×

राहतमा राजनीति : मत माग्न हानथाप

images

सिन्धुली । नेपाली कांग्रेस वाग्मती प्रदेश समितिका सभापति इन्द्र बानियाँ जम्बो टोलीसहित दुई दिनअघि राहतको प्याकेज लिएर सिन्धुलीको दुधौली र कमलामाई नगरपालिकामा घरदैलो कार्यक्रमका लागि पुगे । केहि समयअघि जंगली हात्तीको आक्रमणबाट पीडित भएका परिवारलाई राहतको प्याकेज लिएर घरघरमा पुग्नुको एउटै मात्र उद्देश्य चुनावका लागि भोट माग्नु थियो । 

वाग्मती प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका सभापति बानियाँसँग प्रदेश समितिका सबैजसो पदाधिकारीहरू, स्थानीय नेता-कार्यकर्ता लगायतको टोलीले कमलामाई नगरपालिका १४ को चन्दनपुर, दुधौली नगरपालिका ३ को कालापानी र वडा नं. ११ को टाँडीमा पुगेर नगदसहितको राहत वितरण गर्‍यो ।

सरकारले वैशाख ३० मा स्थानीय निर्वाचनको मिति तोकेपछि राजनीतिक दलले गाउँ केन्द्रीत भएर मतदाता आकर्षण गर्न खोजेको यो पहिलो कार्यक्रम थियो । समितिले दुधौली नगरपालिकाको वडा नं. २, ३, ६, ११ र कमलामाई नगरपालिकाको वडा नं. १३ र १४ मा हात्तीको आक्रमणबाट पीडित १ सय ४० परिवारलाई खाद्यान्न, सिरक र प्रतिपरिवार पाँच हजार रुपैयाँ वितरण गरेर आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन मत मागेको छ ।

दुधौली नगरपालिकामा २०७४ को स्थानीय निर्वाचनमा ७ हजार ९०० मत ल्याएर नेपाली कांग्रेसकी गंगा दाहाल तेस्रो भएकी थिइन् । एमालेका घनश्याम राउतले कांग्रेस उमेदवार दाहालभन्दा ६९८ मत बढी ८ हजार ५९८ ल्याएर विजयी भए ।

निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का दिनेश अधिकारीले ८ हजार २२३ मत प्राप्त गरेका थिए ।

‘प्रदेश सरकारबाट थप राहत र कांग्रेसको नेतृत्वमा सरकार भएपछि सबै पीडितलाइ घर नै बनाइदिन्छु‚’ उनले भने । बानियाँले दाहालको नाम लिएर मत मागेपछि कांग्रेसका अन्य नगरप्रमुखका आकांक्षीहरू भने रुष्ट भएका थिए ।

‘प्रदेशभित्र पीडामा परेका नागरिकलाई क्षणिक मह्लमपट्टी लगाउन न्यानो सिरक, चामल, नुन, तेल र नगद प्रदान गरेका छौं,’ सभापति बानियाँले भने, ‘हात्तीको आक्रमणबाट क्षति पुगेका परिवारलाई प्रदेश सरकारबाट थप राहतको व्यवस्था गरिदिन्छु । गठबन्धनको सरकार भएकाले मेरो कुरा सुनुवाइ हुन्छ ।’

निकट भविष्यमै आफ्नै नेतृत्वमा वाग्मती प्रदेश सरकार बन्ने आशय व्यक्त गर्दै सभापति बानियाँले हात्ती पीडितलाई घर नै बनाइदिने वचन दिए । ‘प्रदेश सरकारको नेतृत्व लिनासाथ हामी घर बनाइदिन्छौं,’ सभापति बानियाँले भने, ‘सरकारसँग भएको पैसा केका लागि ? गरिब दीनदुखीका लागि त हो नि ।’

एक महिनाअघि माओवादी जिल्ला अध्यक्ष एवं वाग्मती प्रदेशसभा सदस्य लेखनाथ दाहालको नेतृत्वमा जंगली हात्ती आक्रमण पीडितलाई घरघरै पुगेर खाद्यान्न तथा लत्ताकपडा लगायतको राहत वितरण गरेको छ । सो अवसरमा अध्यक्ष दाहालले पनि आंशिक राहतका साथै पीडित सबैको नयाँ घर निर्माण गरिदिने वचन दिएका थिए ।

 

शुक्रबार​ २८ माघ २०७८ १२:५३ PM मा प्रकाशित

प्रतिक्रिया