×

वीरगञ्जमा बन्दै अर्को सदर चिडियाखाना 

images

पर्साको वीरजगञ्ज महानगरपालिका–३२ मा सदर चिडियाखाना निर्माण हुने भएको छ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले चिडियाखाना निर्माणका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्नुभएको थियो । मन्त्री यादवले पेश गर्नुभएको प्रस्तावलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चिडियाखाना निर्माणका लागि अनुमति दिएको हो । पर्सा र बारा जिल्लाको बीचमा निर्माण गरिने उक्त चिडियाखाना अवलोकन गर्न नेपाल तथा भारतका पर्यटक आउने भएकाले त्यहाँको पर्यटन प्रवद्र्धन तथा आर्थिक समृद्धि हुने अपेक्षा लिइएको मन्त्री यादवले बताउनुभयो । 

उक्त चिडियाखाना रु एक अर्ब एक करोड सात लाखमा निर्माण गरिने मन्त्रालयले जनाएको छ । चिडियाखाना निर्माणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीको संयोजकत्वमा आठ सदस्यीय कार्यदल समिति गठन भई उक्त कार्यदल समितिले आफ्नो प्रतिवेदनसमेत पेश गरिसकेको छ । वीरगञ्ज महानगरपालिकाको वडा नं ३१ को सोलखपुर वडा नं ३२ को रामवनमा प्राकृतिक चिडियाखाना स्थापना गरिए यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने भन्दै चिडियाखाना निर्माणका लागि उपयुक्त स्थान भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

प्रस्तावित चिडियाखानाको क्षेत्रभित्र पर्ने ३.१ हेक्टर अतिक्रमण हटाई त्यस क्षेत्रसँग जोडिएका सबै साझेदारी वन क्षेत्रको सिमानामा तारबार गरेर मात्र स्थापना गर्नुपर्ने, प्रस्तावित चिडियाखाना स्थापना गर्दा प्राकृतिक चिडियाखानाका साथै वन्यजन्तु उद्धार केन्द्र वन्यजन्तु प्रजनन केन्द्र निर्माण गरिनेछ । वन्यजन्तुका लागि आवश्यक पूर्वाधार तथा उचित रोकथाम, पर्यटक व्यवस्थापनमा ध्यान दिनुपर्ने एवं जैविक विविधता शिक्षा प्रवद्र्धन तथा वन्यजन्तुको कल्याणसमेतलाई मध्यनजर गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार चिडियाखाना स्थापना र सञ्चालनका लागि मानवीय, प्राविधिक तथा आर्थिक स्रोतको सुनिश्चित हुने गरी प्रस्तावित चिडियाखाना स्थापना र सञ्चालन गर्नुपर्ने उक्त अध्ययन प्रतिवेदनको राय रहेको छ ।

प्रस्तावित चिडियाखाना स्थापनाको लागि वीरगञ्ज महानगरपालिकाको वडा नं ३१ को सोलखपुर वडा नं ३२ को रामवन क्षेत्रमध्ये वीरगञ्ज महानगरपालिका वडा नं ३२ को रामवन क्षेत्रमा पर्नेसवैया साझेदारी वन उपभोक्ता समूहले समेत आफ्नो साझेदारी वन क्षेत्रमा प्रस्तावित चिडियाखाना स्थापनाका लागि सहमति दिएको छ । सवैया साझेदारी वनको पूर्व सिमानामा पर्ने प्रस्तावित चिडियाखानाको क्षेत्रफल ५० हेक्टर रहेको जसमा घास बुट्यान क्षेत्रले ३९.४ हेकटर, सघन क्षेत्रले ७.५ र अतिक्रमण क्षेत्रले ३.१ हेक्टर ओगटेको छ ।

उष्ण साल वन क्षेत्र रहेको सो वन क्षेत्रमा मख्य प्रजाति साल, कर्मा रहेको छ भने कहिलेकहीँ घुमन्ते बाघ देखिने त्यसक्षेत्रमा अन्य वन्यजन्तुमा चित्तल, खरायो, दुम्सी, वन बिरालो, पुट्के बँदेल, चौँका, सुँगा, मैना, गरुड र सारस पनि पाइने र उक्त क्षेत्रमा घर्सने जनावरमा कोब्रा, अण्डा खाने सर्प र मुसा खाने सर्प पनि रहने गरेकाले यहाँका चिडियाखाना बनाउन उपयुक्त रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीले बताउनुभयो ।

वीरगञ्जमा चिडियाखाना निर्माण गर्ने आफ्नो वर्षौं पहिलेदेखिको सपना रहेको र अहिले आएर उक्त सपना साकार भएको मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन प्रवद्र्धन तथा आर्थिक समृद्धिका लागि अगाडि बढिरहेको छु, वीरगञ्जमा निर्माण हुने चिडियाखानाले पर्यटन प्रवद्र्धनसहित त्यहाँका नागरिकको आर्थिकस्तरमा वृद्धि गर्ने मैले अपेक्षा लिएको छु ।” वीरगञ्जमा चिडियाखानाका लागि लामो समयदेखि पहल भए पनि निर्माणका लागि अनुमति प्राप्त हुन सकेको थिएन । आफ्नो गृह जिल्लामा चिडिया खाना निर्माण हुने तथा पर्यटक भित्रिएर यहाँका नागरिकको आयस्तरमा वृद्धि हुने भन्दै अहिले पर्सा र वीरगञ्जका नागरिक निकै खुसी भएका छन् ।

मङ्गलबार २८ भदौ २०७९ ०७:४३ PM मा प्रकाशित

प्रतिक्रिया