×

नवौं राष्ट्रिय खेलकुद : महिला १०० मिटर दौडमा निशा चौधरीको राष्ट्रिय कीर्तिमान

images

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत शुक्रबार बिहानबाट सुरु भएको एथ्लेटिक्सको महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।पोखरा रंगशालाको ट्र्याकमा जारी दौडको १०० मिटर हिटमा निशाले निर्धारित दूरी १२.१० सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान बनाइन् । उनले १२.१५ सेकेण्डमा दौड पूरा गर्दै सन् १९९९ मा भएको आठौँ सागमा देवी माया पनेरुले राखेको कीर्तिमान तोडिन् ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको बृह्त उद्घाटनको भोलिपल्ट आजदेखि पोखरामा थप विभिन्न १२ खेल सुरु हुँदैछन्। असोज २३ देखि केही खेल सुरु भएकामा अधिकांश खेल उद्घाटनपछि सुरु हुने खेलतालिका छ। पोखरासहित प्रदेशका अन्य जिल्लामा पनि केही खेल यसअघि नै सुरु भएका छन्।

पोखरा रङ्गशालामा एथलेटिक्स, ब्याडमिन्टन कोर्टमा ब्याडमिन्टन, स्क्वास, उसु, आर्चरी मैदानमा आर्चरी, सफ्टटेनिस रङ्गशालाको टेनिसकोर्ट र पोखरा सभागृहमा शारीरिक सुगठनको खेल हुने खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले बताए। यसैगरी पोखराको फिस्टेल एकेडेमीमा पौडी, कोल्माबहाकोट समाजघरमा टेबलटेनिस, पोखरा उद्योग बाणिज्य सङ्घको हलमा भारत्तोलन, प्याराग्लाइडिङ पोखराको सराङकोट र महिला पुरुष रग्वी लेखनाथमा सञ्चालन हुँदैछ।

राष्ट्रिय खेलकुदका ३६ खेलमध्ये पुरुष क्रिकेट, क्रिकेट महिला, फुटबल महिला तथा पुरुष, भलिबल महिला, महिला तथा पुरुष ह्याण्डबल, फेन्सिङ, फुल कन्ट्याक्ट कराते, बुद्धिचाल, महिला तथा पुरुष हक्की, गल्फ, टेनिसलगायत खेल यसअघि नै सुरु भएका छन्। फेन्सिङ खेलको सबै विधाका प्रतिस्पर्धा सकिएर नेपाली सेनाको टोली पाँच स्वर्ण पदकसहित च्याम्पियन बनेको छ। 

हालसम्मको पदक तालिकामा विभागी नेपाली सेनाले अग्रता बनाएको छ। सेना पाँच स्वर्ण, छ रजत र सात कास्य पदकसहित शीर्षस्थानमा रहँदा बागमती प्रदेशले चार स्वर्ण, तीन रजत र एक कास्य गरी आठ पदक जितेर सेनालाई पछ्याइरहेको छ। सशस्त्र प्रहरीको एपिएफले दुई स्वर्ण चार रजत र सात कास्य जितेको छ।

सुदूरपश्चिम प्रदेश एक स्वर्ण र तीन कास्य, नेपाल प्रहरी एक स्वर्ण र एक कास्य, गण्डकी प्रदेश चार कास्य, प्रदेश नं १ तीन कास्य जित्दा कर्णाली, लुम्बिनी, मधेस प्रदेश र एनआरएनले पदकको खाता खोल्न सकेका छैनन्। गण्डकी प्रदेशका हिमाली जिल्ला मनाङ, मुस्ताङ र लमजुङबाहेकका अन्य आठ जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गतका खेल सञ्चालन गरिएको हो।

शनिबार २९ असोज २०७९ ११:१२ AM मा प्रकाशित

प्रतिक्रिया