फुङ्लिङ : चर्न गएका याक चौँरी नभेट्दा साङ्बु शेर्पा निकै पिरोलिनु भएको छ । निरन्तर हिमपातले याकहरू कुन ठाउँमा हिउँले पुरेको छ, उहाँलाई थाहा छैन । फक्ताङलुङ गाउँपालिका–७ याङमागाउँ निवासी उहाँ याकहरु देख्न नपाएर दिनरात पिररोलिरहनुभएको छ । शेर्पाको पुख्र्यौली पेशा नै याक गोठ हो । सत्तरीवटा याक शेर्पाले हेर्दै आउनुभएको थियो । अहिले प्रायः प्रत्येक दिन हिमपात भइरहेको छ । याङमा गाउँ ताप्लेजुङ जिल्लाकै उच्च स्थानको बस्ती हो । समुद्र सतहदेखि चार हजार ४०० मिटर उचाइमा अवस्थित सो बस्तीमा प्रायः हिमपात भइरहन्छ । अहिले याङमामा हिउँले भरिएको छ ।
यहाँ ११ घरपरिवार बसोबास गर्दै आएका छन् । यहाँको पुख्र्योली पेशा घुम्ती याक गोठ हो । एक चरन क्षेत्रको घाँस सकिएपछि अर्को चरन क्षेत्रमा गोठ सार्ने काम हुन्छ । अहिले हिमपातको समय छ । हिमपातमा याक जोगाउन भदौ र असोजमै घाँस काटेर घाममा सुकाएर जोहो गरी राख्नु पर्दछ । विगत वर्षभन्दा यस वर्ष निरन्तर हिमपात भइरहेको छ । निरन्तर हिमपात हँुदा शेर्पाले जोहो गरेर राखेको घाँस पनि सकिएको छ । चरन क्षेत्रमा हिउँले सबै पुरिएकाले कतै घाँस छैन । याक भोकभोकै हिउँमा फसेका छन् । याकको सा–साना बाछा गोठभित्र राखिएको छ । बाछालाई पनि जाडोबाट जोगाउन समस्या हुने गरेको शेर्पाले बताउनुभयो ।
साङ्बु शेर्पाको मात्रै होइन, याङमा बासिन्दाकै पीडा उस्तै छ । विगत वर्षभन्दा यस वर्ष अलिक धेरै हिमपात भएको छ । हिमापातले हिमाली क्षेत्रको जनजीवनसँगै पशुचौपायलाई समेत निकै असर पारेको छ । चरन क्षेत्रमा हिउँले छोपिएसँगै याक भोकभोकै भएको याकपालक याङ्डे शेर्पाले बताउनुभयो । उहाँका अनुसार जोहो गरेको घाँस पनि सकेकाले याकलाई जोगाउन मुस्किल भएको छ । गोठमा भएको याक कहाँ–कहाँ छन् भनेर आफूले खोज्न नपाउँदा चिन्ताले सताएको उहाँले बताउनुभयो ।
विगतका वर्षहरूमा हिमपाहिराले र हिउँमा फसेर धेरै याक मरेको गोलाङचुङ गोलाका याक किसान तेन्जिङ शेर्पाले बताउनुभयो । ठाउँ–ठाउँमा अहिले पनि हिमपहिराकोे क्रम चलिरहेता पनि क्षति भने नभएको उहाँको भनाइ थियोे । एउटा याक रु ५० हजारदेखि एक लाख पर्दछ । हिमपहिरो र हिउँमा फसेर भोकले म¥यो भने किसानलाई ठूलो आर्थिक क्षति हुने किसान शेर्पाले बताउनुभयो ।
न्यानो कपडाको अभाव
याकपालक किसानलाई हिमपात हुँदा न्यानो कपडा अभाव हुने गरेको पशुपालक किसानले बताए । आफ्नो गोठमा रहेको याक कुन ठाउँको हिउँमा फसेका छन् भनी खोज्न जान आफूसँग आवश्यक न्यानो कपडा, हिउँमा लगाउने जुत्तासमेत नभएको याङमाका फुटी शेर्पाले बताउनुभयो । हिमाली क्षेत्रका याकपालक कृषकको समस्या स्थानीय सरकारले नबुझेको उहाँले गुसानो गर्नुभयो ।
