×

नवलपरासीका समुदायमा विचरण गर्दा

images

२०५९ मंसिर २ गते । समय प्रतिकुल छ । तर पनि आफ्नै गतिमा लयवद्ध भएर हिंडिरहेछ । हामीसँग पनि समयको लयमा  आफ्ना कदम अघि बढाउनको विकल्प थिएन। कन्चनपूरबाट फर्केर नवलपरासीका विभिन्न दैवीप्रकोप पूर्वतयारीको लागि गठित समितिहरुको अध्ययन अवलोकन गर्ने पूर्वनिर्धारित कार्यक्रम अनुरुप हामी हिंडेका छौं । घुम्ने मेरो रहर । नयाँ ठाउँ र चिजको दृश्यापान गर्न चराहरु जस्तै उन्मुक्त मन लिएर उड्न चाहना राख्छ मेरो मन । समुन्द्रको उताल तरंगमा तरंगित र झंक्रित हुँदै वेगवान बग्ने चाह राख्छ मेरो मन ।

हामी नवलपरासीको सुनलवा वजार आइपुगेका छौं । हामीसँग रेडक्रस केन्द्रका दैवीप्रकोप संयोजक भक्त खवास,प्रमुख विष्णुहरी देवकोटा,सिन्धुली शाखा सभापति विश्वम्भर लामिछाने,काभ्रे शाखा सभापति सोम प्रसाद हुमागाँई लगायत अन्य विभिन्न जिल्लाका रेडक्रसका कर्मचारी र स्वयंसेवक गरी २२ जना भ्रमण टोलीमा संलग्न छन् । रामग्राम नगरपालिकामा पर्छ सदरमुकाम । परासीबजार उति भिडभाड देख्दिन म । किनकी यहाँपनि द्धन्द्धको असर रहेछ । हिजो राती कन्चनपूरबाट ढिलै आइपुगेका हामी यहीं एउटा होटलमा बास बसेका हौं ।

नवलपरासी पश्चिमाञ्चल अन्तर्गतका १६ जिल्ला मध्येको भौगोलिक हिसावले पहाड,हिमाल,तराई र भित्रि मधेश भएको जिल्ला हो । विस्तारै अध्याँरो फाटेर सुललित भाव तरंग जस्तै गरी धर्ती उज्यालिएको छ । हामी उठेर यताउती हेर्छाैं । मेरा मनका आँखा नयाँ ठाउँ हेर्न डुलिरहन्छन् । रामग्राम विश्वका ६वटा अस्त ुसमाधीस्थल मध्येको एक मानिन्छ । हामी गौतमवुद्धको अस्तु धातु रहेको स्थानमा पुग्छौं। रामग्राम बुद्धकी आमा मायादेवीको जन्मथलो हो । हामी केही फोटोहरु लिन्छौं ।

नवलपरासी रेडक्रस जिल्ला शाखाका पदाधिकारीहरुले हाम्रो स्वागतमा शाखा कार्यालयमा कार्यक्रम राखेका रहेछन  । शाखाकी सभापति राधा प्रधान,उपसभापति दामोदर शर्मा,मन्त्री अर्जुन बहादुर प्रधान,कोषाध्यक्ष पुण्य प्र.पौडेल लगायतसँग चिनापर्ची गरिन्छ । विहानको नास्ता जेरीपुरी तरकारी र चियाको मिठो आतिथ्यता सहित सानो कार्यक्रम चल्छ । भ्रमण कार्यक्रमको उद्धेश्यमाथि केन्द्रका अफिसर राजेन्द्र रोक्काले  प्रकाश पार्छन् ।

दैवीप्रकोप समिति रेडक्रस नवलपरासीका संयोजक गोपीकृष्ण योगीले स्वागत मन्तब्य राख्छन् । नवलपरासी रेडक्रस शाखाको स्थापना २०३१ जेठ ३१ गते भएको रहेछ । १२ सय जना आजीवन सदस्य भएको रेडक्रसले त्यहाँ एम्बुलेन्स,खानेपानी सुधार कार्यक्रम,वाढीबाट विस्थापित परिवारको पूर्नस्थापना लगायतका कार्यक्रमहरु संचालन गरिरहेको जानकारी प्राप्त भयो । सामुदायिक प्रशिक्षक कृष्ण केसी रहेछन् । विभिन्न जिल्लाका रेडक्रसकर्मीहरुको अपूर्व भेट यादगर नहुने कुरै भएन मेरा लागि ।

