×

त्यस प्रकारको लेखक देखि होशियार हुनुपर्ने भो

images

जिस्काउनुको पनि सीमा भन्ने हुन्छ ।  नियतमा खोट भएका लेखक पनि यो जगतमा हुंदो रहेछ । जव कसैले अनर्थ कुरा  बोलिरहेको पनि छैन र कहीं लेखेको पनि छैन । तापनि त्यसरी दूर्यश फैलाउने कुचेष्टा पनि मान्छेले किन गर्छन् होला ,अचम्म लाग्छ । कसैले  भन्दै नभनेको कुरा, लेख्दै नलेखेको कुरा लेख्यो भनेर मिथ्या हल्ला फैलाउनुको स्वार्थ के होला ? यसरी मिथ्याजनक कुरा लिएर हल्ला फिजाउन खोज्नु भनेको केवल बदनाम गराइदिनु मात्र हो । यस्तो प्रयास जो सुकैले गरेको देखियो भने पनि त्यो निन्दनीय कार्य हो भन्न सकिन्छ । 

यही सन्दर्भमा  इतिहासका थप पृष्ठहरु नामक पुस्तकमा “जयवर्मा र उनको समय” शीर्षकको लेखलाई यहाँ औंल्याउन सकिन्छ । यो पुस्तक साङ्ग्रिला पुस्तक प्रा.लि बाट वि.सं २०७७ साउनमा प्रकाशित भएको हो । यस पुस्तकका लेखक डा. गोविन्द टण्डन हुनुहुंदो रहेछ । उहाँलाई इतिहास संस्कृतिको फाँटका सज्जनहरुले नचिनेको अपरिचित व्यक्तित्व भने  होइनन् ।

उक्त शीर्षकको लेखमा लेखकले जयवर्माको बारेमा आफनो छुट्टै धारणा बनाउन खोजेको देखिन्छ ।  उहाँले  त्यो धारणा बनाउन पाउनु हुन्छ अवश्यै हो । तर अरुलाई नभएको मिथ्या दोषारोपन गरेर होइन । त्यस लेखमा दिइएको मिथ्या उद्धरण यस्तो छ

पुरातत्व विभागका लिपि विशेषज्ञ श्यामसुन्दर राजवंशी पादपीठमा  उल्लिखित संवत् शकसंवत् हो भनी यसलाई लिच्छविराजा मानदेव प्रथमभन्दा २७४ वर्ष अघिको हो भन्ने दृढता व्यक्त गर्नु हुन्छ ।

(टण्डन,२०७७,पृष्ठ २०४)
माथिको उद्धरणले पुरातत्व विभागलाई पनि नराम्रो संग जिस्काइएको छ र त्यसै विभागका, लिपि विशेषज्ञ पद धारण गरेर बसेका श्यामसुन्दर राजवंशी भनेर समेत खिल्ली उदाउन खोजेको प्रतित हुनआएको छ । जवकि पुरातत्व विभागबाट छापिएका हरेक लेख मात्र होइन अपितु अरु पनि सवै लेखमा लिच्छविकालमा चलेको संवत् शकसंवत होइन भन्दै प्रतिबाद गर्दै आएको व्यक्ति(श्यामसुन्दर राजवंशी) हो जसले शकसंवत् हो भनी लेखेको हुंला भनेर सोच्नै सकिन्न र त्यो कुरा  सपनामा पनि नचिताएको कुरा बडो उपहास गरीकन त्यसतो लेख्यो भन्दै खिल्ली उदाउनुको आसय उचित होइन भन्ने स्पष्ट हुन्छ । 
 

अर्को मिथ्या उद्धरण
शङ्करमान राजवंशीको भनाइचाहिं उक्त अभिलेखमा उत्कीर्ण संवत् १०७ लिच्छविसंवत् हो त्यसमा २२ घटाए पछि शकसंवत् हुन्छ  भन्ने छ । 

