधन स्रोत र पूर्वाधार सहित व्यवस्थित गर्नुपर्ने आवश्यकता औल्याएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ

जवाफमा प्रधानमन्त्री प्रचण्डले संवैधानिक आयोगहरु सामाजिक विभेदहरुको अन्त्यका लागि शक्तिशाली संरचना भएकाले यसलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।   

उनले भनेका छन् ‘समुदायलाई अधिकार सम्पन्न गराउने यी आयोगहरुको उद्देश्य हो । त्यसका लागि अख्तियार, साधनस्रोत र तिनको सामाजिक प्रतिष्ठाको दृष्टिकोणले स्थापित गर्न राज्यले आवश्यक कदम चाल्नु पर्दछ र मात्र आयोगहरुले प्रभावकारी रुपमा काम गर्न सक्छन् ।’ 
आयोगका अध्यक्षहरुले मानव अधिकार सम्बन्धी आठ वटै संवैधानिक आयोग र यसमा नियुक्त पदाधिकारीहरुको लागि सेवा, शर्त र सुविधा निर्धारण गर्दा मर्यादाक्रम बमोजिम भएको नदेखिएकोले निर्दिष्ट मर्यादाक्रम बमोजिम हुने व्यवस्था गर्न प्रधानमन्त्री समक्ष आग्रह गरेका थिए । 

प्रधानमन्त्रीलाई भेट्न राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापामगर, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेना, मधेशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्त, थारु आयोगका अध्यक्ष विष्णु प्रसाद चौधरी, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीको लगायत सिंहदरबार पुगेका थिए । 
 

शुक्रबार​ ५ फागुन २०७९ ०९:५० AM मा प्रकाशित

प्रतिक्रिया