×

फलाम खानी उत्खननको लागि पुनः अध्ययन गरिँदै

images


रुकुम (पूर्व), २५ मङ्सिर : रुकुम (पूर्व) मा फलाम खानीको विस्तृत अध्ययन पुनःथालिएको छ । भूमे गाउँपालिकामा फलाम खानी भएको पत्ता लागेपछि भूगर्भविद्ले गत साताबाट उत्खनन्को लागि सम्भाव्यता अध्ययन सुरु गरेका हुन् । खानी तथा भूगर्भ विभागका भूगर्भविद् सुजन देवकोटा र सौनक भण्डारीको समूहले भूमे –३ स्थित झुम्लाबाङमा अध्ययन सुरु गरेको हो ।

आर्थिक अभावले सो क्षेत्रको विस्तृत अध्ययन अहिलेसम्म अघि बढ्न सकेको थिएन । भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले गाउँपालिकाको विभिन्न क्षेत्रमा फलाम खानीको बारेमा अध्ययन सुरु भएको बताउनुभएको छ । हाल फलाम खानी पत्ता लागेको भनिएको  ठाउँमा एक सय वर्षअघिसम्म तामा खानी उत्खनन हुने गरेको स्थानीयले जानकारी दिएका छन् । तत्कालीन समयमा तामा खानी उत्खनन गर्दा भूमे गाउँपालिकाको २, ३, ४ र ५ नम्बर वडाको विभिन्न ठाउँमा बनेका ठूला खाडल र सुरुङ अहिले पनि देख्न सकिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । गत वर्ष तीनै ठाउँमा फलाम रहे नरहेको अध्ययन गर्दा फलाम खानी रहेको पत्ता लागेपछि अहिले उत्खननको लागि विस्तृत अध्ययन थालिएको उहाँले बताउनुभयो । 

“गत साल गरिएको अध्ययनबाट हम्रो गाउँपालिकाको झुम्लाबाङमा फलाम खानी भएको कुरा पत्ता लाग्यो”,  अध्यक्ष श्रेष्ठले भन्नुभयो, “झुम्लाबाङमा फलाम खानी रहेको पत्ता लगेको छ ।” रुकुम पूर्वमा हालसम्म खानी तथा भूगर्भ विभागमले फलाम  र तामा खानीको बारेमा तीन पटकसम्म अध्ययन गरिसकेको जनाइएको छ । 

सोमबार २५ मंसिर २०८० १२:१० PM मा प्रकाशित

प्रतिक्रिया