(टण्डन,२०७७,पृष्ठ २०४)
माथिको यो उद्धरण पनि  आपत्तिजनक नै छ । यसले साधारण पाठकहरुको अगाडि राजवंशी बावु छोरा दुवैलाई बेवकूफको संज्ञा दिन खोजेको नियत प्रष्ट हुन आउंछ । किनभने शङ्करमान राजवंशीले लिच्छविकालमा चलेको संवत् शकपूर्व २२ को हो भनी लिच्छविसंवत्को निष्कर्षमा आफ्नो मत जाहेर गर्नु भएको हो । प्राय लेखकहरुले लिच्छविकालको अभिलेखमा उत्कीर्ण भएका संवत्लाई नै शकसंवत् मान्दै आएको हो । उहाँको पुस्तकलाई अध्ययन नै नगरी जे पायो त्यही लेखेर उत्पताङ्ग किसिमले अफवाह फैलाइ दिन खोज्नु पनि उचित कुरो हुंदै होइन ।

यसरी अरुलाई भए नभएको कुरा अघिसारेर तल खसालेर लेखेपछि आफनो भनाइ र धारणामा चारचाँद लाग्ला भनेर सोचेको होला । त्यो उहाँको दिवा स्वप्न मात्रै हुने हो । फेरि उहाँले कुन चाही प्रभुलाई खुसी पार्न यो सव लेख्दै आएका हुन्  त्यो पनि उही पुस्तकको अर्को लेखमा अभिव्यक्त गरिएका पृष्ठपोषित कुराहरु यसप्रकार छन्-

मानदेवको संवत् ३८६(वि.सं ५२२) को चाँगुनारायणको अभिलेखमा वृषदेवदेखि लिच्छविवंशको शुरुवात गरिएको  छ । 
(टण्डन,२०७७,पृष्ठ १८६)

.....शकसंवत् मान्दा नेपालको इतिहासको कुनै हानी हुने होइन । छिमेकी भारतमा धेरै अगाडिदेखि यसको प्रचलन थियो । त्यसको प्रभाव नेपालमा पनि पर्नु कुनै नौलो कुरा होइन । 

(टण्डन,२०७७,पृष्ठ १८७)
यद्यपि वि.सं ९३७ देखि नेपालमा नेपालसंवत्(पहिले यसको नाम पशुपतिसंवत्) प्रचुर मात्रामा व्यवहृत भएको कुरा प्राप्त कैयन हस्तलिखित ग्रन्थहरुबाट थाहा हुन्छ । तैपनि शकसंवत्को प्रचलन कम थिएन ।

(टण्डन,२०७७,पृष्ठ १८७)

......इतिहासको स्पष्टरुप शकसंवत् मान्दा हुने भएकोले शंका उपशंका उठाइ सङ्ग्लेको इतिहासलाई धमिल्याउन खोज्नु  तर्कसंगत देखिंदैन । 

(टण्डन,२०७७,पृष्ठ १८७)
माथिका यी उद्धरणहरुबाट  उहाँले आफनो प्रभुलाई खुसी पार्न यो सव लेख्दै आएका रहेछन् त भन्ने पनि घाम जत्तिकै छर्लड्डै भएको छ । 

