×

शहीद स्मारक ‘ए’ डिभिजन लिगः फ्रेन्ड्स विजयी

images

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सुरु भएको दसौँ चरणको पहिलो खेलमा फ्रेन्डस क्लब विजयी भएको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा फ्रेन्डस क्लबले ब्रिगेड ब्वाइज क्लबलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । योसँगै फ्रेन्डसले प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । फ्रेन्डसका लागि आजको खेलमा सुशील शाह र जमउल एन्थोनी फ्रान्सिओसले दुई–दुई तथा श्यामबाबु केप्छ्याकीले एक गोल गरे । 

    ब्रिगेड ब्वाइजका लागि ड्याडी जुनियर वाम्बा र अनिल गुरुङले एक–एक गोल गरे । खेलको १४औँ मिनेटमा सुशीलले फ्री–किकमार्फत गोल गर्दै फ्रेन्डसलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको २५औँ मिनेटमा ब्रिगेड ब्वाइजका ड्याडीले फ्री–किकमार्फत गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए । 

    त्यस्तै खेलको २७औँ मिनेटमा श्यामबाबुले गोल गर्दै फ्रेन्डसलाई २–१ को अग्रता दिलाए । खेलको पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा जमउलले गोल गर्दै फ्रेन्डसलाई ३–१ को अग्रता दिलाए । निशेन सुब्बाको फ्री–किकमा उनले गोल गरे । खेलको ७६औँ मिनेटमा जमउलले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्डसलाई ४–१ को अग्रता दिलाए । खेलको ७८औँ मिनेटमा सुशीलले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्डसलाई ५–१ को अवस्थामा पु¥याए । प्रिजेनको पासमा उनले गोल गरेका थिए । 

खेलको ८६औँ मिनेटमा विग्रेड ब्वाइजका अनिलले पेनाल्टीमार्फत एक गोल थपे पनि फ्रेन्ड्स ५–२ ले विजयी भयो । पहिलो जीतसँगै अङ्क तालिकाको अन्तिम स्थानमा रहेको फ्रेन्डस तत्कालका लागि रेलिगेसन जोनबाट जोगिएको छ । दश खेलबाट ६ अङ्क जोडेर फ्रेन्ड्स १२औँं स्थानमा उक्लिएको छ ।  हारसँगै समान ६ अङ्क नै रहे पनि बिबिसी अङ्क तालिकाको १३औँ स्थानमा छ । त्यस्तै ५ अङ्क बटुलेको च्यासल युथ क्लब तालिकाको अन्तिममा छ ।

शुक्रबार​ २८ माघ २०७८ ०४:२६ PM मा प्रकाशित

प्रतिक्रिया