काठमाडौँ । जेनजी आन्दोलनको एक महिना पुगेको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले एक भिडियो सन्देश जारी गर्दै हिंसाको चक्र रोक्न अपिल गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा धेरै युवा शहीद भएको र सयौं व्यक्ति घाइते भएकोमा गहिरो दुःख व्यक्त गर्दै शहीद परिवार र घाइतेप्रति समवेदना प्रकट गर्दै सबैलाई संयम रहन र हिंसाको चक्र रोक्न अपिल गरेकी हुन् ।
उनले भनिन्- 'यो घटना अत्यन्त पीडादायी क्षणको रूपमा सधैं रहनेछ । युवाहरूले गरेको यस राजनीतिक क्रान्तिको भावनालाई आज हामी सबैले आत्मसात् गर्न जरुरी छ ।'
प्रधानमन्त्री कार्कीले विगतका सरकारहरूले युवाहरूको आवाज नबुझेको बताउदै सबैलाई आफ्ना कमजोरी र गल्तीहरू विनम्रतापूर्वक स्वीकार गर्न आग्रह गरेकी छन् । क्रान्ति पछाडिका कारणहरूलाई गम्भीरताका साथ लिनुपर्ने बताउँदै प्रधानमन्त्री कार्कीले युवा पुस्ताको बलिदानपछि देशमा राजनीतिक, आर्थिक सुधार र न्यायको तीव्र चाहना रहेको र भ्रष्टाचार र बेथिति उन्मूलनका लागि सरकार प्रतिबद्ध रहेको बताइन । उनले सरकारले भ्रष्टाचार, बेरोजगारी र विभेदजस्ता समस्याको समाधानका लागि राजनीतिक र प्रशासनिक सुधारका कदम चाल्न्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा पीडित परिवारलाई राहत र घाइतेहरूको उपचारका लागि विशेष कार्यक्रम अघि सारिएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले उनीहरूको दीर्घकालीन हितका लागि नयाँ संयन्त्रहरू निर्माण गरिरहेको समेत जानकारी दिइन् ।
प्रतिक्रिया