×

काँग्रेस बैठक अझै अनिर्णित, महाधिवेशन बारे धारणा राख्नेक्रम जारी

images

काठमाडौँ ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा पनि नेताहरुले धारणा राख्नेक्रम जारी रहेको छ । बुधबारको बैठकमा सहमहामन्त्री महेन्द्र यादवसहित ११ केन्द्रीय सदस्यहरुले धारणा राखेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 

आजको बैठकमा सहमहामन्त्री महेन्द्र यादवसहित केन्द्रीय सदस्यहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, बलबहादुर के.सी., डा. नारायण खड्का, रमेश लेखक, कल्पना चौधरी, जीतजंग बस्नेत, सुजाता परियार र श्यामकुमार घिमिरेले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

बैठकमा विजय गच्छादारले पुसभित्र नियमित महाधिवेसन गर्नुपर्ने धारणा राखेका थिए भने रमेश लेखकले विशेष महाधिवेशनमा जान नहुने बताएका थिए । त्यस्तै बैठकमा जितजंग बस्नेतले विशेष महाधिवेशन गरेर महामन्त्रीद्वयले पार्टी कब्जा गर्न खोजेको आरोप लगाएका थिए । त्यस्तै विमलेन्द्र निधि लगायतले चुनावपछि मात्र महाधिवेशन गर्नुपर्ने धारणा राखेका थिए । त्यसैगरी श्याम घिमिरेले संसद पुनस्थापनामा जानुपर्ने धारणा राखेका थिए । 

कांग्रेस बैठकमा महाधिवेशन कहिले गर्ने भन्नेमा विभाजित भएका छन् । संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्न धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् । 

कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ मा प्रारम्भ भएको अझै जारी रहेको छ र निर्णयमा पुग्न सकिरहेको छैन । कार्यसमितिको बैठक विहिबार बिहान ११: ३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुने मुख्यमन्त्री पौडेलले जानकारी दिएका छन् ।

बुधबार २७ कात्तिक २०८२ ०७:३५ PM मा प्रकाशित

प्रतिक्रिया