काठमाडौं । भोलि (सोमबार)देखि नेपाल–चीन जोड्ने कोरोला नाका खोल्ने सहमति भएको छ । चीन–नेपाल सरकारका अधिकारी र स्थानीय जनप्रतिनिधिको पहलमा उक्त नाका खोल्ने सहमति भएको हो ।
कोरोला नाका खुल्ला भए पनि नेपालतर्फ बनाइएका अस्थायी टहरा यथावत् राखेर प्रयोगमा ल्याइने लोमन्थाङ गाउँपालिका वडा नम्बर–२ का अध्यक्ष कर्मा नाम्ग्यालले जानकारी दिए ।
उनका अनुसार टहराहरू विओपी र भन्सार कार्यालयका लागि प्रयोग गरिने भएको छ । यी टहराहरू लोमन्थाङ गाउँपालिका तथा लो–घेकार दामोदरकुण्ड गाउँपालिकाको आग्रहमा चीन सरकारले निर्माण गरेको थियो ।
हाल बसाइँको लागि चार कन्टेनर कोठा र किचनको लागि एक कन्टेनर कोठा गरि जम्मा ५ कन्टेनर कोठा छन् । नेपालतर्फको नाका क्षेत्रमा कुनै पनि भौतिक संरचना नभएकोले यी टहराहरूलाई प्रयोगमा ल्याइने नाम्ग्यालले बताए ।
सरकारले स्थायी संरचना तयार नगरेसम्म टहरा प्रयोगमा ल्याइने भएको छ भने तत्काल स्थायी संरचना बनाउन पहल गरिने अध्यक्ष नाम्ग्याल बताउँछन् । कोराला नाका खुलेपश्चात् गण्डकी प्रदेश र मुस्ताङ जिल्लाका लागि सुविधा हुने बताइएको छ ।
प्रतिक्रिया