चिसोले दर्जनौँ बाख्रा मरे
ताप्लेजुङको हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको फलेमा दर्जनाँै बाख्रा चिसोले मरेका छन् । पछिल्लो समय निरन्तरको हिमपातसँगै बढेको चिसोले गर्दा बाख्रा मरेका हुन् । हिमपातसँगै पछिल्लो दुई सातायता जिल्लाको उच्च हिमाली क्षेत्रमा दिनहुँजसो हिमपात हुँदै आएको छ भने फलेमा पनि अहिले बाक्लो हिउँ परेको छ । करिब तीन हजार ३०० मिटर उचाइ रहेको फले अवस्थित छ ।
फलेकी स्थानीय फुटी शेर्पाका अनुसार हिउँ पर्न थालेसँगै चिसो अत्यधिक बढेपछि बाख्रा मर्न थालेका हुन् । शेर्पा आफैँले पालेका ३१ वटामध्ये हालसम्म १० वटा बाख्रा मरिसकेका छन् । उहाँले चिसोबाट जोगाउनलाई बाख्रा खोर ९गोठ०भित्र राख्ने गरेको भए पनि राखेकै ठाउँमा मर्न थालेका बताउनुभयो । बेलुका तन्दुरुस्त देखिएका बाख्रा बिहान मरिराखेको पाइने गरेको उहाँको भनाइ थियो ।
लामो समयदेखिको हिमपातसँगै बढेको चिसोले गर्दा बाख्रा मर्न थालेका अर्का स्थानीयवासी पेमाला शेर्पाले बताउनुभयो । उहाँका अनुसार फलेमा एक दर्जनजति परिवारको बसोबास रहेको र हाल प्रत्येक परिवारले पालेका बाख्रा मर्न थालेका छन् । हिजोआज चरन क्षेत्र सबै हिउँले ढाकेको छ भने चिसोका कारण बाख्रा धमाधम मर्न थालेपछि ठूलो घाटा बेहोर्नुपर्ने अवस्था आएको पीडितहरूको भनाइ थियो ।
यता चिसोसँगै अन्य कारणले बाख्रा मरेको भएमा उपचार र परीक्षण गराउने कुनै व्यवस्था नभएको पनि उनीहरुले बताए । बाख्रालगायत पशुचौपायाको उपचार तथा परीक्षण सेवाका लागि फलेका बासिन्दाले गाउँपालिका केन्द्र तापेथोक र सदरमुकाम फुङ्लिङमा सम्पर्क गर्नुपर्ने हुन्छ । फलेदेखि तापेथोक पुग्नलाई दुई दिनको पैदलयात्रा गर्नुपर्छ भने सदरमुकाम फुङ्लिङका लागि तीन दिन लाग्छ । यहाँदेखि नजिकको बस्ती भनेको घुन्सा करिब दुई घण्टाको पैदल दूरीमा रहेको छ । त्यस्तै अर्को बस्ती ग्याब्ला करिब पाँच घण्टाको दूरीमा पर्दछ । दुर्गम क्षेत्र फलेका बासिन्दाले अहिलेको समयमा पशुचौपायाको स्वास्थ्य परीक्षण तथा उपचार गर्न चाहेमा पनि तत्काल सम्भव नरहेको बताए ।
चिसोबाट पशुचौपायालाई बचाउने उपायबारे आफूहरु पशु विषेशज्ञको परामर्शका साथै स्थानीय जनप्रतिनिधिसँग सहयोग लिने पहुँचमा नरहेको पनि फुटी शेर्पाले बताउनुभयो । हिउँका कारण अहिले आउजाउ गर्नलाई बाटो अवरुद्ध रहेको छ भने सहजरूपमा टेलिफोन सम्पर्क गर्ने स्थितिसमेत नभएको उहाँको भनाइ थियो । स्थानीयवासीका अनुसार बाख्राबाहेक चौँरी र अन्य पशुचौपायालाई पनि चिसोले निकै समस्या बनाएको छ । त्यहाँका बासिन्दा हाल घरभित्रै आगो तापेर बस्नाका साथै साथै न्यानो–न्यानो कपडा प्रयोग गरेर बस्दै आएका छन् ।
प्रतिक्रिया