काठमाडौं । कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक भएको छ । ईपीएस कोरिया शाखाले आज परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा मंसिर १ गतेदेखि सुरु हुने छ ।
सुरुमा उत्पादनमुलक क्षेत्रको परीक्षा सञ्चालन हुने छ । कृषि तथा पशुपालन क्षेत्रतर्फको परीक्षाको सूचना यो परीक्षा सकिए पछि सार्बजनिक गर्ने शाखाले जानकारी दिएको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरियन भाषा परीक्षाका लागि एक लाख २ हजार ५६४ जनाले आवेदन दिएका शाखाले जनाएको छ ।
शाखाले साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन दिन आह्वान गरेको थियो । यस पटकको भाषा परीक्षाबाट अनुमानित ५ हजार ३ सय जना उत्तीर्ण हुनेछन् । जसमा उत्पादनमुलक क्षेत्रतर्फ ३५ सय तथा कृषि तथा पशुपालन क्षेत्रतर्फ १८ सय उत्तीर्ण हुने अनुमान गरिएको छ ।
तर, कोरियामा कामदारको माग अनुसार उत्तीर्ण संख्या थपघट हुन सक्नेछ । एक दिनमा बढीमा ५ सिफ्ट गरी परीक्षा सञ्चालन हुने शाखाले जानकारी दिएको छ ।
दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो । त्यसपछि सन् २००८ बाट कामदार लैजान सुरु गरिएको थियो ।

प्रतिक्रिया