काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बिहीबार एउटा सूचना जारी गरेको छ ।
सूचनामा आगामी तीन(चार दिन जिल्लाका केही भागमा दिउँसो घाम लाग्ने र साँझ मेघगर्जन र चट्याङका साथै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
त्यसो त बुधबार काठमाडौं उपत्यकामा पनि रातभरि जस्तो मेघ गर्जन र चट्याङसहित पानी पर्यो । बूढानीलकण्ठ, सुन्दरीजल, धाप डयाम क्षेत्रमा केही घन्टा ठूलो पानी परेपछि बाढी पूर्वानुमान महाशाखाले विष्णुमती, धोबीखोला, मनोहरालगायत नदीका तटीय क्षेत्रमा जलसतह बढ्ने भएकाले सतर्कता अपनाउन भन्यो ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज अपरान्हपछि काठमाडौं उपत्यकामा मेघगर्जन र चट्याङसहितको वर्षा हुने बताएको छ ।
‘हिजो राति काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न भागमा राति मेघगर्जन र चट्याङसहित वर्षाको भएको थियो ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । यसका अतिरिक्त नेपालमा हाल भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानलगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले औंल्याएको छ ।
राति कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
प्रतिक्रिया