काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग आगामी निर्वाचनको तयारीका विषयमा छलफल गरेकी छन् ।
आयोगका कार्यवाहक प्रमुख कायुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकारी तुलाधर, सगुनशमशेर राणा र अन्य अधिकारीहरू समेतको टोली छलफलका लागि आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको थियो ।
आयोगले निर्वाचन तयारीअन्तर्गतका ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको र हालसम्मको मूल्यांकनमा आउँदो फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिने विश्वास रहेको जानकारी दिएको छ ।
आयोगमा दर्ता रहेका र वडा सदस्यसम्म मात्र पनि विजय भएका दलहरूसँग छलफल गर्दा अहिलेसम्म कसैले पनि निर्वाचनमा भाग लिन नसकिने भन्ने भाव व्यक्त नगरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए । बरु विगतमा निर्वाचन बहिष्कार गरी बाधा–विरोध गर्ने समूह र दलहरूसमेत अहिले आयोगमा दर्ता भएर चुनावमा भाग लिन तत्पर भएको कारण विगतमा भन्दा अझै सहज वातावरण बन्दै गएको उनले बताए ।
आयोगमा नयाँ दल दर्ता र मतदाता नामावलीमा समावेश हुने क्रम पनि उत्साहजनक रहेको बताउँदै उनले भने- 'हाम्रो मूल्यांकनअनुसार, तोकिएकै मितिमा निर्वाचन गराउन सम्भव छ र आयोग यसका लागि सक्षम छ। कुनै दुविधा राख्नुपर्ने अवस्था छैन ।’
प्रधानमन्त्री कार्कीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पठाएको तीनबुँदे पत्रको सम्बोधनमा भएका कामको प्रगति पनि आयोगले जानकारी गराएको थियो ।
जसअनुसार, आयोगको अनलाइन प्रणालीमा मतदाता नामावली दर्ताको चाप व्यवस्थापन गर्न बिहान ७ देखि साँझ ७ बजेसम्म दुई सत्रमा काम गर्न थालिएको, जनशक्ति पनि बढाइएको र प्राविधिक समस्याको पनि तत्काल समाधानको व्यवस्था मिलाइएको उनले बताए ।
यस्तै राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेले राष्ट्रिय परिचय पत्र वितरणका लागि संकलन गरेको जैविक तथ्यांक निर्वाचन आयोगलाई उपलब्ध गराउन तयार रहेको बताए । यसले राष्ट्रिय परिचयपत्र नम्बर भएका र आफै निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदातालाई सहज बनाउनेछ ।
आयोगले भोलि बिहीबारबाटै राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा पनि मतदाता नामावलीमा समावेश गर्ने प्रक्रिया सुरु गर्दै छ । यसका लागि आज रातभरिमा प्राविधिक तयारी र परीक्षणका सबै काम गरिसक्ने आयोगले जनाएको छ ।
हालसम्म १ करोड ८३ लाख ७७ हजार मतदाता आयोगको तथ्यांकमा अभिलिखित रहेको र पछिल्लो निर्वाचन घोषणापछि मात्र २ लाख ९ हजार ५५२ मतदाता थपिएको विवरण पनि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले अवगत गराए ।
हालसम्म २२ वटा राष्ट्रिय र २ वटा अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाहरू निर्वाचन पर्यवेक्षणका लागि नाम दर्ता गराउन आइसकेको उनको भनाइ छ । आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा सुझावका लागि सबै दललाई पठाइसकिएको जानकारी दिँदै अब निर्वाचन कार्यक्रम प्रकाशन गर्न लागेको बताए । उनले त्यसअघि दलहरूसँग पुनः छलफल गरिने बताए ।
प्रधानमन्त्री कार्कीले निर्वाचनमा उम्मेदवारको खर्च घटाउन र मतदाताको सहजताका लागि अन्तरजिल्ला मतदानको व्यवस्था गर्न कति सम्भव छ भनेर चासो राखेकी थिइन् ।
प्रतिक्रिया