होटलमा खाना खाएर एकछिन सुस्ताउछौं सबैजना । मेरो पहिलो नवलपरासीको घुमाईले केही ज्ञानका पोथ्रापोथ्रीहरु बटुल्न सक्ला भन्ने ठम्याइ रहेको छ। केहीबेरको सुस्ताईपछि हामी निस्कन्छौं । सुनवल उपशाखा सभापति गोपाल प्र.शर्माले विदाई गरे हामीलाई । नारायणी सिविडिपी समितिको कार्य हेर्न जुन रजहर गाविस कुजौलीमा पर्छ ।वर्दघाट,दुम्कीबास,ज्यामिरे खोला,वेलहानी,बिजयखोलाहुँदै अरुणखोला पुग्छौं हामी । मनभरी उत्सुकताको बेग तिव्रतर छ मेरो भनिसाध्य भए पो । प्राकृतिक सुन्दरताको सान्निध्यतामा रमाउनुको मज्जा गाडीको झ्यालबाट लिइरहेछु म ।

कावासोती पुग्छौं । शिवनगर चोरमारा जहाँ मेचीमहाकालीको विचको विन्दु ५१२कि.मि.नेपालकै मध्यभाग हो यो । करिव ९०मिटर लामो कावासोतीपुल तरेर शिववस्ती बजार नवलपूर पुग्छौं हामी। प्रगतीनगर जहाँ बर्मेलीहरुको बासस्थान रहेको रहेछ । दलदले बजार हुँदै गंगादेवीचौधरी उद्योग जहाँ वाईवाई चाउचाउ उत्पादन हुन्छ देख्छौं हामी । त्यहाँबाट रजहर गाविसको नारायणी सिविडिपी समितिमा पुग्छौं ।

हामीसँग छन् रेडक्रस केन्द्रका भक्त खवास,विष्णहरी देवकोटा,आदेश त्रिपाठी,राजेन्द्र रोका,काभ्रे रेडक्रस सभापति सोम प्रसाद हुमागाँई,सिन्धुलीका सभापति विश्वम्भर लामिछाने,कन्चनपूरका दैवीप्रकोप समितिका संयोजक डा.डिएस पटनी,नवलपरासीका उपसभापति दामोदर शर्मा,संयोजक गोपीकृष्ण योगी,सामुदायिक प्रशिक्षकहरु हर्क भण्डारी,कृष्ण केसी,काभ्रेका सामुदायिक कार्यकर्ता साथीहरु रमेश महत,सुदिप हुमागाई,विनोद लामिछाने,लालमान लामा,गीता दुलाल लगायत अन्य जिल्लाका सामुदायिक कार्यकर्ताहरु।त्यहाँको समुदायले दैवीप्रकोप ब्यवस्थापन सम्बन्धी तालिम,प्राथमिक उपचार तालिम लिएका जनशक्ती तयार पारेको रहेछ ।

समुदायलाई प्रकोप पर्दा आवश्यक सहयोग गर्न परिक्रमा निधिकोष खडा गरिएको रहेछ हाल उक्त कोषमा रु.७३१९। जम्मा भएको रहेछ । करिव ४ सय के.जी.अन्न संकलन गरि भण्डारण गरिएको,प्रत्येक महिना समुदायबाट रु५। संकलन गर्ने नीति अख्तियारी गरिएको रहेछ । ब्यक्तिगत चन्दा र जिविसबाट अनुदान प्राप्त रकम सहित रु.७३हजारको लागतमा तटवन्ध निर्माण गरी नारायणी नदीले कटान गर्ने जमिन जोगाइएको रहेछ । त्यसको लागि ३ दिन प्रत्येक घरधुरीले अनिवार्य श्रमदान गरेका रहेछन् । उक्त स्थानमा करिव ५० विघा जमिन नारायणी नदीले कटान गरेको जानकारी पाइयो । थारु समुदायको वाहुल्यता रहेछ त्यहाँ । तर उनीहरु समुहमा अत्यन्तै क्रियाशिल र जागरुक देखियो ।

