×

थप ३७ विद्युतीय बस सञ्चालन गर्दै साझा यातायात

images

काठमाडौँ । गत असारमा तीन विद्युतीय बस सञ्चालन सुरु गरेको साझा यातायात सहकारी संस्थाले थप ३७ बस सञ्चालनका लागि तयारी अघि बढाइएको छ । गत महिना काठमाडौँ आइपुगेका साझाका विद्युतीय बस सञ्चालनका लागि जाँच भइरहेको संस्थाले जनाएको छ ।  ६ महिना पहिलेदेखि तीन बस सञ्चालनमा रहेको र अहिले आइपुगेका ३७ बस सञ्चालनका लागि जाँचका क्रममा रहेको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए । जाँच सकाएर त्यसको प्रतिवेदन आएपछि दर्ता गरिने उनले बताए । उनले भने, “परीक्षण सकाएर दर्ता गर्न अब केही समय लाग्न सक्छ ।”

बस सञ्चालनका लागि बाटो इजाजत पत्र लिनुपर्ने हुन्छ । रुट निर्धारण गर्दा सकेसम्म हाल कम सङ्ख्यामा बस भएका रुटमा राखिने उनले बताए । साझा यातायातका पेट्रोलियम र विद्युतीय सबै बसहरूमा सरकारले तोकेबमोजिम भाडा दर रहेको छ ।  अहिले आएका सबै सहरी बस (सिटी बस) रहेको र यी काठमाडौँ उपत्यकाभित्रै सञ्चालन हुने संस्थाले जनाएको छ । पहिले ल्याइएका बस र अहिले आएका बसको लम्बाइ, चौडाइ क्षमता सबै उस्तै रहेको उनले बताए । उनले भने, “पहिले परीक्षणका लागि ल्याइएकामा अहिले थप ल्याइएको हो ।” 

यी बसहरूमा २६ सिट रहेको र क्षमता प्रतिघण्टा एक सय ६१ किलोवाट रहेको छ, बस एक पटक पूरै चार्ज गर्दा दुई सय किलोमिटर चल्नेछन् ।”  अरू सामान्य बसभन्दा विद्युतीय बस होचो र सानो हुँदा अपाङ्गतामैत्रीसमेत रहेका छन् । होचो (लो–फ्लोर) रहेकाले अपाङ्गता भएका व्यक्ति उक्लिन र ओर्लन सजिलो हुन्छ । बसभित्र ह्विलचियर राख्नका लागि पनि स्थान राखिएको छ । मोबाइल चार्ज गर्ने ठाउँ, गन्तव्यका बारेमा जानकारी दिने र अरू सूचना देखिने गरी बोर्डको व्यवस्था गरिएको छ ।

हाल सञ्चालनमा रहेका साझाका तीन विद्युतीय बस सञ्चालनका हिसाबले ठिक नै रहेको पाण्डेयले बताए । उनले भने, “यसबारे अन्तिम रिपोर्ट निकालेको नभए पनि अरू समस्या देखिएको छैन ।” ती बसहरू हाल दुई माछापोखरी–बालाजु–सोह्रखुट्टे हुँदै जमल–पुरानो बसपार्क–माइतीघर–नयाँबानेश्वर–तीनकुने–सिनामङ्गल–एयरपोर्टको रुटमा र एक लगनखेल–जावलाखेल–कुपण्डोल हुँदै त्रिपुरेश्वर–नेपाल वायुसेवा निगम–लैनचौर–शिक्षण अस्पताल–नारायण गोपालचोक–बाँसबारी–बूढानीलकण्ठ रुटमा सञ्चालन भइरहेका छन् ।  विद्युतीय बस पेट्रोलियम बसका तुलनामा होचो हुने भएकाले खाल्डाखुल्डी भएको सडकमा गाह्रो हुने हुँदा कालोपत्र सडकमा गुडाइने उनले बताए । सञ्चालनमा रहेका बसजस्तै नयाँ आउने बस खाल्डा नभएको सडकमा गुडाइने उनले बताए । 

