काठमाडौं । आज जितिया पर्व मनाइदै छ । विशेष गरी थारु समुदायका महिलाहरुले तीन दिनसम्म मनाउने यो पर्वको आज (उपवास) व्रतको मुख्य दिन हो । थारु समुदायले मनाउने प्रमुख चाड मध्येको जितिया पर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ ।
जितिया पर्वको अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै र गाउँदै जितिया मनाउने परम्परा छ । वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बी महिलाहरुले मनाउने तीज जस्तै थारु समुदायमा पनि जितिया पर्वलाई अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान र सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा रहेको छ ।
व्रतालु महिला आज बेलुकीपख पुनः खोला, नदी तथा तलाउमा गई पिनाले नुहाएर पातमा पिना बगाउँछन् । त्यसपछि साँझपख सबै व्रतालुहरू जम्मा भएर कथा श्रवण गर्ने प्रचलन रहीआएको छ ।
को हुन जिमूतवाहन ?
भविष्यपुराणमा उल्लेख गरिएअनुसार राजा शालिवानका पुत्र जिमूतवाहनमाथि महादेवको असिम कृपा थियो । महादेवले नै जिर्मूतवाहनलाई बरदान दिएकाले सन्तानको अकाल मृत्युबाट बचाउनका लागि जितिया पर्वमा जिर्मूतवाहनको पूजा गरिन्छ । हिन्दूधर्ममा विभिन्न जनाबर र चराको विशेष महत्व दिएर पूजापाठ गर्ने परम्परा छ । गाई, परेवा, काग, कुकुर, हाँस, बाघ र मुसो लगायतको पूजा गरिन्छ भने यस पर्वमा स्यालनी र चिलको पूजा गर्ने गरिएको हो ।
वर्त बसेको दिनमा वर्तालु महिला जलाशयमा स्नान गरी सूर्यदेवलाई अघ्र्य अर्पन गर्छन् । त्यसपछि, घर पुगेर डाली (टोकरी) भर्ने नियम रहेको छ । सो डालीमा फलपूmल, मिठाइ र नरिवल राखेर नयाँ बस्त्रले छोपेर पूजास्थलमा राख्ने गरिन्छ । पर्व सम्पन्न भएपछि नवमी तिथिमा पूजापाठ गरेर छोराछोरीबाट कपडा हटाएर प्रसादको रुपमा ग्रहण गरिन्छ ।
उपवासको दिन वर्तालुका साथै महिला एक ठाउँमा भेला भएर जितिया पर्वको कथा अनिवार्य रुपमा श्रवण गर्ने गरिन्छ । कथा श्रवण गरेर घर फर्केपछि आगनमा गाईको गोबरले लिपपोत गरी महादेवले पार्वतीलाई सुनाएको पूजाको विधिअनुरुप जिर्मूतवाहनको पूजा गर्छन् ।
जितिया पर्वको कथा
भविष्यपुराणमा वर्णन गरिएअनुसार, कनकावती नगरको मध्यभागस्थित नर्मदा नदीको डिलमा एक पाकरीको रुख थियो । सो रुखको फेदमा स्यालनी र हाँगामा चिल बस्थे । दुइटैकोबीच घनिष्ट मित्रता थियो । एक दिन जितिया पर्व मनाउने वर्तालु नर्मदा नदीमा स्नान गरी सोही रुखमुनि बसेर जितिया पर्वको कथावाचन गरेका थिए ।
पर्वको महत्वको सम्बन्धमा सुनेर स्यालनी र चीलले जितिया पर्व मनाउनका लागि उपवासमा बस्ने निर्णय गरे । सोही रात नर्मदा नदीको डिलमा एक व्यापारीको छोराको दाहसंस्कार गरियो । मृतकको आफन्त शवको अधिकांश भाग जलेपछि, घर फर्के । स्यालनीलाई मृतकको मासु खाने इच्छा भयो । चीललाई थाहै नदिइ स्यालनीले मासु खाए र केही लुकाएर पनि राखे । यी घटना चीलले हेरिरहेको थियो । स्यालनी र चीलको मृत्यु भएपछि दुबैको भाष्कर नामक ब्राह्मणको घरमा कन्याको रुपमा जन्म भयो । चिलको शीलावती र स्यालनीको कर्पुरावतीको रुपमा जन्मभयो ।
जेठी शीलावतीको धनवानको घरमा र कर्पुरावतीको राजपरिवारमा विवाह भयो । जेठी शीलावतीलाई सात छोरा भयो तर, कान्छी कर्पुरावतीलाई छोरा भए पनि क्रमिक रुपमा मृत्युवरण गर्दै गयो ।
सोही कारणले कर्पुरावतीको जेठी शीलावतीसँग सम्बन्ध चिसिँदै गयो । केही समयपछि, जेठी शीलावतीले पूर्वजन्मको घटना कर्पुरावतीलाई सुनाउँदै वर्त भङ्ग गरेको कारणले छोरा जीवित नरहेको जानकारी गराइन् । सोही कारणले यो पर्व मनाउने बाचुञ्जेलसम्म पर्व खण्डित नहुने गरी नियमनिष्ठाका साथ मनाउने गर्छन् ।
प्रतिक्रिया