×

बाहिरी चक्रपथको बारेमा कुरा धेरै गर्‍याैँ तर प्रक्रिया केही पनि अगाडि बढेको छैन : मन्त्री झाँक्री

images

 सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बाहिरी चक्रपथ निर्माण बनाउनका लागि अहिले कुनै पनि काम हुन नसकेको बताउनुभएको छ । 

आज बुधवार प्रतिनिधि सभाको बैठकमा आउँदाे वर्षको विनियोजित बजेटमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री झाँक्रीले यस्तो बताउनुभएको हो । अहिले बनाउने भनिएको ठाउँमा बाहिरी चक्रपथ बन्ने हो कि होइन भन्नेमा अन्याेल रहेको उहाँकाे भनाइ छ ।  

मन्त्री झाँक्रीले काठमाण्डाै उपत्यकामा चार वटा स्याटलाइट सिटी बन्ने भने पनि बन्न नसकेको बताउनुभयो । त्यसका लागि उत्तरपूर्वी ईशान सहरको भौतिक योजना तयार भएर मन्त्रिपरिषदमा जाने प्रक्रियामा रहेको उहाँले बताउनुभयाे । उहाँले बाँकी तीन वटा सहरको सम्भाव्यता अध्ययन कार्य भइरहेकाे उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बाहिरी चक्रपथको बारेमा हामीले धेरै कुरा गर्‍याैँ तर प्रक्रिया केही पनि अगाडि बढेको छैन । जुन ठाउँमा बाहिरी चक्रपथ बन्ने भनिएको थियो, त्यो ठाउँबाट बाहिरी चक्रपथ बन्छ कि बन्दैन भन्ने कुरामा शङ्का छ । काठमाण्डाै उपत्यकामा चार वटा स्टालाइट सिटी बन्ने भनिएको थियो । योभन्दा अगाडि गफ धेरै भएको थियो तर धेरै काम भएको थिएन ।’

मन्त्री झाँक्रीले युटिलिटी करिडोरको कानुन चालु आवमा संसदमा ल्याउने तयारी रहेको बताउनुभयो । उहाँले यो कानुन बनेमा सडक बन्ने र खन्ने क्रम तत्काल रोकिने बताउनुभयो । सडकदेखि बाटोका झुन्डिएको तारको व्यवस्थापन पनि यसले गर्ने कुरा अन्योल रहेको भन्दै नयाँ ऐनले सबै व्यवस्थापन गर्ने उहाँले दाबी गर्नुभयो ।

मन्त्री झाँक्रीले नगर विकास कोषलाई छुट्टै २० अर्ब रुपैयाँको पुँजी भएको वित्तीय निगम बनाएर नगर विकासको काम गर्ने ऐन ल्याउन लागेको बताउनुभयो । उहाँले याे कानुन मन्त्रिपरिषदबाट पास गरेर कार्यान्वयनमा ल्याउने तयारीमा सरकार रहेको बताउनुभयो ।

मन्त्री झाँक्रीले सरकारी भवन निर्माणमा एकरूपता ल्याउन नीतिगत व्यवस्था गर्न लागेको पनि बताउनुभयो । उहाँले देशभर झन्डै ३२ वटा सभा हल निर्माण सम्पन्न हुने क्रममा रहेको बताउनुभयो । मन्त्री झाँक्रीले सुरक्षित नागरिक आवास कार्यक्रमलाई नहटाइएको समेत जिकिर गर्नुभयो । 

बुधबार १ असार २०७९ ०५:०६ PM मा प्रकाशित

प्रतिक्रिया