शकसंवत् मान्दा आपत्ति हुने होइन र शकसंवत् मान्दा इतिहास सङ्ग्लेको भए चाँगुनारायणको संवत् ३८६ लाई शकसंवत् मान्दा उहाँका प्रभुलाई नै आपत्ति हुन गयो किन ? र इतिहास धमिलेको देख्न परेको किन ?  यसको जवाफ उहाँले आफनै प्रभुहरुसंग सोध्ने आँट गर्नु पर्दथ्यो तर गरिएन । किनकि संवत् ३८६लाई नै खुद शकसंवत् मान्दा तद्नुसार  वि.सं ५२१ मात्र हुनुपर्ने हो तर वि.सं ५२२ कसरी हुन आयो ? किनभने संवत् ३८६ लाई शकसंवत् मान्दा अरुलाई भन्दा पनि उहाँको प्रभुलाई नै आपत्ति भएको हो । कुनै पनि शास्त्रहरुमा शकसंवत्मा १३५ जोड्ने बाहेक अरु प्रावधान दिइएको छैन यो सवैलाई थाहा छ । लिच्छविकालमा चलेको संवत् कार्तिकबाट शुरु हुने संवत् भन्ने पनि उहाँका प्रभुहरुलाई राम्रोसंग थाहा छ । त्यही भएर ३८६ कार्तिक देखि ३८६ चैत्र सम्म त्यसमा  १३५ जोड्दा वि.सं ५२१ हुने भएकोले वैशाख देखि ५२२ हुने भन्दै वैशाख देखि असोज सम्म ३८६ मा १३६ जोडेर वि.सं ५२२ हुने भनी उहाँका प्रभुले जालीयुक्ति बताएको छ । यदि वैशाख देखि ३८६ मा १३५ जोड्ने हो भने कार्तिक देखि चैत्र सम्म १३४ मात्र जोड्नु पर्ने हुनजान्छ  । तर कुनै पनि शास्त्रहरुमा शकसंवत्बाट विक्रमसंवत् बनाउन यसरी १३४ र १३६ जोड्ने प्रावधानहरु दिइएको छैन । यसबाट शकसंवत् मान्दा हानी किन र धमिलेको किन भन्ने कुराको सटिक जवाफ यही उदाहरणले नै काफी भएको छ ।  

कागले कान लग्यो भन्दा कान छाम्ने हो कागको पछि डौदने बिल्कूल होइन । नेपालसंवत्को शुरु वि.सं ९३६ कार्तिकमा भएको हो । उहाँका प्रभुले ९३७ भन्यो भन्दैमा त्यसको पछाडि डौदन पाइने होइन  । यसरी काग कै पछि डौदेसरि उहाँ पनि नेपालसंवत्को शुरु वि.सं ९३७ मान्न पुगेको छ । यहाँ कान छाम्ने भनेको शक ८०१ कार्तिकशुक्ल प्रतिपदाको दिन नेपालसंवत् आरम्भ भएको हुनाले यही शक ८०१ मा १३५ जोडे वि.सं ९३६ र ७८ जोडे पछि इस्वी ८७९ हुने भएको हो । यो सिद्धान्त विश्वका हरेक विद्धानलाई राम्ररी थाहा छ । तर उहाँका प्रभुहरुलाई यो कुरा थाहा छैन भनौ या बूझ पचाएको भनौं कुरो एउटै हो  । त्यसैले इतिहासमा यसप्रकारको अंधभक्त हुनु राम्रो होइन । यसले उहाँका प्रभुको खुसामद त भयो होला । तर उहाँ स्वयंको विद्वतामा प्रश्न चिन्ह लागेको चाल पाउनु भएन । 

त्यस कारण अरुलाई खसाल्नको लागि उद्यत भइ त्यसरी भएनभएका कुरा उछालेर खिल्ली उदाउनु भनेको अरुलाई खसाल्न बनाएको खाडल मात्र हो । त्यो खाडलमा उहाँ स्वयं परेको पछि चाल पाउनु होला । 

जयवर्मा कै मूर्तिका बारेमा के कुरा अर्थ र के कुरा अनर्थ

जयवर्माको सालिक मूर्ति मानव कद भन्दा पनि अग्लो  हुनु भनेको साधारण व्यक्तिको सालिक होइन । अर्को कुरा मूर्तिमा स्पष्ट राजसी भेषभूषा भएको राजपुरुष हुनाले जयवर्मा राजा नै हुन् भन्नेमा कुनै शंका उपशंका गरिरहनु पर्दैन भन्ने स्पष्ट छ । कुनै सन्यासी महात्मालाई सम्वोधन गर्दा महाराज भन्नु , कुनै विद्धान ब्राह्मणलाई महाराज भनेर सम्वोधन गरिनु र श्री ३ राणा प्रधानमन्त्रीलाई पनि महाराज भनेर सम्वोधन हुनुको सादृश्यता यहाँ जयवर्माको मूर्ति सितको  जोड्न खोज्नु कुनै तर्कसंगत होइन  । 

