×

निर्वाचन मत सर्वेक्षण गरे निर्वाचन आयोगले कारवाही गर्ने

images

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेद्वारका बारेमा मत सर्वेक्षण नगर्न आग्रह गरेको छ । उम्मेद्वारको मनोनयन दर्ता भएपछि मतदान सम्पन्न नहुँदासम्म मत सर्वेक्षण गर्न र त्यसको नतिजा सार्वजनिक गर्न नपाइने भन्दै आयोगले त्यसो गरेमा कारवाही हुने चेतावनी दिएको हो ।

आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता, २०७९ लागु भइरहेको सन्दर्भमा आचारसंहिता विपरीत कतिपय व्यक्तिहरूले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको निर्वाचन आयोगको अनुगमनबाट पाइएको जनाएको छ ।

‘आचारसंहिता विपरीत कतिपय व्यक्तिहरूले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको निर्वाचन आयोगको अनुगमनबाट पाइएको छ,’ आयोगको विज्ञप्तिमा भनिएको छ, ‘(आचारसंहिताका) व्यवस्थाहरु विपरीत कोही कसैले कार्य गरेमा कानुन बमोजिम कारबाही हुने व्यहोरा सबैलाई जानकारी गराइन्छ ।’

आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै आचारसंहिताको दफा ४ को (थ) मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्नसमेत नहुने व्यवस्था रहेको छ ।’

बिहीबार २७ असोज २०७९ १२:०८ PM मा प्रकाशित

प्रतिक्रिया