विगतदेखि नै स्थानीय तहसँगको समन्वयमा बस खरिद र सञ्चालन गर्दै आएको भए पनि तत्कालका लागि आएका बस सञ्चालन गर्नेलाई नै प्राथमिकता दिएको पाण्डेयले बताए । प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा आगामी दिनमा अघि बढाइने उनले बताए ।  सङ्घीय सरकारसँगको समन्वयमा थप बस खरिद गर्नुपर्नेमा बाँकीका लागि प्रक्रिया अघि बढाइने उनले बताए । काठमाडौँ आइपुगेका बसका बारेमा  विश्लेषण गरेर अर्को चरणमा ४०/५० वटा आउनसक्ने उनले जानकारी दिए । उनले भने, “दोस्रो चरणमा बस किन्न यो वर्ष प्रक्रिया अघि बढ्नसक्छ ।” 

हाल सञ्चालनमा रहेका बसका लागि साझाको एउटा र नेपाल विद्युत् प्राधिकरणको एउटा गरी दुई चार्जिङ स्टेसन रहेका छन् । अबका थप दुई/तीनवटा जडान हुने गरी प्राधिकरणसँग छलफल भइरहेको पाण्डेयले बताए । उनले भने, “प्राधिकरणको चार्जिङ स्टेसन साझा यातायातलाई लक्षित गरेर चाँडो बनाइनेछ ।” सरकारले साढे तीन वर्ष पहिले रु तीन अर्बको शेयर खरिद गरेपछि सोही रकमबाट विद्युतीय बस खरिद गरिएको थियो । बस चीनको सिएचटिसी किनिवङ (नानजिन) अटो मोबाइल कम्पनी लिमिटेडले तयार गरेको हो । पेट्रोलियम पदार्थका सवारीसाधनजस्तो वातावरण प्रदूषण नगर्ने बसमा ध्वनिको प्रदूषण पनि अरूभन्दा कम रहेको छ । बसमा थकाइ (भाइब्रेसन) पनि कम रहन्छ  । 

हाल खरिद भएका बस पाँच वर्षसम्म मर्मत गर्ने निर्माता कम्पनीसँगको सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार साझाले ४० विद्युतीय बस र २० चार्जरका लागि ३७ लाख ३८ हजार पाँच सय ५० अमेरिकी डलर तथा आवश्यक तालिम र पाँच वर्षको मर्मत सम्भार तथा स्पेयर पार्टका लागि नेपाली रु छ करोड ७३ लाख ६५ हजार पाँच सय ५३ प्रदान गर्नेछ । साझा यातायातले गत चैतमा आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रअनुसार नौ कम्पनीले बुझाएको बोलपत्रको मूल्याङ्कन गरेर सबै प्राविधिक ‘स्पेसिफिकेसन’ मिलेको र कम मूल्य कबोल गरेको सिएचटिसी किनिवङ (नानजिन) अटो मोबाइल कम्पनी लिमिटेडको प्रस्ताव स्वीकृत गरिएको हो । 

सार्वजनिक यातायातको विद्युतीकरणले एकातिर आयातीत खनिज इन्धनको बढ्दो प्रयोगलाई स्वदेशी नवीकरणीय ऊर्जाले प्रतिस्थापन गरेर देशको अर्थतन्त्रलाई टेवा दिने बताइएको छ । अर्कोतिर वायु प्रदूषण कम गरी वातावरण र जनस्वास्थ्यलाई समेत फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

सरकारले विसं २०७५ पुसमा विद्युतीय बस खरिद गर्ने निर्णय गरेको र विसं २०७६ असार ३१ मा बस खरिदको जिम्मेवारी साझा यातायातलाई दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बस खरिदका लागि साझाको रु तीन अर्बको शेयर खरिद गरेको थियो । संस्थाले ‘स्पेसिफिकेसन’ फरक भएको भन्दै रकम फिर्ता गरेको १६ महिनापछि पुनः संस्थालाई नै जिम्मेवारी दिएको थियो ।  साझासँग हाल डिजेलबाट चल्ने ७१ बस रहेकामा चार उपत्यकाबाहिर र बाँकी उपत्यकामा सञ्चालनमा रहेका छन् । उपत्यकामा निजी कम्पनीहरूले समेत विद्युतीय बस सञ्चालन गरिरहेका छन् । 

शुक्रबार​ २९ पुस २०७९ ०३:५२ PM मा प्रकाशित

प्रतिक्रिया