×

बीआरआइ परियोजनालाई हामीले पूर्वाधार विकासको अवसरको रुपमा लिएका छौँ : राष्ट्रपति भण्डारी

images

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआइ) परियोजनालाई नेपालले पूर्वाधार विकासको अवसरको रुपमा लिएको बताएकी छिन्। चिनियाँ सञ्चारमाध्यम सँगको अन्तर्वार्तामा राष्ट्रपति भण्डारीले यो परियोजनालाई नेपालले अगाडि बढाउन चाहेको बताएकी छिन्।

नेपाल बीआरआइको सदस्य पनि भएको भन्दै उनले ‘ट्रान्स-हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क’को दृष्टिको कदर गर्ने बताइन्।

उनले भनिन्, ‘हामीले करिब पाँच वर्षअघि समझदारी पत्रमा हस्ताक्षर गरेपनि धेरै कारणले बीआरआइ परियोजनाले गति लिन सकेको छैन। यसलाई छिटो गन्तव्यमा पुर्‍याउन हामीले साझा प्रयास गर्नुपर्छ।’

पछिल्लो साढे दुई वर्षदेखि विश्व कोभिड-१९ को महामारीसँग लडिरहेको भन्दै उनले त्यसको फलस्वरूप विकासका कामहरू ठप्प भएको, अर्थतन्त्र संकुचित भएको र विश्वभर पर्यटन नराम्ररी प्रभावित भएको बताइन्। त्यसबिच, विश्वभरका देशहरूले स्वास्थ्य पूर्वाधारमा लगानी गरेको उनले स्मरण गरिन्। 

खोपको उपलब्धतासँगै नयाँ सम्भावनाहरू देखा परेको उनको भनाइ छ। चीनले महामारी विरुद्धको लडाइँमा नेपाललगायत धेरै देशहरुलाई उदारतापूर्वक सहयोग गरेकोमा उनले चीन सरकारलाई धन्यवाद दिइन्।

‘नेपाल सरकार र जनताको तर्फबाट म राष्ट्रपति सी र चीनका मित्रवत जनतालाई लाखौँ डोज भ्याक्सिन र अन्य आपतकालीन आपूर्तिका लागि सहयोग गरेकोमा धन्यवाद दिन चाहन्छु, सो सहयोगबाट हामीले धेरैको ज्यान जोगाउन सफल भयौँ,’ उनले भनिन्।

शुक्रबार​ २७ फागुन २०७८ ०१:११ PM मा प्रकाशित

प्रतिक्रिया