×

उम्मेदवारहरुको नामावली प्रकाशन आज, अन्तिम नामावली भोलि

images

काठमाडौं । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारी नामावली आज प्रकाशन हुँदैछ । निर्वाचन आयोगले आज साँझ ५ देखि ७ बजेसम्म उमेदवारको नामावली प्रकाशन गरिने  जनाएको छ ।  

हिजो उम्मेदवार विरुद्ध उजुरी दिने तालिका निर्धारण गरिएको थियो । ती उजुरीहरुमाथि छानबिन गरी आज बेलुका नामावली प्रकाशन गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार उजुरी पुष्टि भए उम्मेदवारी स्वतः रद्द हुनेछ ।

भोलि विहान  १० देखि १ बजेसम्म उमेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ । बुधबार नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ । आयोगले उम्मेदवारहरूमाथि परेको उजुरी पुष्टि हुने प्रमाण भेटिए उनीहरूको उम्मेदवारी स्वतः रद्द हुने  जनाएको छ । 

प्रतिनिधि सभातर्फ प्रत्यक्षमा १६५ निर्वाचन क्षेत्रमा कूल दुई हजार पाँच सय २६ जनाले उम्मेदवारी दर्ता गरेका छन्। यीमध्ये पुरूष दुई हजार दुई सय ९१ र महिला दुई सय ३५ जनामात्रै छन्।

प्रदेश सभातर्फ प्रत्यक्षमा ३३० क्षेत्रमा गरी कूल तीन हजार चार सय ७६ जनाले उम्मेदवारी दर्ता गरेका छन्। आयोगका अनुसार पुरूष तीन हजार एक सय ७८ र महिला दुई सय ९७ जना तथा एक जना अन्यले उम्मेदवारी दर्ता गरेका छन्।

मङ्गलबार २५ असोज २०७९ ०९:०५ AM मा प्रकाशित

प्रतिक्रिया