हामीलाई जहाँ लाने भनेर पूर्व निर्धारित कार्यतालिका बनेको थियो । हिजो राती त्यहाँ सरकारी सुरक्षाकर्मी तथा विद्रोहीहरुको दोहोरो भिडन्त भएको खवर आएकोले त्यताको परिवेश अलिक विषम छ भन्ने जानकारी पाए अनुसार त्यताको यात्रा स्थगित भएको जानकारी भक्त खवासले हामीलाई गराए । मेरो जिज्ञासु मनमा धाँजा फाट्यो । रन्थनिए म । हाम्रो यात्रामा कहर बनेर अवरोध गर्नेहरुलाई मनले माफी दिन सकेन । हाम्रो यात्रा अब शहीदनगर डण्डा हुँदै कोलहवातर्फ तय भएको जानकारी प्राप्तभयो । यहाँ ब्रम्हाण,क्षेत्री,ठकुरी थारु,मगर,गुरुंग आदिजातिको बसोबास रहेछ ।

कोल्हुवानन्दपूर दैवीप्रकोप पूर्व तयारी समितिका संयोजक रहेछन् रामनारायण महतो । जस अन्तर्गत ८४ घरधुरी आवद्ध रहेछन् । यहाँको जनसंख्या करिव ५६३ रहेको छ । साक्षर संख्या ३०४ छ । यो सबै रामनारायण महतोले हामीलाई जानकारी गराए । उनीहरुले दैवीप्रकोपसंग सम्बन्धित विभिन्न तालिम प्राथमिक उपचार,दैवीप्रकोप पूर्वतयारी , दैवीप्रकोप ब्यवस्थापन आदि तालिमहरु लिएका रहेछन् । त्यहाँ पनि अन्न संकलन गरिएको रहेछ । कोष ब्यवस्थापनको प्रारम्भ भएको तर मासिक रुपमा रकम उठाउने नगरिएको उनले बताए ।

हामीलाई उनले नारायणी नदिले गरेको जमिन कटान देखाउन पनि लगे । नारायणी नदीले धेरै ठूलो भुभाग कटान गरेको रहेछ । ठाउँ ठाउँमा ग्याब्लिंग वाल लगाइएको देखिन्थ्यो । समुदाय जागरुक भए गर्न सकिन्छ भन्ने कुरामा रामनारायणसँग गरिएको स्थलगत अवलोकनले मेरो विश्वासको सगरमाथा झन ठडियो ।

आहा यहाँको धर्ती कति उर्वरयोग्य छ । कविमनले तिनका राम्रा बिम्बहरु प्रयुक्त गरी सम्पूर्ण रुपले कविताको क्यान्भासमा अब्बलकोटीको कवितामा उतार्न मन लाग्यो मलाई । तर समय थिएन । म यहाँको धर्तीको सुन्दरतामा भावविभोर भएको छु । उसको सौन्दर्यमा आल्हादित छु । अनि पर ठिंग उभिएर मलाई हेर्दै मुसुक्क मुस्कुराई रहेको पहाडको मुस्कानको आभामा मेरो मन झंक्रित भएको छ  ।

हामी विदाइका हात हल्लाएर उत्साही युवक रामनारायणको समुदायबाट ओझेल पर्छौ  । उखरमाउलो गर्मी छ । कस्तो अजिब छ हगी प्रकृति पनि कहिले आफ्नो मिठास सबैलाई बाँडीरहेछ खुल्ला ह्रदयले । यहि प्रकृति हो कहिले घामको तापले सिंचन गर्छ कहिले झरी बर्षाउँछ र शितलता प्रदान गर्छ । अलिक वर आएपछि सिमसिमे पानीले स्वागत गर्यो । यसो सोच्छु,मानिस लगायत सबै सजिव आत्माको निम्ति आवश्यक कुराहरु प्रकृतिले नै हार्दिकता साथ प्रदान गर्छ ।

तर हामी स्वार्थी मान्छे प्रकृतितिर बलात कुदृष्टि राख्छौं र यहि प्रकृतिको दोहन गर्छाै । अनि कसरी सहोस प्रकृतिले चुपचाप । त्यहीभएर हामीसँग रिसाउछ प्रकृति र बाढीपहिरो अनि के के आँउछ । मनमा कुरा खेल्छ मेरो । मेरा आँखा त्यतैतिर घुम्न थाले । सायद धर्तीले पनि मेरो मनोभाव बुझ्यो होला । 


 

शनिबार ३० पुस २०७९ ०९:२९ AM मा प्रकाशित

प्रतिक्रिया