×

सिटी स्तब्ध भएको दिन मेसीको गोल

images


पेरिस । पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटी बुधबार लिगकपमा स्तब्ध रह्यो । तर बार्सिलोना छँदा उनकै खेलाडी रहेका लियोनल मेसीले भने कतार विश्वकपयता पहिलो गोल गरेका छन् र यससँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रान्सेली लिग वानमा विजयी रह्यो । पीएसजीले एन्गर्सलाई २–० ले हराएको हो र त्यसमा पीएसजीले ह्युगो एकिटिकेको गोलले अग्रता लिएको थियो ।
खेलको ७२ औं मिनेटमा मेसीले पीएसजीका लागि दोस्रो गोल गरे । यस जितपछि लिगको शीर्ष स्थानमा पीएसजीको पकड अझ बलियो भएको छ । उसको १८ खेलबाट ४७ अंक भएको छ । दोस्रो स्थानमा रहेको लेन्सले भने स्ट्रसबर्गसँग २–२ को बराबरी खेल्यो । तेस्रो स्थानमा मार्से भने ट्रोयसमाथि २–० को जित निकाल्न सफल रह्यो ।
साउथह्याम्पटनले सिटीलाई २–० ले स्तब्ध पारेको हो र यससँगै लिगकपको सेमिफाइनल यात्रा तय गर्न सफल रह्यो । नटिङघम फरेस्ट पनि प्रतियोगिताको सेमिफाइनल पुग्न सफल रह्यो । अब सेमिफाइनलमा साउथह्याम्पटनले न्युकासल युनाइटेड तथा फरेस्टले म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ ।
यता रियल म्याड्रिडले भ्यालेन्सियालाई टाइब्रेकरमा पराजित गर्दै स्पेनी सुपरकपको फाइनल यात्रा निश्चित गरेका छ । साउदी अरेबियाको रियादमा भएको खेलमा रियल पेनाल्टी सुटआउटमा ४–३ ले विजयी रह्यो । अब सुपरकपको दोस्रो सेमिफाइनलमा बार्सिलोनाले रियल बेटिसको सामना गर्नेछ ।

बिहीबार २८ पुस २०७९ १०:१५ AM मा प्रकाशित

प्रतिक्रिया