प्रथम द्वितीय शताव्दी तिरको गजलक्ष्मीको मूर्ति, मातृकाको मूर्ति स्तन ठूलो हुने कल्ली बाजु लगाउंदा मोटोसेल जस्तो गहना हुनु पर्नेमा जयवर्माको मूर्तिमा त्यस्तो झलक देख्न पाइन्न जस्ता तर्क को पनि कुनै तूक छैन । छिमेकी भारतमा प्रथम शताव्दी र द्वितीय शताव्दीका राजसी मूर्तिमा पनि त्योकुरा खोज्ने हो भने त्यहाँ पनि पाइन्न भन्दैमा ती पनि आठौं शताव्दीको भन्नु तर्कसंगत होइन । 

शुरुमा जमिनबाट झिकदाको अवस्थामा जयवर्माको पादपीठको अभिलेखका अक्षर जस्तो किसिमको थियो पछि ती अक्षर सावुत अवस्थामा रहेन । किनकि धेरै मान्छेले छोएर मात्र होइन नङ्ले घोटेर अक्षर बिगारेको हुनाले  हाल राष्ट्रिय संग्रहालयमा गएर हेर्ने हो भने पूर्व अवस्थाको लिपि छैन । त्यसैले हालको लिपि हेरेर अध्ययन गर्दा दोस्रो शताव्दीको अक्षरजस्तो देखिंएन भन्नु कुनै तार्किक कुरा होइन । 

पादपीठ अभिलेखमा संवत् शव्द लेखिंदा सं व त् मा तको हलन्त अक्षर आठौं शताव्दीको अभिलेखसंग छेउटुप्पो केही मिल्दैन । त्यस्तै सयको अंक सातको अंक, श्री परमदेवप्क जस्ता यस अभिलेखका बाक्याँश, महाराजस्य जयवम्र्मण का अक्षर आठौं शताव्दीका अक्षरलिपिसंग समकालिक जनाउने कुरा तुलनात्मक रुपमा  अध्ययन गर्ने हो भने आनका तान फरक छन् । जुन कुरा हरेकले एकातिर महलमा जयवर्माको अभिलेखमा भएका  अक्षर अर्को महलमा नरेन्द्रदेव पछिको लिपिका अक्षर राखेर सहजै तुलना गर्न सकिने कुरा हो ।

 लिच्छविकालका अभिलखमा किन्नर वर्मा देखि चन्द्रवर्मा विप्रवर्मा लगायत सवैवर्माहरु राजा होइन स्वयं अंशुवर्मा पनि शुरुमा सामन्त पछि महाराजाधिराज भएको हुनाले महाराज जयवर्मा पनि राजा होइनन् भनी अनुमान गर्नु पनि एउटा भनाइ हुन सक्छ  तर साँँच्चै यसलाई तर्कसंगत मान्न सकिने आधार चाही होइन  । त्यसरी एकांगी भएर सोच्न मिल्दैन । कतिपय मूर्तिकलाका पारखीहरुले  जयवर्माको सालिकको अध्ययन गर्नेहरुले दोस्रो शताव्दीको कला भनेरै विश्लेषण गरेका छन् । ती विद्वानहरुले गरेको विश्लेषणलाई चुनौति दिन लायकको तर्क कुनैपनि उहाँले आफनो लेखमा अघिसार्न सकेको छैन  ।
 

जयवर्माको मूर्तिको तथ्यता
वि.सं २०४९ साल वैशाखको उत्तरार्धमा जयवर्माको मूर्ति फेला परी पुरातत्व विभागलाई बुझाइएको हो । त्यतिवेला मूर्ति धेरै टुक्राटुक्रा भएको अवस्थामा पाइएको हो । पछि सवै टुक्राजोडिए पछि मूर्तिको उचाइ १७१ सेण्टिमीटर अग्लो र  चौडाई ४९ सेण्टिमीटर हुन आएको हो । मूर्तिको पादपीठको भागमा एक हरफ अभिलेख पनि पाइएको हो । अभिलेखमा संवत् १०७ अंकित पाइएको र सालिक मूर्तिको नाम महाराज जयवर्मा भनेर स्पष्ट उल्लेख पाइएको हो । गोपाल राजवंशावली लगायत अरु पनि धेरै वंशावलीहरुमा प्रथम लिच्छवि वंशका राजा सपुष्प देव वर्माको नाम उल्लेख आएको पाइन्छ र उनका पाँचौं पुस्ताको राजाको नाम जयवर्मा उल्लेख भएको पाइन्छ । वंशावलीमा रहेको यो नामलाई यस अभिलेखले पुष्टि गरेकोले जयवर्माको ऐतिहासिकतालाई प्रमाणित गरेको हो । यो कुरा कुनै मनगढन्त धारणामा आधारित होइन । किनकि ती वंशावली जयवर्माको मूर्ति भेटी सकेपछि लेखिएका स्रोत होइनन् । यसलाई काट्ने तर्क कसैले बुन्न सकेको छैन । 

समस्या
संगत अनुसारको फल हो जस्तो लाग्छ । सुनिन्छ अहिले पनि हिमाली भेकका बासिन्दाहरु वर्षको एकचोटी नुहाउने मान्छे पनि सुग्घरी ठहरिन्छ रे । कोही मान्छे दिनदिनै नुहाउनु पर्ने मान्छे भएपनि हिमाली भेकमा बस्ने गरेपछि उ पनि मुस्कीलले वर्षको एक चोटी नुहाउने गर्छ रे । भनाइको अर्थ संगत र वातावरणले कस्तो प्रभाव पार्दो रहेछ भन्ने नै हो । 

ज्योतिष ग्रन्थ, गणित आदिहरुबाट प्रमाणित भइसकेको कुराहरुलाई शंका उपशंका उठाइ समस्याको रुपमा तेर्साउने प्रयास गर्नु हुने छैन....
(टण्डन,२०७७,पृष्ठ १८९)

ज्योतिष ग्रन्थ,गणित आदिहरुबाट प्रमाणित भइसकेको कुरा जुन भनियो यसमा  आँखा चिम्लेर विश्वास गरिनु नै मुख्य समस्या हो । किनभने ज्योतिष ग्रन्थ भन्नाले सुमतितन्त्र लाई भनेको हो । जुन सुमतितन्त्रमा सूर्यसिद्धान्त छ त्यो सिद्धान्त अपनाइएकै छैन । कसरी ज्योतिष ग्रन्थबाट प्रमाणित भइसकेको भन्न सकेको हो अचम्म छ । गणित भनौं भने ३९० तिथि वा दिन भएको पंचांग यो संसारमै उत्पत्ति भएको छैन । किनकि  त्यो गणित मा ३९० दिन वा तिथि भएको मान्यतामा आधारित छ । त्यो भनेको माघ शुकल त्रयोदशीलाई ३४३ तिथिगण मान्नु भनेकै चान्द्रमासमा ३९० र सौरमासमा ४०० दिन भएको काल्पनिक धरातलमा उभेर गरिएको गणित बास्तवमा गणित भन्न मिल्दैन । अर्को वैशाख शुक्ल सप्तमिको गणित गर्दा नक्षत्रको महलमा पुनर्वसु नक्षत्र आएको हिसाव छ तर पुष्य नक्षत्र आयो गणना ट्वाक्क मिल्यो भनेको छ । यसरी देखाउने शास्त्र एउटा अपनाउने शास्त्र अर्को गर्ने र कुटिल गणितलाई गणित भनेर पत्याएर गणितबाट प्रमााणित भइसकेको भन्नु लज्जास्पद कुरा मात्र हो ।


