काठमाडौ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियूका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका पूर्व अध्यक्ष कमल जोशीलाई सात दिन हिरासतमा राखेर अनुन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
अभद्र व्यवहारअन्तर्गतको कसुरमा उनलाई आज काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पेश गरिएको थियो । विद्यार्थी नेता जोशीसहितको ग्याङ्गले गत माघ २४ गते ठमेलमा ड्यूटीमा रहेका प्रहरीमाथि हातपात गरेको थियो ।
प्रहरी वृत्त, दरबारमार्गमा केशरमहल बिटबाट खटिएका प्रहरी हवल्दार जगुलाल घर्ती र जवान नगेन्द्रराज विष्टमाथि उनीहरुले सांघातिक आक्रमण गरेका थिए । मध्यरातमा मदिराले लठ्ठिएर होहल्ला गर्दै आएका उनीहरुलाई प्रहरीले सम्झाउन खोज्दा आक्रमण गरेको बताईएको छ ।
अनेरास्ववियूका नेताहरुको सांघातिक आक्रमणमा परी घाइते भएका प्रहरी हवल्दार घर्तीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको थियो । घर्तीको टाउकोसहित शरीरको विभिन्न भागमा चोट लागेको थियो । त्यस्तै, जवान विष्टको आँखामा र शरीरका अन्य भागमा सामान्य चोट लागेको थियो ।
घटनापछि फरार रहेका आरोपित जोशी हिजो (बिहीबार) साँझ बानेश्वरबाट पक्राउ परेका थिए । उक्त घटनामा संलग्न रहेको आरोपमा यसअघि अनेरास्ववियुका २ जना नेता पक्राउ परिसकेका छन् ।
प्रतिक्रिया