काठमाडौं । कोशी प्रदेशमा शनिबार कांग्रेस संस्थापनइतर पक्षका ८ र एमालेका ३९ जना प्रदेशसभा सांसदहरूको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
कार्की कांग्रेस–एमालेका ४७ जना सांसदहरूको समर्थनमा मुख्यमन्त्री बनेलगत्तै प्रदेश प्रमुख प्रशुराम पापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार प्रदेश सांसद कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
कोशीबाट सत्तायात्राको कोर्ष आरम्भ भएको भन्दै एमाले मौन हर्षित बनेको छ । यद्यपि उसले खुलेर खुशी बाड्न भने सकेको देखिँदैन ।
किनकि उक्त प्रदेशमा एमालेसहितको समर्थनमा सरकार बनेको केही घण्टामै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस संस्थापनइतर पक्षका नेता डा.शेखर कोइरालाले गठबन्धनलाई थप बलियो र मजबुद बनाउने सर्तसहित सहमति पत्रमा हस्ताक्षर गरे ।
नेतात्रयबीचको उक्त सहमतिले कोशीमा एमाले झस्किएको छ । केन्द्रमा सत्ता गठबन्धनलाई थप बलियो बनाउने सर्तसहित सहमति भएपछि एमाले थप शसंकित बनेको हो ।
उसले सोचेजस्तो अनुकूल माहोल नभएपछि सत्तामा जाने वा नजाने भन्नेबारे निष्कर्षमा पुग्न अझैँ सकेको देखिँदैन । यद्यपि नवनियुक्त मुख्यमन्त्री कार्कीले क्रमशः कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । भेटवार्ताको क्रममा कोशी प्रदेशको सरकारबारे छलफल भएको बताइएको छ ।
छलफलमा एमाले अध्यक्ष ओलीले सरकारलाई बलियो र टिकाउ बनाउन आफूले कुनै कसुर बाँकी नराख्ने बताएका थिए । देउवाले भने संघीय सत्ता गठबन्धनकै कर्म र भावना अनुरूप प्रदेश सरकार गठन गर्न सुझाव दिएको स्रोत बताउँछ ।
देउवाले दिएको सुझावका आधारमा कोशी प्रदेश सरकारको विस्तार गर्ने अडानबाट मुख्यमन्त्री कार्की पछि नहटेको स्रोतले बतायो । उनले संघको सत्ता गठबन्धनको आधारमा प्रदेश सरकार बन्नेमा चट्टानी अडान नछाडेपछि एमाले सरकारमा सहभागी हुने सम्भावना टर्दै गएको छ ।
कार्कीलाई मुख्यमन्त्री बनाउन सघाएका कांग्रेस संस्थापनइतर निकट एक नेताका अनुसार आइतबार शपथ लिँदा कांग्रेसबाहेक एमालेका सांसदलाई सहभागी नगराउने उनले तयारी गरेको बताएका छन् ।
ती नेताले भने– ‘तत्काल एमालेका सांसदमध्येबाट केही मन्त्रीमा नियुक्त हुने हल्ला चले पनि त्यो सत्य होइन । किनकि मुख्यमन्त्रीज्यूले कांग्रेसका ८ जना सांसदमध्ये केहीलाई मन्त्री नियुक्त गर्ने तयारी छ । यद्यपि गठबन्धन दलका अन्य नेतालाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल भएको छैन ।’
तर, मुख्यमन्त्री कार्कीले संघीय सत्ता गठबन्धनकै आधारमा मन्त्रिपरिषद् विस्तार गरेमा एमाले सहभागी नहुने प्रष्ट देखिएको छ । कांग्रेस संस्थापन पक्ष, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) लगायतका दलहरूबाट पनि सांसदहरूलाई मन्त्रीमा नियुक्त गरेमा सरकारमा सहभागी नहुने एमालेको तर्क छ ।
एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले भने– ‘सरकारमा कांग्रेस र एमाले बाहेकका अन्य दलहरूलाई सहभागी गराउने निर्णयमा मुख्यमन्त्री पुग्नुभयो । यसो हो भने हामी सरकारमा सहभागी हुँदैनौँ र विश्वासको मत पनि दिँदैनौँ । मुख्यमन्त्रीको यो रणनीतिसँगै कोशीमा एमालेको सत्तायात्रामा ब्रेक लाग्ने प्रवल सम्भावना छ ।’
प्रतिक्रिया