त्यसकारण समस्या भने कै सीमित घेरा भित्र बसेका समूहमा हरेक दिन यही कुटिल गणित र सुमतितन्त्रको बखान गरी थपडि बजाएर बस्दा वातावरण नै दूषित भइसकेको अत्तोपत्तो केही नपाए पछि जसरी  हुन्छ अरुको लेखाइमा झुठ्ठा कुरागरी खिल्ली उडाइ दिने र आफनो प्रभुको पिठो बिकाइ दिने दाउ गर्नु ठीक होइन । उहाँका प्रभुले त स्याबासी देला तर दुनियाँको अगाडि मुख देखाउने कसरी हो ? त्यो पनि विचार गर्नु पर्ला जस्तो लाग्छ ।

निष्कर्ष
कहीं नबिकेको पिठो भने जस्तै संसारमा कुनै शास्त्र र पंचागमा ३९० दिन भएको वर्ष नभए पनि छ भन्नु र जुन सुमतितन्त्रको सूर्यसिद्धान्त नै उपयोगी छैन भनी त्याग्ने अनि त्यही सुमतितन्त्रबाट गणना गरेको भनी झुठ्ठा एवं कपटपूर्ण गणना गरिएको लाई बजारमा ल्याएर बिकाउन  खोज्दै गर्दा  दुनियाले त्यो कालो बजारी गरेको अहिले आएर सवैले थाहा पाइसके । यसको पनि हेक्का राख्दै गर्दा राम्रो होला ।

यदि प्राचीन मूर्तिकला र प्राचीन लिपिका बारेमा राम्रो दख्खल छैन भने नलेख्दा पनि हुन्छ  । तर यसमा रुचि छ भने राम्रो अध्ययन गर्नु  भएको भए उचित हुने थियो । तापनि केही फरक विचार राख्न चाहेको छ भने पनि केही छैन राखुन् तर कसैले भन्दै नभनेको लेख्दै नलेखे कुरा लेख्यो भनेर चाहीं लेखी बदनाम गराइ दिने नियत कहिल्यै नगरियोस् । यसतो धृष्टता गर्दा उहाँका प्रभुबाट स्यावासी त अवश्य मिल्ला । यसरी उहाँले राजवंशी बावु छोरालाई पातालमा पुर्याउने भनी जुन  धृष्टता गरियो  । त्यो कदापि बिर्सन लायक र क्षम्य होइन भन्ने लागेको छ । त्यस प्रकारको लेखकको कृयाकलाप पनि यो दुनियाँमा हुंदो रहेछ त्यसैले त्यसप्रकारको लेखकदेखि सावधान रहौं होसियार बनौं । सत्य मेव जयते ।

 फोटो नं १


यसमा राजसी पहिरणमा राजपुरुष जयवर्माको सालिक मूर्ति प्रष्ट झलक पाइन्छ । अतः कुनै ब्राह्मण,कुनै सन्यासी र कुनै राणा प्रधानमन्त्रीको सादृश्य देख्दिन । 
फोटो नं २

जयवर्माको मूर्तिको पादपीठको अभिलेख हाल जस्तो किसिमको देखिने हो । यसमा धेरै अक्षर बिग्रीसकेको देख्न सकिन्छ ।

फोटो नं ३


जयवर्माको मूर्तिको पादपीठको अभिलेख जुन जमिनबाट निकालेर ल्याइसकेपछि सवभन्दा पहिले लिइएको छापा उतारको प्रतिलिपि हो ।
 
 
 

शुक्रबार​ २९ भदौ २०८० ०४:१६ PM मा प्रकाशित

प्रतिक्रिया