×

५०/६० वर्ष अगाडि हामी खाद्यान्नमा आत्मनिर्भर थियाैँ, अहिले विदेशबाट ल्याउनुपर्छ : अध्यक्ष प्रचण्ड

images

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने बताउनुभएको छ । 

आज आइतवार काठमाण्डाैमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि नै भएको बताउनुभएको हो ।  उहाँले देशको अर्थतन्त्र झनै पछाडि धकेलिँदै गएको भन्दै अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले कृषिमा गरिने लगानी देशका लागि आवश्यक भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘देशका लागि, समाजका लागि र हामी सबैका लागि आवश्यक कुरा भनेको कृषि नै हो । कृषिमा आत्मनिर्भर हुने कुरा र कृषिमा आधारित उद्योगहरूको विकास गर्ने कुरा नेपाल र नेपालीका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा छ । यो हामी सबैका लागि ठूलो चिन्ताको विषय हो । ५०/६० वर्ष अगाडि हामी खाद्यान्नमा आत्मनिर्भर थियौँ ।

हामी सबैचिज निर्यात गर्नसक्ने अवस्थामा थियौँ । अहिले उल्टो भयो, किन यस्तो भइराखेको छ ? याे चिन्ताको विषय भयो । हामी धेरै पढ्यौँ, लेख्यौँ । धेरै जान्ने सुन्ने पनि भयौँ । तर देशको आर्थिक विकासको स्थितिबाट हेर्दा त्यो अगाडि होइन पछाडि गएको देखिनु ठूलो चुनौती हो ।’

अध्यक्ष दाहालले कृषिपछि जलविद्युत्, पर्यटन, जडीबुटी र खनिजको विकासले पनि देशको अर्थतन्त्रमा टेवा पुग्ने बताउनुभयो । अध्यक्ष दाहालले धन, सम्पत्ति कमाउनु र देशलाई सभ्य बनाउनु फरक कुरा रहेको भन्दै समाजलाई सभ्य बनाउने गरी, संसारमा नेपालीकाे आत्मसम्मान हुने गरी सम्पत्ति आर्जन गर्न युवालाई आग्रह गर्नुभयो । आफ्नो बाँकी जीवन आर्थिक क्रान्तिका लागि व्यतित गर्ने उहाँकाे भनाइ छ । 

आइतबार​ २६ भदौ २०७९ ०२:०३ PM मा प्रकाशित

प्रतिक्रिया