×

यस वर्षको मनसुनबाट करिब साढे १२ लाख मानिस प्रभावित हुने अनुमान : गृह मन्त्रालय

images


काठमाडौं । यस वर्षको मनसुनबाट करिब साढे १२ लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ। गृह मन्त्रालयमा आइतबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा दिइएको जानकारीअनुसार मनसुनबाट प्रभावित हुन सक्ने जनसङ्ख्या १२ लाख ५४ हजार १८१ र घरधुरी दुई लाख ८६ हजार ९९८ रहने छन्।

मनसुनबाट हुन सक्ने सम्भावित क्षति रोकथाम र न्यूनीकरणका लागि बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना २०८० स्वीकृत गरेको छ।
उक्त कार्ययोजनामा मनसुनजन्य जोखिमको अवस्था विश्लेषण तथा प्रभाव आँकलन गरी विभिन्न मन्त्रालय तथा विषयगत क्षेत्र, निजी क्षेत्र, सरकारी तथा गैरसरकारी संस्थाहरूको जिम्मेवारी तोकिनुका साथै खोज, उद्धार तथा राहत सामग्रीको मौज्दातको विवरण समेटिएको छ।

पूर्वसूचना तथा पूर्वकार्यका लागि देशका ३४ स्थानमा स्मार्ट साइरन जडान, विपत् सामूहिक उद्धार सवारी तथा ‘ए क्लास’ एम्बुलेन्सहरू खरिद गरी सात वटै प्रदेश र काठमाडौँ उपत्यकामा एक–एक वटा रहने व्यवस्था मिलाइएको र भण्डारण गरिएका आपत्कालीन उपकरण र सामग्रीको जानकारी उपलब्ध हुने ‘गोदाम’ स्रोत व्यवस्थापन प्रणाली र खोज तथा उद्धारमा संलग्न हुने स्वयंसेवकहरूको विवरण उपलब्ध हुने स्वयंसेवक व्यवस्थापन गरिएको छ ।

यसैगरी खोज, उद्धार तथा राहत वितरणका लागि हालसम्म एक लाख ४२२ जना स्वयंसेवक सूचीकृत भइसकेको गृह मन्त्रालयले जनाएको छ। नेपालमा मनसुनजन्य विपत्ले सबैभन्दा धेरै नागरिकलाई प्रभावित पार्ने र सबैभन्दा धेरै आर्थिक क्षति निम्त्याउने गरेको छ। विगतका तथ्याङ्क अनुसार मनसुनबाट पहिरोको उच्च जोखिममा रहेका जिल्लामा इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, ललितपुर, नुवाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, प्युठान, रोल्पा, रुकुमपश्चिम, दैलेख, अछाम र बैतडी छन्। त्यसैगरी बारम्बार बाढीबाट प्रभावित हुने जिल्लामा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, परासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर छन्।

मनसुनजन्य विपत् जोखिमको प्रभावकारी प्रतिकार्यका लागि सबै सुरक्षा निकाय अन्तर्गतका खोज उद्धार जनशक्ति तैनाथीको अवस्थामा रहेको र विभिन्न निकायअन्तर्गत रहेका विपत् उद्धार तथा राहतसँग सम्बन्धित स्रोत, साधन, यन्त्रउपकरण सात वटै प्रदेशमा तयारी अवस्थामा राखिएको छ।

सोमबार २९ जेठ २०८० ०९:४० AM मा प्रकाशित

प्रतिक्रिया