×

प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान, एक जना घाइते

images

धनुषाको गणेशमान चारनाथ–४ पोर्ताहास्थित चारनाथ खोलामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन् । प्रहरीचौकी पोर्ताहाबाट खटिएको प्रहरी टोली र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा प्रहरीको गोली लागेर धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ निवासी ३० वर्षीय गणेशबहादुर बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ ।

खोलामा बन्दुकधारी समूहलाई प्रहरीले रोक्न खोज्दा फायर गरेपछि प्रहरीले गरेको जवाफी कारबाहीमा परेर बुढाथोकी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । प्रहरीको गोली लागि घाइते अवस्थामा पक्राउ परेका बुढाथोकीको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताउनुभयो । 

पक्राउ परेका बुढाथोकीको साथबाट एक थान भरुवा बन्दुकसमेत बरामद भएको प्रहरीले जनाएको छ । ती समूहका अन्य व्यक्ति भने फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताउनुभयो । 

मङ्गलबार २८ भदौ २०७९ ०७:५८ PM मा प्रकाशित

प्रतिक्रिया