×

सबै खेल जित नजिक पुगेर हारिरहेका छाैँ, मैले पनि साेचेजस्ताे राम्राे गर्न सकेकाे छैन : सन्दीप

images

नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान सन्दीप लामिछानेले आईसीसी विश्व कप लिग–२ अन्तर्गतका खेलमा सबै खेल जित नजिक पुगेर हारेको बताएका छन् । अमेरिकासँगकाे खेलमा पराजित भएपछि सञ्चारकर्मीहरूसँग बाेल्दै उनले सबै खेल जित्ने अवसर रहँदा पनि ब्याटिङमा विकेटको नियन्त्रण गर्न नसक्दा हार्न बाध्य भएको बताएका हुन् । 

ब्याटिङमा साना गल्तीहरू भइरहेको भन्दै यसलाई सुधार गरेर अघि बढ्नुपर्ने कप्तान लामिछानेकाे भनाइ छ । आफूलाई साथ दिन अन्य स्पिनर बलरहरूले विकेट निकाल्न नसक्नु पनि थप समस्या बनेको उनले बताए । खेल हार्नुमा अनुभवी खेलाडीको कमी भएको र आफू पनि कप्तानमा नयाँ तथा सबै खेलाडी अनुभवहीन भएकाले सिक्दै अघि बढ्नुपर्ने उनकाे भनाइ छ । 

लामिछानेले भने, ‘जितको एकदम नजिक पुगेर हारिरहेका छौँ । हामीले सबै खेल जित्नुपर्ने हो । तर अन्तिममा गएर नियन्त्रण गुमाइरहेका छाैँ । मैले पनि सोचेजस्तो राम्रो गर्न सकेको छैन । आउँदा खेल हाम्रा लागि चुनाैतीपूर्ण हुन्छ । आउँदा खेलमा म आफ्नो तर्फबाट जतिसक्दो सुधार गर्नेछु ।’

आईसीसी विश्व कप लिग–२ त्रिदेशीय एकदिवसीय शृङ्खलाकाे अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको हाे । अमेरिकासँगको हारसँगै नेपाल १६ खेलबाट १५ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा रहेको छ ।

सात देश सम्मिलित समूह चरणमा ४४ अङ्कसहित ओमान शीर्ष स्थानमा छ । ओमानले लिग–२ अन्तर्गतका सबै खेल खेलिसकेको छ । त्यस्तै २० खेलबाट २८ अङ्कसहित स्कटल्यान्ड दोस्रो, २२ खेलबाट २६ अङ्क जोड्दै यूएई तेस्रो, २४ खेलबाट २३ अङ्कसहित अमेरिका चौथो स्थानमा छ । 

नेपालभन्दा मुनि छैटौँ स्थानमा १४ खेलबाट १४ अङ्क जोडेको नामिबिया र २० खेलबाट दुई अङ्क जोडेको पपुवा न्युगिनी सातौँ स्थानमा छन् । नेपालले अहिलेसम्म खेलेको १६ खेलमा सातमा जित र आठमा हार बेहाेरेकाे छ भने एक खेल बराबरी खेलेकाे छ । 

यो शृङ्खलाकाे आफ्नाे पहिलाे खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो । त्यस्तै तेस्रो खेलमा ओमानलाई सात विकेटले पराजित गरेको नेपालले चौथो खेलमा अमेरिकासँग ३९ रनको हार बेहाेरेकाे छ । 

बिहीबार २ असार २०७९ ०१:३० PM मा प्रकाशित

प्रतिक्रिया