काठमाडौँ । नेकपा एमालेले अहिले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत बिहान ८ बजेबाट सुरु हुने भनिएको बन्दसत्र समय सरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएपछि बिहान ८ बजेका लागि बोलाइएको बन्दसत्र मध्याह्न १२ः३० बजेको लागि सारिएको हो । यद्यपि नेता कार्यकर्ताहरू बन्दसत्र स्थलमा भेला हुने क्रम जारी छ ।
यसै क्रममा बोलाइएको केन्द्रीय कमिटी मार्फत अध्यक्ष ओलीले विभिन्न प्रस्ताव अघि सार्ने भएका छन् । ओलीको प्रस्ताव केन्द्रीय कमिटी हुँदै बन्दसत्रमा पेस हुनेछन् ।
एमालेको अध्यक्षमा ओली र ईश्वर पोखरेलले दाबी गरेका छन् । नयाँ नेतृत्व चयन गर्दै जारी महाधिवेशन सोमबार समापन गर्ने तयारी छ ।
यो केन्द्रीय कमिटीको अन्तिम बैठक हो। बन्द सत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। भदौमा भएको विधान अधिवेशनमा पारित प्रतिवेदनलाई जेन-जी आन्दोलनको परिस्थिति समेटेर तयार गरिएको छ।
प्रतिवेदन पेश भएपछि नेतृत्व चयनको लागि निर्वाचन प्रक्रिया अघि बढ्ने छ। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बन्द सत्रको अध्यक्ष मण्डलले निर्वाचन प्रक्रिया अघि बढाउन अनुमति दिनेछ।
पदाधिकारीहरू सबै अध्यक्ष मण्डल रहने विधि बनाइएको छ। निर्वाचन प्रक्रिया अघि बढेपछि नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता उम्मेदवारी फिर्ता लगायत निर्वाचन प्रक्रियामा अघि बढ्ने छ।
प्रतिक्रिया