प्रतिनिधि सभा सदस्य मायादेवी न्यौपानेले सरकारले नागरिकको मागअनुसार केही दिन नसकेकाले सरकारको नाम छैनबहादुर, दिन्नबहादुर र सक्दिनबहादुर राख्नुपर्ने टिप्पणी गर्नुभएको छ । आइतवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
सांसद न्यौपानेले वर्तमान सरकार मङ्सिर ४ गते हुने चुनावपछि कमण्डलु लिएर बनारस जानुपर्ने दाबी गर्दै चुनावपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो सरकारले जनतालाई केही पनि दिन सक्दैन । विद्यार्थीलाई किताब दिन सक्दैन । किसानलाई मल, बिउ र सिँचाइ दिन सक्दैन । यो केही पनि दिन नसक्ने सरकारको नाम छैनबहादुर, दिन्नबहादुर र सक्दिनबहादुर राखौँ कि कसो ?’
यस्तै सदस्य भूमिप्रसाद त्रिपाठीले स्थानीयवासीको माग सम्बोधन गरेर मात्रै काठमाण्डौको फोहर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा विर्सजन गर्न माग गर्नुभयो ।
मीना सुब्बाले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेको भए पनि सरकारले नघटाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले इन्धनको मूल्य घटाउन नेपाल आयल निगमलाई ध्यानाकर्षण गराउनुभयो ।
यस्तै राजेन्द्रकुमार केसीले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि आयल निगम चुप लागेर बसेको बताउनुभयो । उहाँले स्वचालित रूपमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्न माग गर्नुभयो ।
सदस्य रेनुका गुरुङले निहारिका राजपुतले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने अवस्था किन आयो भनी सरकारलाई प्रश्न गर्नुभयो । उहाँले सरकारको प्रशासनिक र न्यायिक संयन्त्र असफल भएकै हो भनी सरकारको जवाफ माग गर्नुभयो ।
उहाँले मधेसका मिटरब्याज साहु पीडित नागरिकलाई न्यायको अनुभुति दिने दायित्व राज्यको भएको बताउनुभयो । उहाँले कार्यदलको नाममा पीडितलाई अलमलमा पार्ने र पीडकलाई उन्मुक्ति दिने काम नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया