×

भूकम्प प्रभावित क्षेत्रमा पूर्वाधार निर्माण गर्न जनशक्ति तयार गरिँदै

images

जाजरकोट, २ फागुन : भूकम्प प्रभावित पालिकामा पूर्वाधार निर्माण गर्नका लागि उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले जनशक्ति तयार गरिरहेको छ । जिल्लाका सबै ठाउँमा निर्माण हुने सुरक्षित तथा अस्थायी आवास निर्माण गर्नका लागि १२ कलस्टरमा तालिम दिएर जनशक्ति तयार पार्ने काम जारी रहेको कार्यालयका प्रमुख महेन्द्रकुमार भडेलले जानकारी दिनुभयो । भेरी र नलगाड नगरपालिकामा तालिमको काम भइसकेको छ भने बाँकी पालिकामा छिट्टै काम सुरु हुने उहाँले बताउनुभयो । पन्ध्र दिने भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्नका लागि डर्कमी तालिम दिएर स्थानीय युवालाई सक्षम बनाउने काम भएको प्रमुख भडेलले बताउनुभयो । उहाँका अनुसार भेरी नगरपालिका–१ पिपेमा १०, नलगाड–३, ७ र १२ मा ३० जना डर्कमी उत्पादन गरिएको छ ।

अन्य ठाउँमासमेत तालिमको व्यवस्था गरी जनशक्ति उत्पादनको काम सुरु भएको कार्यालयले जनाएको छ । भूकम्प प्रतिरोधी घर निर्माण गर्दा डकर्मीको अभाव हुन नदिन, पुनर्निर्माण गर्दा आउने समस्या समाधानका लागि उपभोक्ता हित संरक्षण कार्यालयले गाउँगाउँमा तालिम दिन सुरु गरेको भडेलले जानकारी दिनुभयो । दश कलस्टरमा दिइने उक्त तालिमले जिल्लामा हुने निर्माणमा सहयोग पुग्ने कार्यालयले अपेक्षा गरिएको छ । नलगाडमा तीन, भेरीमा दुई कलस्टरमा तालिममा दिइएको छ । अन्य पालिकामा पनि यही तालिका अनुसार सीप सिकाउने तथा तालिम दिने भडेलले बताउनुभयो । दक्षजनशक्ति प्रयोग गर्नका लागि बाहिर जिल्लाको सहयोग लिनु भन्दा स्थानीय युवालाई तालिम दिएर सीप सिकाएर रोजगारीको सिर्जना गर्न यो पहल थालिएको हो । अहिले जिल्लामा सबै ठाउँमा अस्थायी आवासको निर्माणको काम चलिरहेको छ । बयालीस हजार पाँच सय २४ भूकम्प प्रतिरोधात्मक घर जाजरकोटका सात पालिकामा निर्माण हुनेछन् । छ हजार छ सय ३४ भेरीमा, नलगाडमा आठ हजार ९७, छेडागाडमा चार हजार दुई सय ५६, बारेकोटमा पाँच हजार पाँच सय ८६, कुशेमा पाँच हजार आठ सय ८७, जुनिचाँदेमा तीन हजार दुई सय ११ र शिवालय गाउँपालिकामा तीन हजार तीन सय नौ वटा घर निर्माण हुनेछन् । सोही सङ्ख्यामा अस्थायी आवास निर्माणको काम चलिरहेको छ । जिल्लामा १९ हजार सात सय एक मात्र अस्थायी टहरा निर्माण भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बुधबार २ फागुन २०८० ०४:०५ PM मा प्रकाशित

प्रतिक्रिया